गृहपृष्ठ शान्ति वार्ताका लागि राष्ट्रसंघीय विषेश दूत यमनमा
शान्ति वार्ताका लागि राष्ट्रसंघीय विषेश दूत यमनमा
संयुक्त राष्ट्रसंघका विषेश दूत मार्टिन ग्रिफथ शान्ति वार्ताको तयारीका लागि यमन पुगेका छन् ।
विद्रोहीसँगको वार्ताका लागि वातावरण बनाउन उनी बुधबार यमनको राजधानी साना पुगेको बताइएको छ । ग्रिफथले राजधानी सानामा सरकारी पक्षलाई र विद्रोही पक्षलाई अर्को सहर होडेडामा भेट्ने कार्यक्रम रहेको छ ।
शान्ति वार्ता गराउने उनको गृहकार्य अनुसार नै केहीदिन अगाडि यमनको हुथी विद्रोही समूहले आक्रमण रोक्ने घोषणा गरेको छ । लगत्तै यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले पनि वार्तामा बस्न तयार रहेको घोषणा गरेको थियो ।
राष्ट्रसंघका विशेष दूत ग्रिफिथले गत शुक्रबार अर्को साता विद्रोहीको नियन्त्रणमा रहेको सानाको भ्रमण गर्ने जानकारीमा आएलगत्तै हुथी समूहले युद्धविराम गर्ने घोषणा गरेको हो । विद्रोहीले राजधानी साना र होडेडालाई सन् २०१४ मा नियन्त्रण गरेका थिए ।
यमन गृहयुद्धका कारण अहिलेसम्म हजारौँ मानिसको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार त्यसयता मात्र १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । तर अधिकारकर्मीहरूले भने गृहयुद्धबाट मारिने व्यक्तिको संख्या पाँच गुणा बढी भएको दावी गरेका छन् ।
प्रकाशित समय १०:५२ बजे

















