गृहपृष्ठ सरकारको चौतर्फी आलोचनापछि तातिए प्रधानमन्त्री

सरकारको चौतर्फी आलोचनापछि तातिए प्रधानमन्त्री

आज पनि विभिन्न मन्त्रालयको कार्य प्रगति समीक्षा

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार पनि विभिन्न मन्त्रालयको कार्य प्रगतिको समीक्षा गर्दैछन् ।

सरकारको काम परिणाममुखि नदेखिएको भन्दै चौतर्फी आलोचना सुरु भएपछि प्रधानमन्त्री ओलीले मन्त्रालयगत समीक्षा थालेका हुन् । आफू नेतृत्वको सरकारको ९ महिनामा विभिन्न मन्त्रालयबाट भएका कामका बारेमा र भावी रणनीति तय गर्न पहल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि, अर्थ, खानेपानी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र युवा तथा खेलकुद मन्त्री र सचिवसँग आज प्रधानमन्त्री ओलीले कार्य प्रगति विवरण माग गर्नेछन् । सरकारले नागरिकको अपेक्षा र आफैँले गरेका प्रतिवद्धता अनुसार काम गर्न नसकेको गुनासो बढेपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई जनअपेक्षा अनुसार काम गर्न र कुनै पनि हालतमा काम नटार्न निर्देशन दिने बताइएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार पूर्वाधार विकाससँग सम्बन्धित मन्त्री र सचिवसँग छलफल गर्दै प्रगति विवरण मागेका थिए । बुधबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायात सचिव मधुसुधन अधिकारी, सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव संजय शर्मा र अनुप कुमार उपाध्यायले आफ्नो मन्त्रालयको चौमासिक प्रगति विवरण पेश गरेका थिए ।

यस्तै, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसी र प्रकाश माथेमा, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव यामकुमारी खतिवडा र चन्द्र घिमिरे, सहरी विकास मन्त्रालयका सचिव रमेश कुमार सिंह र पुननिर्माण प्राधिकरणका सचिव अर्जुन कार्कीले आ–आफ्नो मन्त्रालयको चौमासिक प्रगति विवरण पेश गरेका थिए । प्रधानमन्त्रीले मन्त्रालयहरुको प्रगति विवरण लिने क्रम केही दिन जारी रहने उनको सचिवालयले जनाएको छ ।

प्रकाशित समय १०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु