गृहपृष्ठ छाउपडी गोठ भत्काउन परिपत्र
छाउपडी गोठ भत्काउन परिपत्र
छाउ गोठमा राख्नेलाई पक्राउ गरिने
देशै बदनाम गर्ने छाउपडी प्रथा अझै जीवित रहेपछि सरकारले सुदूरपश्चिम तथा मध्यपश्चिमका स्थानीय तहहरूलाई परिपत्र गरेर छाउपडी गोठहरू भत्काउन निर्देशन दिएकोछ । मन्त्रिपरिषदको यही चैत १४ का निर्णयअनुसार स्थानीय तहहरूलाई छाउपडी गोठ भत्काउन र जबरजस्ति महिला किशोरीहरुलाई छाउ गोठमा राख्नेहरुलाई पक्राउ गरेर कारबाही गराउने निर्देशन दिइएको हो ।
महिला एवं किशोरीलाई छाउपडी अवस्थामा गरिने अमानवीय र क्रुर व्यवहार कानुनबमोजिम निषेधित भएकाले यस्तो कार्य गर्नेलाई नेपाल प्रहरीले कानुनी कारबाहीको दायरमा ल्याउने निर्णय सरकारले गरेको छ भने स्थानीय तहले नेपाल प्रहरीसँगका संयोजनमा छाउपडी पीडितलाई उद्धार गरी सुरक्षित बासको व्यवस्था मिलाउनु पर्ने छ ।
यसका साथै प्रदेश तथा स्थानीय तहहरूले छाउपडी प्रभावित जिल्ला, क्षेत्र र स्थानीय तहमा प्राथमिकताका साथ चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।
यसअघि राष्ट्रिय मानव अधिकार आयोगले छाउपडी प्रथा अन्त्यका लागि पहल गर्न सरकारका नाममा ११ बुँदे निर्देशन दिएको थियो । जसमा गैर सरकारी संस्थाहरूले समेत छाउविरुद्ध अभियान सञ्जालन गर्नुपर्ने उल्लेख थियो ।
प्रकाशित समय ११:५३ बजे

















