गृहपृष्ठ दुहुना भैंसी पाल्ने किसानलाई एक लाख रूपैयाँ अनुदान

दुहुना भैंसी पाल्ने किसानलाई एक लाख रूपैयाँ अनुदान

चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई एक लाख रूपैयाँ अनुदान वितरण गरेको छ । बिहीबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले तीन दुहुना भैँसी पाल्ने आठ कृषकलाई जनही एक लाख रूपैयाँका चेक हस्तान्तरण गरे ।

आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमअनुसार उक्त रकम वितरण गरिएको अध्यक्ष गुरुङले बताए । किसानलाई व्यावसायिक बनाउन र कृषि पेसातर्फ आकर्षित गर्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । साथैँ गाउँपालिकाले बिहीबार नै युवा लक्षित व्यावसायिक तरकारी तथा फलफूल खेतीतर्फ आठजनालाई जनही एक लाख रूपैयाँका दरले अनुदान हस्तान्तरण गरेको छ ।

गाउँपालिकाले बाख्राखोर सुधारका लागि २० लाई जनही रु २५ हजार, ब्याड बोकाका लागि २० जनालाई जनही ४० हजार र बंगुरपालनतर्फ दुई किसानलाई पनि जनही २५ हजार रूपैयाँका चेक हस्तान्तरण गरिएको थियो ।

गाउँपालिकाले तोकिएको मापदण्डभित्र रहेर किसान वा फार्मलाई कृषि र पशुपालनमा अनुदान दिएको हो । युवा किसानलाई प्रोत्साहित गर्न पशुपालन, मौरीपालन, सुन्तला खेती र युवा किसानका लागि आवेदन माग गरेर सकारात्मक कार्यको थालनी गरेको भन्दै किसान खुसी भएका छन् । अनुदानका कार्यक्रम सञ्चालन गरेपछि गाउँपालिकाभित्र व्यावसायिक कृषि पेसातर्फ किसान आकर्षित भएका छन् । (रासस)

प्रकाशित समय १०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु