गृहपृष्ठ वीरेन्द्रनगरका खाल्डा कहिले पुरिन्छन् ?

वीरेन्द्रनगरका खाल्डा कहिले पुरिन्छन् ?

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जता हेर्यो उतै खाल्डै खाल्डा । अन्य क्षेत्रको तुलनामा ६ नम्बर वडाका सडकमा धेरै खाल्डा छन् । सवारी साधनको चाप धेरै हुने क्षेत्र हटिया लाइनबाट बसपार्क जाने बाटो र न्युरोडको बाटोमा हेरिनसक्नु खाल्डा छन् । वीरेन्द्रनगर- ६ का हेमराज अधिकारीले आक्रोश पोख्दै भने ‘बाटोमा बनेका खाल्डाको कारण दुर्घटना भए जिम्मेवार को ? बिहीबार वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्याक्रममा अधिकारीले यस्तो आक्रोश पोखेका हुन् ।

सडकको स्तर सुधार्न वीरेन्द्रनगर नगरपालीकाले न्यस्न बजेट छुट्याएको उनको भनाइ थियो । नगरमा भएका मासु बजारसमेत व्यवस्थापन गर्न नगसकोमा पनि अधिकारीले आक्रोश पोखेका थिए । वीरेन्द्रनगर- ६ मै बस्दै आएका चक्रबहादुर खड्काले राजधानीको मुलढोका रहेको मंगलगढिको फोहोरले राम्रो सन्देश नजाने बताए । उनले एक महिनासम्म पनि नगरले फोहोर उठाउन चासो नदिएको बताए । ९ नम्बर वडाका भोजराज मल्लले मंगलगढी चोकमा अटो रिक्साले सडक ओगटेर आवागमनमा अवरोध पुग्ने गरेको गुनासो गरे । २ नम्बर वडाकी शान्ता नेपालीले अझै पनि नगरभित्रका बाढी पीडितले राहत नपाएकोमा गुनासो गरिन् ।

कार्यक्रमका अधिकांश सहभागीले वीरेन्द्रनगर उपत्यकाको डुबान समस्या, फोहोर, सडक, छाडा चौपायको समस्यालगायतका गुनासो गरे । वीरेन्द्रनगर नगर प्रमुख देवकुमार सुवेदीले प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरको फोहोर व्यस्थापनको कार्य भदौदेखि नयाँ योजनाका साथ गरिने दावी गरेका छन् । नगर क्षेत्रको फोहोरको उचित व्यवस्थापन एवं विसर्जनका लागि प्रदेश सरकार, दातृ निकाय लगायत अन्य संघसंस्था र नगरवासीसँगको आपसी समन्वय र सहकार्यमा प्रभावकारी योजना बनाएर अघि बढ्ने उनको भनाइ थियो ।

‘नगरपालिका- ६ मा रहेको हटियामा मल्टिमार्केट सपिङ कम्प्लेक्स बनाउने तयारी भइरहेको छ, पाँच तले सपिङ कम्प्लेक्सको डिजाइन र नक्शा तयार भइसकेको छ, अब निर्माणका लागि कार्यपालिकाबाट निर्णय हुन्छ ।’ उनले भने । नगरपालिकाको आन्तरिक बजेटले मात्र उक्त भवन निर्माण सम्भव नभएको भन्दै सुवेदिले ऋणदाताको पनि खोजी भइरहेको बताए ।

सुवेदीले मंगलगढीदेखि लाटीकोइलीको नारायण मन्दिरसम्मको बाटो ममर्त सम्भार तथा नाला व्यवस्थापनका लागि ११ करोड रुपैयाँमा टेण्डर भइसकेकाले वर्षा लगत्तै काम शुरु हुने जानकारी दिए । वर्षातका कारण विकास निर्माणका काम तत्कालका लागि रोकिएको उनको भनाइ थियो । वर्षा सकिएलगत्तै सडकका खाल्डा पुर्ने, कालोपत्रे गर्ने, नाला बनाउने लगायतका काम तीव्र गतिमा हुने उनको दावी छ ।

प्रकाशित समय ०९:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु