गृहपृष्ठ केन्द्रले नजिककालाई बेवास्ता गर्दैछ : खड्का

केन्द्रले नजिककालाई बेवास्ता गर्दैछ : खड्का

कीर्तिपुर नगरपालिका मल्लकालदेखि नै कला र संस्कृतिका दृष्टिले धनी छ । विशेष गरी नेवारी कला र संस्कृतिको भण्डार रहेको कीर्तिपुर नगरपालिकामा मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय पनि पर्छ । अधिकांश भाग कृषिक्षेत्र र जंगलले ढाकेको कीर्तिपुरको साक्षरता दर ८० प्रतिशत छ । बजेटको प्राथमिकता, एक वर्षको उपलब्धि र आगामी योजनाबारे कीर्तिपुर नगरपालिकाकी उपप्रमुख सरस्वती खड्कासँग गरिएको कुराकानी :

 

अधिकांश नगरपालिकाहरुले बजेट ल्याइसके तर तपाँइहरु बजेट ल्याउन किन ढिला गर्दै हुनुहुन्छ ?

हामी स्थानीयस्तरमा केहि सीपमुलक तालिमहरु सञ्चालन गरिरहेका छौं । जनताको आयस्तर कसरी बढाउँन सकिन्छ भन्ने ध्याउन्नमा छौं । बजेटले पनि कसरी हाम्रो नगरलाई समृद्ध बनाउने भन्ने लक्ष्य राख्नेछ । यस्तै गतिविधिमा जनप्रतिनिधिहरु केहि व्यस्त भएका कारण बजेट ल्याउन केही ढिलाइ भएको हो । यहि २२ गते नीति तथा कार्यक्रम ल्याउने कार्यतालिका तय भइसकेको छ । विनियोजन विधेयक पनि आउन बाँकी नै छ । त्यसपछि बजेट आउँछ ।

कुन आकारको र कस्ता बिषयलाई प्राथमिकता दिँदैहुनुहुन्छ बजेटमा ?

नीति तथा कार्यक्रम नआइकन यसको प्रष्ट जवाफ आउँदैन । बजेटबाट हामीले पर्यटन क्षेत्रलाई प्राथमिकता दिनेछौं । पर्यटन र कृषि कीर्तिपुरको समृद्धिको मुख्य आधार हुने हाम्रो निस्कर्ष छ । यसलाई नै मुख्य प्राथमिकतामा राखेर बजेट ल्याउँदैछौं ।

बजेटको तयारी गर्दा सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह–सुझाव कत्तिको लिइरहनुभएको छ ?

हामी विज्ञको सल्लाह र जनताको राय लिएर अगाडि बढ्छौं । हामी विज्ञको रायलाई महत्व दिन्छौं । हाम्रो पहिलो प्राथमिकता कीर्तिपुर गरबासी जनताको मुहारमा हाँसो ल्यउनु हो । त्यसैले विज्ञहरुसँग सल्लाह सुझाब लिँदै गर्दा जनतालाई कसरी प्रत्यक्ष लाभ पुर्याउन सकिन्छ भनेर बढी केन्द्रित भएका छौं । बजेट निमार्ण र यसको प्रथमिकता तोक्ने बिषयमा त झन् यस्ता कुरा छुटाउँने कुरै आउँदैन ।

केन्द्र सरकारसँगको समन्वय कस्तो छ ?

भौतिक हिसाबले हाम्रो दुरी एकदमै नजिक छ । यति हुँदाहुँदै पनि छायाँमा परेको भान भएको छ । मैनबत्ती मुनि केहि अध्याँरो र टाढा उज्यालो हुन्छ नी ! हो त्यस्तै छ हाम्रो सम्वन्ध ।

तपाँइहरु निर्वाचित भएर आएपछि के कस्ता उपलब्धी भए ?

भूकम्पपछिको पुनर्निर्माणले तिब्रता पाएको छ । पुनर्निर्माण प्राधिकरणको ढिलासुस्तिका कारण धेरै ढिलाइ भएकोमा तिब्रता दिने काम भएको छ । अहिलेसम्म ५० प्रतिशत पुनर्निर्माण सकिएको छ । बाँकीको यो बर्ष भित्र सक्ने लक्ष्य निर्धारण गरेका छौं । नगर विकासमा स्थानीयको सहभागिता बढाउने खालका कार्यक्रम तय भएका छन् र शीपमुलक तालिमहरुमा अली बढी जोड दिएका छौं । खानेपानी र सरसफाईका क्षेत्रमा पनि केहि प्रगति भएका छन् । स्वच्छ कीर्तिपुर नामक अभियान नै सञ्चालन गर्याैं । अब कसरी जाने भन्ने विषयमा व्यवस्थित योजना आउँदैछ ।

प्रकाशित समय १७:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु