गृहपृष्ठ सडक आवश्यकता र बाध्यता दुबै हो : शेर्पा
सडक आवश्यकता र बाध्यता दुबै हो : शेर्पा
दूधकुण्ड हिमाली तथा पर्यटकीय जिल्लाका रूपमा परिचित सोलुखुम्बुको एक मात्र नगरपालिका हो । नगरपालिकाको कुल जनसंख्या ३२ हजार र क्षेत्रफल ५६५.०६ वर्ग किलोमिटर रहेको छ । साक्षरता दर ६५ प्रतिशत छ । आउँदो आर्थिक बर्ष २०७५/७६ का लागि ५१ करोडको बजेट सार्वजनिक भएको छ । नगरपालिका प्रमुख नाम्गेल जाङबु शेर्पाले सपथ लिएको पनि मंगलबार एक बर्ष पूरा भयो । उनै शेर्पासंग बजेटको प्राथमिकता, एक वर्षको उपलब्धी र आगामी योजनाबारे गरिएको कुराकानी :
बजेटमा सडकलाई प्राथमिकतामा राखिएको छ, आवश्यक्ता हो कि वाध्यता ?
स्वभावैले प्राथमिकतामा सडक र पुल परेका छन् । ५१ करोडको बजेटमार्फत सबै वडामा सडक निर्माणको योजनालाई जोड दिएका छौं । यो हाम्रो आवश्यकता र बाध्यता दुबै हो । यद्यपि, सडकमा मात्र बजेट विनियोजन गरिएको छैन । शिक्षा, स्वास्थ्य, पर्यटन, ग्रामीण विद्युतीकरण जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ । खानेपानी र सरसफाइका योजना पनि छुटाएका छैनाैं ।
बजेट निमार्णमा सम्वन्धित क्षेत्रका विज्ञको राय कत्तिको लिइयो ?
वडा स्तरमा व्यापक छलफल गरी सिफारिस भएका योजनालाई नै अगाडि बढाएका छौं । स्थानीय सबै सरोकारवालासँग विभिन्न चरणमा छलफल गरियो । यसो हुँदा सबैले अपनत्व गर्ने वातावरण बनेको छ । थोरै बजेटले धेरै काम गर्नुपर्ने बाध्यताका कारण केही समस्या भएकै छ । तर, पर्याप्त छलफल गरेर प्राथमिकता निर्धारण गरिएको हो ।
बजेट न्यून भयो भन्ने जनगुनासो छ । स्रोत नभएर कि केन्द्र सरकारले नदिएर हो ?
आर्थिक स्रोतको कमी छ । तर, बिडम्बना नै मान्नुपर्छ, केन्द्र सरकारले जहिले पनि आस्थाका आधारमा बजेट विनियोजन गर्ने गर्छ । यसपटक पनि त्यहि नियति दोहोरियो । केन्द्रले थोरै रकम पठाउँदा जनतामा निराशा छाएको सत्य हो । सदरमुकाम सल्लेरीबासीका लागि खानेपानी योजनामा दुई वर्ष लगातार केन्द्रले रकम छुट्टयायो तर यसपटक फरक राजनीतिक दलमा आस्था राख्ने पार्टीका जनप्रतिनिधि रहेको भन्दै कटौती गरिएको छ । ६० जना कर्मचारीहरु छन् । जनप्रतिनिधिहरुको पनि सेवा सुविधा तोकिएको छ । सबैको व्यवस्थापन गर्नुपर्छ ।
नगरलाई समृद्ध बनाउछु भन्दै तपार्इंले सपथ लिएको पनि एक वर्ष पुग्यो, के के गर्नुभयो ?
यस बीचमा हामीले थालेका राम्रा कामको धेरै संकेतहरु पाउनुहुन्छ । प्रतिबद्धता जनाएका योजना अघि बढाइएको छ । स्थानीय स्तरमै सामाजिक सुरक्षा भत्ता पुर्याउने काम सुरु भएको छ । ७० बर्ष कटेका र ए बर्गका अपाङ्गता भएकाहरुलाई घर–घरमै पुगेर भत्ता दिन थालिएको छ । वडा–वडामै स्वास्थ्य सेवा प्रारम्भ भएको छ । प्रत्येक महिना सबै स्वास्थ्य चौकी अनुगमन गरि औषधिको अवस्था लगायतका विषय हेरिरहेका छौं । ग्रामिण विद्युतीकरण विस्तार गरिएको छ । सडक स्तरउन्नती गर्ने र नयाँ बनाउने काम भएक छन् । कृषिमा उन्नतजातको बीऊ वितरण र आधुनिक खेती प्रणालीको प्रयोगमा जोड दिइएको छ । कृषि लगायत विभिन्न शिपमुलक तालिमहरु सञ्चालन गरि रोजगारी प्रवद्र्धनमा जोड दिइएको छ । फोहोरमैला व्यबस्थापन, पर्यटनको संभावना र प्रवर्द्धनलार्इ बढावा दिइएको छ । भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति लिइएको छ ।
आर्थिक समृद्धिको मार्गचित्र पनि यही हो ?
सबै विषयलाई व्यवस्थित र मर्यादित बनाउने हाम्रो चुनावी प्रतिवद्धता हो । एक खालको समृद्धिको रोडम्याप त्यति बेलै तय गरिएको थियो । नीति तथा कार्यक्रम मार्फत थप व्यवस्थित गरिएको छ ।
तपाईंको कार्यकालमा दूधकुण्डबासीले पाउने अरु के के हुन् ?
प्रत्येक वडामा सडक पुग्नेछन्, सडक बत्तिको व्यवस्था गरिनेछ, सदरमुकाम सल्लेरीस्थित डेढ किलोमिटर सडक ढलान गरिएको छ, बाँकी ढलान गर्ने योजना छ । सडक पिच भन्दा ढलान गर्नु हाम्रो भौगोलिक वाध्यता हो । नगरपालिकाले एम्बुलेन्स खरिद गर्नेछ । पाँच मेगावाटको हाइड्रोपावर निमार्ण हुनेछ । फोहोरमैला व्यबस्थापन केन्द्र बन्ने छ । जिल्ला अस्पताल ५० सैयाको बनाउने योजना छ । फाप्लुु विमानस्थलको स्तरउन्नती गरिनेछ, तारजाली र पार्किङ जस्ता कामहरु गर्नुपर्नेछ । नगर भित्रका टेलिफोन टावरहरुको स्तरोन्नति गरी सबै ठाउँमा संचार सुविधा पुर्याउने योजना छ । यी सबै योजना पुरा गर्न बृहत गुरु योजना तय गरी केन्द्र, प्रदेश सरकार र दातृनिकायमा पेस गर्ने तयारी गरेका छौं ।
प्रकाशित समय १८:५६ बजे

















