गृहपृष्ठ पारदर्शी भएपछि ठूलो समस्या आएको छैन : सन्जु पण्डित
पारदर्शी भएपछि ठूलो समस्या आएको छैन : सन्जु पण्डित
नुवाकोट ऐतिहासिक जिल्ला हो । त्यसको सदरमुकाममा विदुर नगरपालिका छ । राजधानी काठमाडौंबाट ६९ किलोमिटरको दुरीमा रहेको विदुर नगरपालिका पर्यटकीय विकासको ठूलो सम्भावना बोकेको नगरपालिका पनि हो । कुल १३०.०१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो नगरपालिकामा १३ वडाहरु छन् । नेपालको संविधानले गरेको परिकल्पना अनुसार स्थानीय तहको निर्वाचन सम्पन्न भई नगरपालिकाले नेतृत्व पाएको पनि १ वर्ष भन्दा बढी समय भइसकेको छ । यही सेरोफेरोमा रहेर नगरपालिकाको विकास, स्थानीय तहमा सेवा प्रवाह, विकास निर्माण लगायतका विषयमा नगरपालिका प्रमुख सन्जु पण्डितसँग न्युज कारोबारले गरेको कुराकानी :
तपाईंले विदुर नगरपालिकाको नेतृत्व सम्हालेको १ वर्षभन्दा बढी भयो, यो अवधिमा के अनुभव गर्नुभयो ?
हो, तपाईंले भनेको जस्तै हामी निर्वाचित भएर आएको एक वर्ष भन्दा बढी भइसक्यो । संघीयताको कार्यान्वयनसँगै स्थानीय सरकारको अवधारणाअनुसार हामी निर्वाचित भएको १४ महिना भएको छ । यो अवधिमा हामीले सुरुवातमा कर्मचारी अभाव झेल्यौं । जनताको सेवा गर्ने, मुलुकका अन्य नगरपालिका भन्दा आफूले नेतृत्व गरेको नगरपालिका श्रेष्ठ होस् भन्ने चाहना अनुरुप कार्य गरेका छौं । तर, हाम्रो चाहना भए पनि कर्मचारी अभावले हाम्रा कतिपय कामहरुले गति लिन सकेनन् । तर, जे भए पनि जनताको सेवा गर्ने तीव्र इच्छाशक्तिका साथ अघि बढेकाले यो अवधिमा जनताले महशुस गर्ने गरी काम गर्न सफल भएको छु ।
संघीयता त खर्चिलो शासन प्रणाली हो । अहिले जनताको ढाड सेकिने गरी कर लगाइएको भन्दै व्यापक आलोचना भएको छ, यहाँलाई के लाग्छ ?
हेर्नुस्, कर राज्य वा भनौं शासन सञ्चालनको अपरिहार्य सर्त हो । राज्यले करका माध्यमबाटै सार्वजनिक सेवा सञ्चालन विकास निर्माणका कार्य गर्ने हो । तसर्थ कर लगाउँनै हुन्न भन्ने पक्षमा म छैन । तर करको निर्धारण गर्दा अन्याय नहुने गरी जनताको सेवा गर्ने उद्देश्यका साथ लगाइनु पर्दछ । विश्वका विकसित देशहरुको करको स्थिती हेर्नुभयो भने पनि ५० प्रतिशत सम्म आयकर लगाइएका उदाहरण प्रसस्तै भेटिन्छ । त्यसैले कर राज्य सञ्चालनको एउटा आधार हो । यसले जनतालाई राज्यलाई प्रश्न गर्ने आधार प्रदान गर्छ । तर, करको दुरुपयोग हुनुचाँही जनअपेक्षा विपरित हो । हामी त्यसप्रति सचेत छौं ।
करको दर र दायरा भन्दा पनि त्यसको दुरुपयोग भएको भन्ने व्यापक आलोचना भएको छ । तपाईंहरुको कत्तिको आलोचना हुन्छ ?
लोकतान्त्रिक व्यवस्थामा जनता सर्वाेच्च निकाय र अधिकार सम्पन्न हुन्छन् । उनीहरुले राज्यका हरेक क्रियाकलापमा प्रश्न उठाउने, गलत भएमा परिवर्तन गर्ने लगायको कार्य गर्न सक्छन् । विदुर नगरपालिकाको हकमा हामी जनतालाई सर्वाेपरी ठानेर कार्य गर्दै आएका छौं । हामीले जवाफदेहीता र पारदर्शीतालाई प्रवद्र्धन गरिरहेका छौं । नगरपालिकाका खर्चहरु पारदर्शी भएपछि जनताले आलोचना गर्ने ठाउँ हुँदो रहेनछ । तर, गलत भएको ठाउँमा जनताको स्तरबाट आएका सल्लाह र सुझावलाई नगरपालिकाले सदैव स्वागत गर्दछ ।
भूकम्प पछिको पूनःनिर्माणलाई कसरी अघि बढाउनुभएको छ ?
भूकम्पका कारण मुलुकमा ठूलो क्षति भयो । नुवाकोट पनि त्यसबाट अछुतो रहेन । ठूलो क्षति भएकाले त्यसको पुनर्निर्माणका लागि सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेको छ । पुनर्निर्माणको सम्पूर्ण कार्यको नेतृत्व गर्ने निकाय सोही प्राधिकरण हो । त्यसैले पुनर्निर्माणमा स्थानीय तहको ठूलो भूमिका छैन । तर हाम्रो हकमा भन्नुहुन्छ भने पीडित जनताले समयमै पुनर्निर्माणका सुविधा प्राप्त गर्न सफल हउन् भन्ने हेतुका साथ सहयोग र समन्वयलाई अघि बढाएका छन् । जे भए पनि विदुर नगरपालिकाका सम्पूर्ण नागरिकहरुप्रतिको हाम्रो दायित्व छ । उहाँहरुको सेवा, सुविधा, समृद्धि लगायतका विषयमा नै हो हामीले कार्य गर्ने । विदुरबासीको सुख र समृद्धिका लागि हामीले कार्य गर्ने हो, कतै त्यो देखिएला, कतै नदेखिएला फरक यत्ति हो ।
स्थानीय तहकै कुरा गर्दा सबै एउटै राजनीतिक दलले विजय प्राप्त गरेको छैन, विभिन्न वडामा फरक फरक राजनीतिक दल निर्वाचित भएको छ । यस्तोमा काम गर्न कत्तिको अप्ठेरो छ ?
मेरो अनुभवमा पारदर्शी नहुँदा, एकांकी ढंगले अघि बढ्न खोज्दा, मनोपोली गर्दा, भ्रष्टाचार गर्दा यस्ता समस्या आउने हुन् । जवाफदेही, पारदर्शी तथा समन्वयात्मक ढंगले अघि बढ्दा धेरै समस्याहरु आँफै समाधान हुँदा रहेछन् । हामीले नगरपालिकामा विकास निर्माणका कार्य गर्दा विभिन्न कार्यक्रम गर्दा सम्बन्धित वडाका वडाध्यक्षलगायत जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग समन्वय गर्ने गरेका छौं । यसले निर्णय निर्माण प्रक्रियामा उहाँहरुको सहभागिता प्रबद्र्धन गरेको छ । अर्कातर्फ हाम्रा कामहरु पारदर्शी छन् । यति भएपछि विदुर नगरपालिकामा फरक राजनीतिक आस्थाको भएकै कारणले काम नहुने, अबरोध हुने भन्ने समस्या देखिएको छैन । यसलाई हामी आगामी दिनमा पनि निरन्तरता दिनेछौं ।
नुवाकोट एउटा ऐतिहासिक जिल्ला पनि हो । ऐतिहासिक तथा पुरातात्विक सप्पदाको संरक्षण र विकासमा नगरपालिकाले के गर्दै आइरहेको छ ?
तपाईंले भने जस्तै नुवाकोट ऐतिहासिक जिल्ला हो । नेपाल राष्ट्रको इतिहासमा नुवाकोट छुट्दैन । नेपालको एकीकरणमा त झन् नुवाकोटको ठूलो महत्व छ । यहाँका दरबार, मठ मन्दिर, पुरातात्विक सम्पदाको संरक्षण र विकासमा नगरपालिकाले कार्य प्रारम्भ गरेको छ । यी संरचनाको संरक्षण र विकास गरी नुवाकोटलाई एउटा पर्यटकीय जिल्लाको रुपमा विकास गर्नुपर्छ भन्ने मान्यताका साथ हामी अगाडि बढेका छौं । राजधानी काठमाडौंबाट नजिकको दुरीमा भएकाले यसलाई ऐतिहासिक अध्ययनको मुख्य थलो बनाउन पनि सकिन्छ भन्ने मेरो ठम्याई छ । नेपालको इतिहाससँग पनि जोडिएको र सांस्कृतिक तथा प्राकृतिक सम्पदाले पनि भरपूर रहेका कारण यसलाई ति सम्पदाहरुको संरक्षण र विकास गरी आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तब्यस्थलका रुपमा विकास गर्न सकिन्छ भन्ने मनासायका साथ हामी लागेका छौं ।
संघीयतापश्चात खासगरी स्थानीय तहको निर्माणपछि ‘गाउँ गाउँमा सिंहदरबार’ भनियो । तर, गाउँ गाउँमा सिंहदरबारको विकृति बढेको छ पनि भनिन्छ । विदुर नगरपालिकाको अवस्था कस्तो छ ?
हरेक कुराका राम्रा र नराम्रा दुवै पक्ष हुन्छन् । यो विज्ञानको नियम हो । कुनै पनि वस्तुको गुण मात्र हुँदैन दोश पनि हुन्छ । तर, त्यसलाई सुधार गर्ने इमान्दार प्रयत्न हुनुपर्याे । हामीमा त्यो छ । नेपालको संवैधानिक व्यवस्था अनुसार हामीले पाएको अधिकारको प्रयोग जनताको हितका लागि होस् भन्ने हाम्रो प्रयत्न छ । जनताले चाहेको सुविधा कम समय र लागतमा गुणस्तरीय होस् भन्ने हाम्रो प्रयत्न हो । त्यसलाई मूर्तरुप दिने प्रयत्न गर्दै आएका छौं । मलाई के थाह छ भने म जनताको सेवा गर्न निर्वाचित भएर आएको हुँ । मैले जनताको सेवा गर्नुपर्छ । त्यसैले हामी विकृतिलाई निरुत्साहित गर्दै सभ्य र समृद्ध समाज निर्माणमा लागेका छौं । तसर्थ विदुर नगरपालिकामा त्यस्तो समस्या छैन ।
निर्वाचित भएको एक वर्षमा के के गर्नुभयो ?
मैले माथिनै भनिसकेँ सुरुवातमा कर्मचारी अभावको समस्या झेल्यौं । त्यसका कारण कतिपय कामहरु प्रभावित बने । अहिले हामीले जनताका कार्यहरुलाई गति दिएका छौं । शिक्षा, स्वास्थ्य लगायतमा सुधारको प्रयास गरेका छौं । विकासका गतिविधि अगाडि बढाएका छौं । जनतालाई कसरी बढी सेवा सुविधा दिन सकिन्छ ? भनेर लागिरहेका छौं ।
पाँच वर्षमा नगरपालिकालाई कहाँ पुर्याउनु हुन्छ ?
हामी राजधानीको नजिकै छौं । यो ऐतिहासिक जिल्ला पनि हो । त्यसैले हाम्रो पर्यटकीय क्षेत्रको विकासको ठूलो सम्भावना छ । त्यसै गरी भौतिक पूर्वाधार, विकासका पूर्वाधारको निर्माण, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा पनि कार्य गर्नुपर्ने छ । यी विविध क्षेत्रको विकास विना समृद्धि सम्भव छैन । त्यसैले हामी यो समग्र क्षेत्रको विकासमा गुरुयोजना बनाएर लागिरहेका छौं । पाँच वर्षको अवधिमा विदुर नगरपालिकामा शैक्षिक तथा स्वास्थ्य सेवाको गुणस्तर बढेको हुनेछ, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र विकासमा उल्लेख्य प्रगति भएको हुनेछ । जनताका दैनिक समस्याहरु समाधान भएको हुनेछ । पर्यटन क्षेत्रको विकास गरी पर्यटकको आगमनमा वृद्धि भएको हुनेछ ।
प्रकाशित समय १३:४१ बजे

















