गृहपृष्ठ सार्वजनिक सवारी रोकेर बस्न निषेध, यात्रु ओराल्ने र चढाउनेमात्र
सार्वजनिक सवारी रोकेर बस्न निषेध, यात्रु ओराल्ने र चढाउनेमात्र
बढ्दो सवारी जाममा कमी ल्याउन काठमाडौं महानगरपालिकाले आइतबारदेखि टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधानले यात्रु पर्खेर बस्न नपाउने गरी ओराल्ने र चढाउने (पिक एण्ड ड्रप) अभियान गर्ने भएको छ । एउटा सवारी साधनले केही यात्रु कुर्ने क्रममा लामो जाम भएर धेरैको उत्पादनशील समय बर्बाद भएको र इन्धन जलेर वातावरणमा ह्रास आएकाले ‘पिक एन्ड ड्रप’ अभियान सुरु गर्न लागेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।
टुंडिखेललाई केन्द्र बनाउँदा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीबाट भद्रकालीसम्मको सडकमा सबैभन्दा बढी समस्या देखिएको थियो । यस ठाउँबाट विभिन्न रुट भएर विभिन्न ठाउँमा विभिन्न कम्पनीका सवारी साधन चल्छन् ।
पहिलो चरणमा विभिन्न ११ वटा रुटमा ‘पिक एन्ड ड्रप’ कार्यक्रम लागू हुनेछ । एक सवारी साधनले एक स्थानबाट मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन् । तोकिएको ‘स्टप’ बाहेक अन्य स्थानमा यात्रु ओराले वा चढाउने गरेमा कानुनअनुसार कारबाही हुने महानगरपालिकाले जनाएको छ ।
यस अभियानले सफलता पाएसँगै उपत्यकाको सबै सडकमा पिक एन्ड ड्रप नियम लागू गर्ने सरकारको तयारी छ । टुँडिखेलबाट सिंहदरबार हुँदै बानेश्वर जाने सवारी साधनले राष्ट्रिय सभागृहको दायाँबायाँको भृकुटीमण्डपको स्टप र माइतीघरबाट बबरमहलको बीचमा मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन् ।
टुँडिखेलबाट सिंहदरबार हुँदै ललितपुरतर्फ जाने सवारी साधनले राष्ट्रिय सभागृहको दायाँबायाँको भृकुटी मण्डपको स्टप र थापाथलीस्थित खाद्य संस्थानअघि मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन् । टुँडिखेलबाट त्रिपुरेश्वर हुँदै कालीमाटीतर्फ जाने सवारी साधनले राष्ट्रिय सभागृहको दायाँबायाँको भृकुटी मण्डपको स्टप र त्रिपुरेश्वर स्टप, टुँडिखेलबाट लैनचौर हुँदै नयाँबजारतर्फ जाने सवारी साधनले नेपाल वायु सेवा निगम अगाडि र लैनचौरस्थित दूग्ध विकास संस्थान अगाडि मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन् ।
यस्तै टुँडिखेलबाट लैनचौर हुँदै महाराजगञ्ज र धोबिचौर जाने सवारी साधनले नेपाल वायुसेवा निगम अगाडि र लैनचौरस्थित खानी तथा भूगर्भ विभाग अगाडि मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन् । टुँडिखेलबाट विश्वज्योति, घण्टाघर, कमलपोखरी, नागपोखरी जाने सवारी साधनले नेपाल वायुसेवा निगम र रत्नपार्क तथा टुँडिखेलभन्दा बाहिर जाने सवारी साधनले रत्नपार्क अगाडि र टुँडिखेलभन्दा बाहिरको स्टपमा मात्र यात्र ओराल्न र चढाउन पाउनेछन् ।
पुरानो बसपार्कभित्र यात्रु चढाउने र ओराल्ने सवारी साधनका लागि पुरानो बसपार्कभित्रको स्टप र टुँडिखेल वरिपरिभन्दा बाहिर रहेको स्टप तथा लामो दूरीका ठूला यात्रुबस एकतर्फ भृकुटीमण्डप र फर्कंदा नेपाल वायु सेवा निगम हुँदै चल्ने सवारी साधनले एकतर्फ वायुसेवा निगम अगाडि र अर्कोतर्फ भृकुटीमण्डपबाट यात्रु ओराल्ने र चढाउनुपर्नेछ । यस्तै दोस्रो स्टपका लागि टुँडिखेल वरिपरिभन्दा बाहिर रहेको स्टपबाट मात्र यात्रु ओराल्ने र चढाउनुपर्नेछ ।
वायुसेवा निगम अगाडि स्टप बनाई विभिन्न स्थानमा जाने सफा टेम्पोले निगम अगाडिको स्टप र अन्य सवारी साधनले प्रयोग गर्ने स्टप तथा बागबजारस्थित भक्तपुर बसपार्कबाट यात्रु लिई आउने सवारी साधनले सोही ठाउँ र माइतीघर र बबरमहलको बीचबाट यात्रु ओराल्न र चढाउन पानेछन् ।
केही दिनअघि सरोकारवालासँगको बैठकमा कामपाका प्रमुख शाक्यले उपत्यकाको सडक जति नै फराकिलो बनाए पनि जामको समस्या झन जटिल बन्दै गएको भन्दै बहुपक्षीय लाभमा सबैले साथ दिनुपर्ने बताएका थिए । उनले पहिलो चरणमा ११ वटा रुटमा चल्ने सवारी साधनलाई यो नियम लागू गरिए पनि यसपछि अन्य रुटमा पनि लागू गरिने बताए । (रासस)
प्रकाशित समय १८:२८ बजे

















