गृहपृष्ठ स्कुल टाढा भो सरकार !
स्कुल टाढा भो सरकार !
बुटवल– पाल्पाको रैनादेवीका सुमन बिक रुपन्देहीको सालझण्डी माविमा कक्षा ४ मा पढ्छन् । गाउँको चन्द्रमुखी प्राविमा कक्षा ३ भन्दामाथि पढाइ नहुने भएपछि कक्षा ४ पढ्न उनी रुपन्देही पुग्नुपरेको हो । बिहान उठेपछि विद्यालय जाने तयारी गर्नु, विद्यालय जानु र फर्किएपछि खाना खाएर सुत्नु उनको दैनिकी हो ।
अर्घाखाँचीकी दुर्गा दर्लामी पनि सालझण्डी माविमा कक्षा ९ मा अध्ययनरत छिन् । कक्षा ५ सम्म गाउँकै कृष्ण प्रावि, तोरीवारीमा पढेकी उनले पनि कक्षा ६ देखि यही विद्यालयलाई रोज्नुपर्यो । अर्घाखाँचीको सितगंगा नगरपालिका–१४ घर भएकी दर्लामीलाई विद्यालय समयमै पुग्न दैनिक ८ बजे घरबाट हिँड्नुपर्छ ।
दुर्गा र सुमनमात्र होइन, सालझण्डी माविमा पढ्न आउने पाल्पा र अर्घाखाँचीका बालबालिका एक सयभन्दा बढी छन् । बाटोमा जंगल, खोला र एकान्त ठाउँ पर्ने हुँदा उनीहरु समूहमा हिँड्ने गर्छन् । पाल्पाको रैनादेवीबाट १७ जना समूह बनाएर सालझण्डी मावि आउने–जाने गरेका छन् । ‘पानी पर्दा आउनै सकिन्न,’ गीता कुमाल भन्छिन्, ‘जंगलमा हिँड्नुपर्छ, खोलाले छेक्छ ।’ कक्षा ७ मा अध्ययनरत अर्घाखाँचीका अनवीर दर्लामी वर्षाको समयमा तीनवटा खोला तरेर विद्यालय आउनुपर्ने बाध्यता छन् ।
कक्षा ९ र १० मा मात्रै पाल्पा र अर्घाखाँचीका ३९ जना बालबालिका रहेको प्रधानाध्यापक खडानन्द घिमिरेले बताए । ‘गाउँमा विद्यालय नहुँदा त्यति टाढाबाट विद्यार्थी यहाँसम्म आउन बाध्य छन्,’ उनले भने ।
सरकारले विद्यालय जाने उमेरका विद्यार्थीलाई अनिवार्य विद्यालय पठाउन अभियान चलाइरहेको छ । सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सस्तो लोकप्रियताका लागि विपन्न परिवारका बालबालिकालाई विद्यालय भर्ना गराइरहेका छन् । अन्य मन्त्रीहरु पनि त्यसको सिको गरेका छन् । तर, स्रोतमै गएर समस्याको समाधान गर्ने नैतिक साहस देखाउन सकेका छैनन् । सम्पूर्ण जिम्मेबारी आफ्नै हातमा हुँदा समस्याका निराकरण जरैदेखि गर्न तत्पर देखाउनुपर्नेमा पाल्पा र अर्घाखाँचीका अभिभावकहरुको माग छ ।

पाल्पाको रैनादेवी र अर्घाखाँचीको सितगंगाका सयजति बालबालिका सालझण्डी आइपुगे पनि अधिकांश बालबालिका विद्यालय टाढा भएकै कारण पढाइ छाड्न बाध्य छन् । नगरपालिका क्षेत्रका विद्यार्थीले विद्यालय नभएका कारण बीचमै पढाइ छाड्न बाध्य भइरहँदा दुर्गम क्षेत्रका बालबालिकाको हविगत कस्तो होला । सरकार र सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले यसतर्फ सोच्न जरुरी रहेको शिक्षाविदहरु बताउँछन् ।
तस्बिर : गुगल
प्रकाशित समय १२:०५ बजे