गृहपृष्ठ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अाजबाट २१ घण्टा सञ्चालनमा

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अाजबाट २१ घण्टा सञ्चालनमा

काठमाडाैं-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट २१ घण्टा सञ्चालनमा आउने भएको छ । उडानको चाप बढेपछि त्यसलाई कम गर्न विमानस्थल २१ घण्टा सञ्चालन गर्न लागिएको हो । दिउसो साढे १ बजे विशेष कार्यक्रमको आयोजना गर्दै विमानस्थल २१ घण्टा सञ्चालनको घोषणा गरिने त्रिभुवन अन्तर्राट्रिय विमानस्थल कार्यालयका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले आफ्नो सय दिने कार्यक्रम सार्वजनिक गर्दै सय दिन भित्र विमानस्थल २१ घण्टा सञ्चालन गर्न निर्देशन दिएका थिए । सोही प्रतिवद्धताअनुसार विमानस्थल आजबाट दैनिक २१ घण्टा सञ्चालन हुन लागेको हो ।
हाल १८ घण्टा सञ्चालनमा रहेको विमानस्थल अब ३ घण्टा थप गरेर २१ घण्टा पुर्याउन लागिएको हो । विमानस्थल २१ घण्टा सञ्चालन गर्नका लागि जनशक्ति व्यवस्थापन गर्न चुनौति देखिएको छ ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ देखि राति १२ बजेसम्म जम्मा १८ घण्टा सञ्चालन भइरहेको छ । सञ्चालन अवधि २१ घण्टा पुर्याउँदा त्यो समय बिहान ६ देखि भोलिपल्ट बिहान ३ बजेसम्म हुनेछ ।

यसका लागि आवश्यक प्रवन्ध मिलाइसकिएको महाप्रवन्धक क्षेत्रीले बताउँछन् । ‘अहिले पनि १ बजेसम्म भनिए पनि फ्लाइट एक्स्टेन्सन हुँदा कर्मचारी साथीहरु २ बजेसम्म बस्नुहुन्थ्यो । त्यसैले अहिले थप्न लागिएको समय धेरै होइन,’ उनले भने, ‘अहिलेकै कर्मचारीबाट तत्कालका लागि काम चलाउँदैछौं ।’

हाल विमानस्थलमा ६७ एटिसी (एयर ट्राफिक कन्ट्रोलर) छन् । विमानस्थल २१ घण्टा सञ्चालन गर्दा ८५ देखि ९० एटिसी आवश्यक पर्ने जनाइएको छ । अहिले क्यानसँग देशभरि गरी जम्मा २५० एटिसी छन् । ‘अहिले २१ घण्टा विमानस्थल सञ्चालन हुने भएपछि थप ८ जना एटिसी थपिएको छ,’ महाप्रवन्धक क्षेत्रीले भने, ‘बाँकी अन्य सेवातर्फ कर्मचारी विस्तारै थप गर्दै जानेछौं । अहिलेलाई हाल कायम कर्मचारीबाट काम गरिनेछ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक आन्तरिक र अन्तर्राष्ट्रिय गरी करिब ४ सय उडान अवतरण हुने गरेको छ । जसमा आन्तरिकतर्फ हेलिकोप्टरसहित करिब ३५० र अन्तर्राष्ट्रिष्यतर्फ ३० वटा वायु सेवा प्रदायकले दैनिक १०० भन्दा धेरै उडान भर्दै आएका विमानस्थल कार्यालयले जनाएको छ ।

दैनिक एक हजार ३०० यात्रु व्यवस्थापन क्षमता भएको अन्तर्राष्ट्रिय विमानस्थलमा दुई हजार ५०० भन्दा बढी यात्रुले सेवा लिइरहेका छन् ।

तत्कालका धेरै फ्लाइट नथपिने महाप्रवन्धक क्षेत्री बताउँछन् । अहिले तत्काल २/४ वटा फ्लाइटभन्दा धेरै थपिँदैनन् । सबैले पहिला नै आआफ्नो सेड्युल बनाइसकेका कारण तत्काल धेरै फ्लाइट थपिँदैनन्,’ उनी भन्छन्, ‘बिस्तारै नयाँ सेड्युल बन्दै जाँदा फ्लाइट पनि थपिँदै जान्छन् ।’

प्रकाशित समय १०:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु