गृहपृष्ठ एकवर्षमा स्वास्थ्य भवनको जगमात्रै, बिरामीलाई हैरानी
एकवर्षमा स्वास्थ्य भवनको जगमात्रै, बिरामीलाई हैरानी
सीता वली
सुर्खेत- कर्णाली प्रदेशका जनता हरेक आधारभुत आवश्यकताबाट बञ्चित छन् । शिक्षा, स्वास्थ्य, यातायात, विद्युत् तथा खानेपानीको सुवीधा समेत कर्णालीका सबै जिल्लामा पुग्न सकेको छैन ।
दश जिल्ला रहेको कर्णाली प्रदेशको राजधानी सुर्खेत अन्य नौ जिल्लाको तुलनामा सुगम मानिन्छ । त्यसमा पनी कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर भौतिक संरचना तथा अन्य सेवा सुविधाका हिसाबले सुगम छ । विगतका विभिन्न सरकारी कार्यालयहरुको क्षेत्रीय भवनहरु समेत वीरेन्द्रनगर नगरपालीकामा भएको कारण पनी कर्णालीको राजधानी केहि सुगम मानीन्छ ।
शुरुमा १२ वटा वडा रहेको वीरेन्द्रनगर नगरपालीकामा नयाँ संरचना अनुसार १६ वटा वडा रहेका छन् । २०३३ सालमा स्थापना भएको वीरेन्द्रनगर नगरपालीकासंग जोडिएको साविकको रतु गाविस तथा हालको वीरेन्द्रनगर १५ हरेक विकासे अवसरबाट बञ्चित छ ।
स्वास्थ्यका हिसाबले त निकै पछाडि यो वडा रहेको छ । स्वास्थ्य चौकी रतु ३ वटा कोठामा सिमित छ । नत राम्रो खानेपानी छ नत बिरामी बस्नलाई राम्रो प्रतिक्षालयनै । शौचालयको अवस्था पनी त्यती राम्रो छैन ।
बिरामीका लागी बेड तथा कुरुवाका लागी समेत बस्ने व्यवस्था स्वास्थ्य चौकी रतुमा छैन । स्वास्थ्य चौकी रतुमा भवन निर्माणका लागी पि.एम्. कन्ट्रक्सन सेवा खलङ्गा जाजरकोटले जिम्मा लिएको करिब एक वर्ष भईसकेको छ । तर एकवर्षमा स्वास्थ्य चौकी भवनको जगमात्रै खनिएको छ ।
करिब डेढ करोडको लगानीमा बन्न लागेको स्वास्थ्य चौकीको भवन २०७४ जेठ ३१ गते निर्माण कम्पनीलाई १८ महिनामा काम सक्ने गरी शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतले कार्याआदेश दिएको थियो । तर अझै ठेकेदार कम्पनीले जग बाहेकको काम अगाडि बढाउन सकेको छैन ।
भवन अभावका कारण स्वास्थ्य चौकीममा सेवा लिन आउने सेवाग्राहि मर्कामा परेका छन् । स्वास्थ्य चौकीको भवन समएमै निर्माण नहुंदा सेवाग्राहिलाई गुणस्तरिय सेवा दिन नसकेको बताउंछन् स्वास्थ्य चौकी रतुका ईन्चार्ज हरेराम शाह ।
‘तिन वटा कोठामा सिमीत स्वास्थ्य चौकीमा सुत्केरी सेवा प्रभावित भएको छ । अनमीलाई बस्ने व्यवस्था समेत छैन,’ उनी भन्छन्, ‘ठेकेदारको लापर्वाहिको कारण सेवाग्राहि निकै मर्काका परेका छन् ।’ कार्याआदेश भएको एक वर्ष पुगीसक्दा पनी ठेकेदार कम्पनीले काम शुरु नगरेको बताउंछन् डिभिजन कार्यालयका निमित्त प्रमुख कमल कुमार दर्लामी ।
‘हामीले पटक–पटक मौखीक रुपमा काम सम्पन्न गर्नका लागी भनेका छौं । एकहप्तामा कार्यालयमा हाजीर हुनका लागी चिठि समेत काटेका छौं,’ उनी भन्छन्, ‘१४ लाख ४० हजार रुपैयां पहिलो किस्ता बराबरको रकम लगीसकेका ठेकेदारले अझै अटेर गरे छिटै कारर्वाहि गर्नेछौं ।’
उता पि.एम्.कन्ट्रक्सन सेवाका ठेकेदार ओमभक्त काकीे भने डिभिजन कार्यालयले पहिलो किस्ता दिन ढिला गरेको र दोस्रो किस्ता समेत दिन नमानेकोले काम गर्न ढिला भएको बताउँछन् । उनले भने, ‘कार्यालयले रकम दिन आनाकानी गरेकै भएर काममा ढिला भएको हो ।’
असारको १५ बाट जसरी भएपनी भवन निर्माणको काम अगाडि बढ्ने उनी बताउँछन् । २०७५ पुस १ गते डिभिजन कार्यालयबाट काम सकीसक्ने कार्याआदेश भएको उनले जानकारी दिए ।सकेसम्म निर्धारित समयमै काम सक्ने गरी काम गर्ने उनले प्रष्ट्याए ।’
शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतले ठेकेदार कम्पनीलाई दिएको कार्याआदेशको म्याद सकिन अब ८ महिना मात्रै बांकी छ । आठ महिनामा दुईतलाको १४ कोठे भवन निर्माण ठेकेदार कम्पनीले गर्ला त ?
प्रकाशित समय ०७:३० बजे

















