गृहपृष्ठ वाम एकीकरण हुँदा कांग्रेसले रोज्नुपर्ने बाटो
वाम एकीकरण हुँदा कांग्रेसले रोज्नुपर्ने बाटो
राजनीति गतिशील हुन्छ । राजनीतिमा असम्भव भन्ने केही पनि हुन्न । केही दशकदेखि नेपाली राजनीतिमा यस्ता काम भइरहेका छन् । यसैको प्रतिफलस्वरुप नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण भएको छ– नेपाल कम्युनिस्ट पार्टीका रुपमा । कुनै बेला माओवादी र एमाले पानी बाराबारको स्थितिमा थिए । एकीकरणको कल्पना अहिलेकै नेताले पनि गरेका थिएनन् । एकीकरण असम्भव मानिन्थ्यो तर आज वास्तविकतामा परिणत भइसकेको छ । अर्कोतिर वाम एकीकरण हुनुलाई त्यति अस्वाभाविक मान्नु युक्तिंसङ्गत हुँदैन, आखिर जिन त एउटै हो नि !
एमाले र माओवादीको एकीकरण हुँदैन भन्ने अड्कलबाजी निकै भए पनि तर एक दिन हुनु थियो भयो । उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएपछि एकता हुन दिँदैनन् भन्ने सोच व्याप्त थियो जनमानसमा । देखिन्थ्यो पनि त्यस्तै माओवादी मन्त्रीलाई कूटनीतिक भेटमा त्यति सामेल समेत गराइएको थिएन । गुनासो राखेका थिए वर्षमान पुनले त । मोदीलाई हाम्रोभन्दा उनकै देशको चासो बढी छ, आफू अनुकूल जसलाई चलाउन पाइन्छ त्यसलाई प्रयोग गर्ने हुन् उनीहरुले न हिजो बीपीलाई सहयोग गरेका थिए न महेन्द्रलाई नै । त्यति समान्य हेक्का पनि हामी राख्दैनौँ कि कतै ?
देशमा दुई पार्टीभन्दा अरुको आवश्यकता पनि छैन नै । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षहरुको एउटै उद्घोष छ– अबको मुद्दा आर्थिक विकास । नेपाल कम्युनिस्ट पार्टीका एक जना अध्यक्ष जो अहिले देशका प्रधानमन्त्री हुनुहुन्छ, उहाँले त भन्नु पनि भएको छ– म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न दिन्नँ पनि । यो व्यवहारमा देखियो भने साँच्ची नै देशले काँचुली फेर्न समय नलाग्ला तर उहाँ आफैं गृहमन्त्री हुँदा लिएको गाडीसमेत फिर्ता गर्न नचाहने व्यक्ति हो, सबैलाई थाहा छ । यो त एक दृष्टान्तमात्र हो । हुन त हिजो र आजमा जिम्मेवारी फरक छ, परिवर्तन होला र हुनु पनि पर्छ ।
वाम एकता भएपछि इतिहासकै शक्तिशाली कम्युनिस्ट पार्टी बनेको छ । उता, प्रजातन्त्रको सूत्रपात गर्ने र इतिहासका सबैजसो परिवर्तनमा नेतृत्व गरेको पार्टी नेपाली कांग्रेस यतिखेर इतिहासको सबैभन्दा कमजोर पार्टीका रुपमा दरिएको छ । राजनीति स्थिर हुन्न परिवर्तनशील हुन्छ, तर नेपाली कांग्रेस भने सधैं स्थिर नै रह्यो । कार्यकर्ताले हिजोको विरासतलाई सम्झेर सधैँ विश्वास गरिरहे तर नेताहरुले जनताको माया र विश्वासलाई कहिल्यै बुझ्न सकेनन् । त्यसकै प्रतिफलस्वरुप कांग्रेसले यो नियति भोग्नुपरेको हो । अझै पनि कांग्रेसी नेताहरुमा कुनै चेतना आएको जस्तो देखिँदैन । भोलि वाम एकता टुट्ला अनि कांग्रेस सत्तामा आइहाल्छ त्यतिखेर आफू सत्तामा पुगिहालिन्छ भन्ने दिवास्वप्न देखिरहेछन् । त्यही आशामा गुट–उपगुटमा भुलिरहेछन् । यस्तै हो भने करिब १० वर्ष कांग्रेस भित्तामै बसिरहनुपर्ने हुन्छ । त्यतिन्जेल अन्य प्रजातान्त्रिक पार्टी अगाडि नआउलान् भन्न सकिन्न । त्यतिखेर नेपाली कांग्रेस कहाँ हुन्छ ? सोच्नु जरुरी छ ।
वाम एकता भएपछि इतिहासकै शक्तिशाली कम्युनिस्ट पार्टी बनेको छ । उता, प्रजातन्त्रको सूत्रपात गर्ने र इतिहासका सबैजसो परिवर्तनमा नेतृत्व गरेको पार्टी नेपाली कांग्रेस यतिखेर इतिहासको सबैभन्दा कमजोर पार्टीका रुपमा दरिएको छ ।
अब कांग्रेसले कस्तो बाटो रोज्ने त ? घर बिग्रिँदा सबभन्दा बढी दोष घरमुलीकै हुन्छ, त्यसैले बुझ्नुपर्ने र चिन्तन गर्नु पर्ने, पार्टी सभापति शेरबहादुर देउवाले नै हो । यद्यपि, देउवा धेरै ठाउँमा चुक्दै गएका छन् । अब जति सच्याउन चाहे पनि सच्याउन नसक्ने अवस्थामा देउवा पुगेका छन् । एकातिर टाल्न खोजे अर्कातिर भ्वाङ पर्ने अवस्था छ । अब सभापतिको कमजोरी हुँदा अन्यले सच्याउनुपर्ने हो तर सच्याउनुको सट्टा देउवाको आलोचनामै आफूलाई सच्चा कांग्रेसी चिन्तक सम्झिरहेका छन् । वरिष्ठ नेता

रामचन्द्र पौडेलको काम यतिखेर चुस्त संगठन निर्माण भन्दा पनि देउवाको आलोचना गर्नु रहेको छ । तनहुँबाट रामचन्द्र हार्नु पनि देउवाकै दोष हो त ? त्यत्रो वरिष्ठ नेताले आफ्नै गाउँका कार्यकर्तालाई खुसी राख्न नसक्नु अनि अरुको आलोचना मात्र गर्नुलाई कसरी लिने । कांग्रेस कमजोर हुनुमा देउवाको जति नभए पनि रामचन्द्रको पनि हाराहारीकै कमजोरी रहेको छ । देउबा र रामचन्द्रको मात्र नभएर हरेक कांग्रेस सम्मिलित सरकारमा कुनै न कुनै मन्त्रालय चाहिने नुवाकोटका नेताहरुले अरुलाई दोष थोपर्नुको कुनै तुक सायद नहोला ? उता कृष्णप्रसाद सिटौलाले आफ्नो योगदानभन्दा माथिको महत्वाकाङ्क्षा राखेकै हुन्, गुटलाई मलजल गर्न ।
कांग्रेसले लिनुपर्ने बाटो ? सबैभन्दा ठूलो कुरा त्याग नै हो । कांग्रेसी नेतामा त्यागको भावनाको विकास हुनै पर्छ । भारतका अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदी हुनुमा भारतीय जनता पार्टीका नेताहरुको ठूलो त्याग छ । त्यहाँबाट धेरै कुरा सिक्न सकिन्छ । भाजपाका तात्कालीन अध्यक्ष राजनाथ सिंहको भूमिका मननीय छ । राजनाथ सिंहले भारतीय जनता पार्टीलाई विजयी गराउन नरेन्द्र मोदीलाई नै प्रधानमन्त्रीको रुपमा उभ्याउनु पर्ने अडान राखे । राजनाथलाई पनि भारतको प्रधानमन्त्री बन्ने इच्छा त थियो होला ? फेरि उनी नेपालका शेरबहादुर जस्तो पटक—पटक प्रधानमन्त्री बनेका थिएनन् । लालकृष्ण आडवाणीजस्ता भाजपाका संस्थापक नेता, सुष्मा स्वराज जस्ता मोदीभन्दा सिनियर नेताले विरोध गर्दागर्दै पनि राजनाथ सिंहले नरेन्द्र मोदीलाई नै भाजपाका भावी प्रधानमन्त्री भनेर उभ्याई छाडे । परिणाम साँच्चि नै राजनाथ सिंहले सोचे जस्तै भयो भाजपा भारी मतका साथ विजयी भयो, भाजपाको सरकार बन्यो, नरेन्द्र मोदी प्रधानमन्त्री भए । अध्यक्ष भइसकेका राजनाथ सिंह मोदी सरकारकै गृहमन्त्री भए । यसबाट बुझ्नुपर्छ– आफ्नो स्तर के हो ? जनताको चाहना के छ ? नेतृत्व क्षमता कोसँग छ ? कार्यकर्तालाई कसले रुचाउँछन् ? यी प्रश्न नबुझेसम्म नेपाली कांग्रेस अहिलेको स्थानभन्दा माथि उठ्न सक्ने देखिन्न ।
नेपाली कांग्रेसमा अहिले पनि त्योभन्दा म सिनियर । म पहिले फलानो क्याम्पसको स्ववियु सभापति भएको । त्योभन्दा म पहिले महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, केन्द्रीय सदस्य, मन्त्री भएको जस्ता सर्टिफिकेट तेस्र्याइन्छ । त्यतिमात्र नभएर कुन नेताको को नाता, को कुन नेताको पछि लागेको छ । यस्ता कुरालाई प्राथमिकतामा राखिन्छ । जहिलेसम्म क्षमता, योगदान र समयको मागलाई महत्व दिईँदैन कांग्रेस उठ्न कठिन छ ।
नेपाली कांग्रेसमा पनि क्षमतावान नेताको कुनै कमी छैन । विश्वप्रकाश शर्मा, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङजस्ता सशक्त नेताहरु छन् । यिनीहरुलाई कसरी परिचालन् गर्न सकिन्छ ? नेतृत्वले अझै सोचेको छैन । हुन त अरुले सोचिदिएर मात्र हुन्न अगाडि बढ्नेले सशक्तता पनि देखाउनुपर्छ । विश्वप्रकाश शर्मा प्रवक्ता छन् । अहिलेको समयमा जति आक्रामक हुनुपथ्र्यो त्यति हुन सकेका छैनन् किनकि अहिलेको पिढी आक्रामकता रुचाउँछ यो उनले बुझ्नु पर्ने देखिन्छ । उता गगन थापाको आक्रमकता छ तर उनी पनि गुटको खेलले नै माथि पुग्न सकिन्छ भन्ने मनोविज्ञानमा छन् कि जस्तो देखिन्छ । बद्री पाण्डे, गुरु घिमिरे,कल्याण गुरुङमा बढी शानीनता देखिन्छ यसले अब त्यति काम गर्ने देखिन्न । कार्यकर्ताले आशा गरेका यी नेताले पनि मनन गर्नुपर्ने देखिन्छ । आगामी दिनमा नेतृत्वले पनि सही नेता र कार्यकर्तालाई परिचालन गर्न सकेमा विचार भएको, कार्यकर्ता भएको र आफ्नै मौलिक विरासत बोकेको पार्टी फेरि उदाउनेछ ।
प्रकाशित समय १८:१९ बजे
















