गृहपृष्ठ गाउँपालिकामा शैक्षिक सुधार अभियान
गाउँपालिकामा शैक्षिक सुधार अभियान
बाँके– बाँकेको जानकी गाउँपालिकाले शैक्षिक सुधारका लागि विशेष योजना ल्याएको छ । विद्यालयमा शिक्षक समयमै नआउने, ध्यानपूर्वक नपढाउने र समयमै छात्रवृत्ति वितरण नगर्ने जस्ता अभिभावकको गुनासो सम्बोधन गर्दै समग्र शैक्षिक सुधारका लागि गाउँपालिकाले अग्रसरता देखाएको हो ।
सबै विद्यालयमा नभए पनि केही विद्यालयमा अभिभावकको गुनासो यथार्थ रहेकाले विशेष योजनाका साथ शैक्षिक सुधारमा जोड दिइएको गाउँपालिका अध्यक्ष रामनिवास यादवले बताए । विद्यार्थी–शिक्षक दुवैलाई १० देखि ४ बजेसम्म विद्यालयमा नियमित उपस्थित गराउने र सबै पिरियड पढाइ हुने वातावरण तत्काल मिलाउन गाउँपालिकाले सबै विद्यालयलाई सचेत गराइएको उनले जानकारी दिए ।
विद्यार्थीको भर्ना र कक्षामा उपस्थिति तथ्यांकसमेत विश्लेषण गर्ने काम गरिएको अध्यक्ष यादवले बताए । केही विद्यालयमा विद्यार्थी भर्ना भएको संख्याको ५० देखि ८० प्रतिशतमात्रै उपस्थिति पाइएको छ । विद्यालयको वर्तमान अवस्था पहिचान गरी विद्यालय सुधार योजना अगाडि बढाउने तयारी गाउँपालिकाको छ ।
गाउँपालिकामा आधारभूत अनिवार्य शिक्षा र निःशुल्क शिक्षाको नारासहित समस्या पहिचान र सुधार योजनाका साथ विद्यालय अनुगमन भइरहेको गाउँपालिकाकी उपाध्यक्ष भूमिसरा धितालले जानकारी दिइन् । विद्यार्थी अनियमित हुने समस्या ठूलो देखिएकाले नियमित गर्ने अवस्थाको पहिचान गर्ने कार्य भइरहेको उनको भनाइ छ । जानकी गाउँपालिकामा ३ मावि, ६ आधारभूत गरी ४५ विद्यालय छन् ।
प्रकाशित समय १३:११ बजे

















