गृहपृष्ठ उफ् ! कस्तो गर्मी
उफ् ! कस्तो गर्मी
दाङ– जेठ दोस्रो साताको सुरुवातसँगै दाङमा अत्यधिक गर्मी बढेपछि लमहीलगायतका मुख्य बजारमा मानिसको चहलपहल घटेको छ । बिहानैदेखि प्रचण्ड गर्मी सुरु भएपछि मानिसहरू घरभित्र र रुखको छहारीमा बसेर दिन कटाउन थालेका छन् ।
गर्मी बढेपछि मुख्य बजार केन्द्रहरु लमही, भालुवाङ, गढवा, सिसहनियालगायतका स्थानहरु दिनभर सुनसान देखिन थालेका छन् । बजारमा मानिसको चहपल घटेसँगै व्यापारिक कारोबारमा समेत कमी आएको लमहीका व्यवसायी बताउँछन् । लमही नगरपालिका–११ का तरकारी व्यापारी सीता चौधरीले दैनिक २० हजारको कारोबार हुँदै आएकोमा केही दिनयता किनबेच ठप्प भएको बताइन् । ‘उल्कै गर्मी छ, बाहिर सडकमा मानिस हिँड्न सक्ने अवस्था नै छैन, त्यसैले होला कारोबार पनि सुस्ताएको छ,’ उनले भनिन् ।
चौधरी जस्तै लमहीमा तरकारी र फलफूल व्यवसाय गर्ने व्यापारी व्यापार–व्यवसाय चौपट भएको बताउँछन् । ‘बिहान तरकारी खरिद गरेर राख्छु, साँझ सबै सुकेर जान्छ, व्यापार पनि छैन,’ अर्का तरकारी व्यवसायी हरिजन थारूले भने । देउखुरीमा एकाएक तापक्रम बढेर ४२ डिग्री हाराहारी पुगेको छ ।
गर्मी प्रचण्ड बढेपछि विद्यालय जाने बालबालिका र वृद्धवृद्धा वढी प्रभावित भएका छन् । गर्मीका कारण सुरुवा रोग, जन्डिस, टाइफाइड, झाडापखला र घाम विविरालगायतका समस्या देखिन थालेको प्राथमिक स्वास्थ्य केन्द्र लमहीले जनाएको छ ।
(तस्बिर गुगल)
प्रकाशित समय १३:३० बजे

















