गृहपृष्ठ बालकृष्ण ढुंगेल जेलमुक्तः डलरवादीले जेलमा सडाउन खाेजेकाे अाराेप

बालकृष्ण ढुंगेल जेलमुक्तः डलरवादीले जेलमा सडाउन खाेजेकाे अाराेप

काठमाडाैं- बालकृष्ण ढुंगेल जेलमुक्त भएका छन् । सर्वोच्चको आदेशले कर्तव्य ज्यान मुद्दामा ढुंगेल १४ कात्तिक ०७४ देखि जेल चलान भएका थिए । ढुंगेलले सोही मुद्दामा यसअघि सात वर्ष जेल सजाय बिताइसकेका छन् । उनी मंगलबार जेलमुक्त भएका हुन् ।

ढुंगेल ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यासम्बन्धी मुद्दामा कैद सजाय भोगिरहेका थिए । शुभचिन्तक र आफन्तले खादा लगाएर उनकाे  स्वागत गरेका छन् । उनको स्वागतको लागि देवी खड्का लगायत तत्कालीन  माओवादी नेताहरु कारागार पुगेका थिए ।

द्वन्द्वकालिन मुद्दामा जेल सजाय भोगिरहेका ढुंगेलले ४० प्रतिशत कैद अवधि भुक्तान गरेको आधारमा सजाय माफी पाएका छन् । उनी अरु ८१६ कैदीसँगै आजै छुटेकाे कारागार व्यवस्था विभागका प्रमुख हरि मैनालीले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचलित कामनुन बमोजिम असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका तेम्बा शेर्पा सहित ८१६ जना कैदीलाई माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषदको सिफिारिस बमोजिम एघारौं गणतन्त्र दिवसको उपलक्ष्यमा उनीहरुलाई संविधानको धारा २७६ बमोजिम माफी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जनाएका छन् ।

सजाय माफी पाउने ८१६ जनामा तत्कालिन माओवादीका नेता तथा पूर्वसभासद बालकृष्ण ढुंगेल पनि समावेश छन् । राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भने तेम्बा शेर्पासहित ८१६ जना भनिएको छ ।

कानुन अनुसार ४० प्रतिशत कैद अवधी पूरा भएका र असल चालचलन भएका कैदीलाई बाँकी कैदको सजाय माफी दिन सकिन्छ । सोही प्रक्रिया पूरा गरेर गृहमन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो ।

आइतवार साँझ बसेको बैठकले सजाय माफीको निर्णय राष्ट्रपति कार्यालयमा पठाएको थियो । अरु कैदी सरह वालकृष्ण ढुंगेलले पनि ४० प्रतिशत कैद अवधी भुक्तानी गरेका छन् ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेका ढुंगेलले द्वन्द्वकालमै ७ वर्ष जेल परेका थिए । शान्ति प्रक्रियापछि सर्वोच्च अदालतले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो ।

ढुंगेललाई माफी दिन लागिएको बिरोधमा सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई जारी छ । अदालतले सोमवारमात्र ढुंगेललाई माफी दिने निर्णयको सक्कल प्रति मागेको थियो । प्रक्रिया पूरा गरेका कैदीलाई गणतन्त्र दिवसका अवसरमा छाड्ने प्रचलन पुरानै हो । यसअघि राजतन्त्रको पालामा पनि यो प्रचलन थियो ।

कारागारबाट बाहिरीदै ढुंगेलले सर्वाेच्चमा मुद्दा हाल्ने वकिलकाे विराेध गरे ।आफूले सर्वोच्च अदालतको सम्मान गर्ने तर, आफूविरुद्ध परेको रिटमा लामो बहस गर्न जरुरी नभएको ढुंगेलको तर्क थियो ।  सञ्चारकर्मीहरुसँग कुरा गर्दै ढुंगेलले युद्धका बेला शान्ति र शान्तिमा युद्धको खेती गर्ने ‘डलरवादीहरु’ले आफूलाई जेलमा सडाउने षड्यन्त्र गरेको आरोप लगाए । उनले भने, ‘डलरवादीहरुको अभियानप्रति घृणा व्यक्त गर्छु ।’ 

प्रकाशित समय ०९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु