गृहपृष्ठ छाडा कुकुरको बन्ध्याकरण गर्दै तुलसीपुर नगरपालिका
छाडा कुकुरको बन्ध्याकरण गर्दै तुलसीपुर नगरपालिका
तुलसीपुर- दाङको तुलसीपुरमा झण्डै एक सय कुकुरको बन्ध्याकरण गरिएको छ । निःशुल्क कुकुरको बन्ध्याकरण शिविर संचालन गरेर ९६ वटा कुकुरको बन्ध्याकरण गरेको तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिका अन्तर्गत पशुसेवा शाखाले जनाएको छ ।
भुस्याहा कुकुर २५ र घरमा पालिएका ७१ वटा कुकुरको बन्ध्याकरण गरिएको पशुविकास अधिकृत सुदाम भट्टले बताए । बजारमा छाडा रुपमा हिड्ने कुकुरलाई कर्मचारी परिचालन गरि नियन्त्रणमा लिइ बन्ध्याकरण गरिएको हो ।
रेबिज रोग, सडक दुर्घटना लगाएत संभावित खतराबाट मानिस र वस्तुभाउलाई जोगाउन भुस्याहा कुकुर नियन्त्रण अभियान अन्तर्गत बन्ध्याकरण गरिएको आयोजकले जनाएकाे छ । तुलसीपुरमा बन्ध्याकरण गरिएको यो पहिलो पटक हो ।
‘भुस्याहा कुकुर समूह बनाएर हिड्ने, मान्छे र चल्ला कुखुरा र गाईबाख्रालाई टोक्दा, रेबिजको खतरा बढ्न थालेपछि सन्तान उत्पादनमा कमी ल्याउन विकल्प खोजेका हौं’, पशु विकास अधिकृत भट्टले भने ।
यसअघि स्टेकीङ सल्फेट विषादी प्रयोग गरेर शहरबजारमा भुस्याहा कुकुरलाई तत्कालिन स्थानीय निकायले मार्ने गरेका थिए । यसको पशुअधिकारकर्मीबाट चौतर्फी दबाब आउन थालेपछि कुकुर मार्न छोडिएको पशु प्राविधिक सुवास आचार्यले जानकारी दिए ।
तीन दिन सम्म संचालन भएको बन्ध्यकरण शिविरमा पशु चिकित्सक डा मनोज वलीको टोली खटेको थियो । बढीभन्दा बढी कुकुरको बन्ध्याकरण गर्न प्रचारप्रसारलाई तिब्र समेत पारिएको थियो । शिबिर २० जेठ देखि २२ गते सम्म संचालन भएको थियो ।
प्रकाशित समय ०९:४९ बजे

















