गृहपृष्ठ मायाकाे पढ्ने धाेकाे, दुर्इ छाेराछाेरीसँगै विद्यालय

मायाकाे पढ्ने धाेकाे, दुर्इ छाेराछाेरीसँगै विद्यालय

विद्यालय पाेसाकमा अाफ्ना छाेराछाेरीसंग माया ।

नेपालगन्ज- बाँके राप्ती सोनारी-८ बालापुरकी २२ वर्षिया माया विकले आफ्नो पढ्ने रहरलाई पुरा गर्न सहयोगी हातहरुको खोजिमा छन् । गाउँ कै विद्यालयमा कक्षा ६ मा अध्ययन गर्न सुरु गरेकी माया सोही विद्यालयमा अध्ययन गर्ने छोरा र छोरीसंगै विद्यालय जाने गरेकी छन् ।

विपन्न परिवारकी मायाले ३ वर्षको उमेरमा आमाबुवा गुमाएर साहारा विहीन भएकी हुन् । उनी विद्यालय जाने उमेरमा अर्कैको घरमा कमैया बसेर काम गर्दा गर्दै वितेको भए पनि अहिले भने उनी आफ्नो रहर पुरा गर्न विद्यालय भर्ना भएकी छन् ।

राप्ती सोनारी गाउँपालिकामा अध्ययन सहयोगको माग गर्दै माया विक ।

सानै उमेरमा विवाह बन्धनमा बाँधिएकी माया र उनका पति अम्बर विक बीच २ वर्षको फरक छ । १२–१३ वर्षमै घरजम सुरु गरेका उनीहरुका एक छोरा र छोरी छन् । ‘सम्पत्तिको नाउमा ऐलानी जमिनमा सानो छाप्रो छ । जेनतेन गुजारा चलेको छ’, फिस्स हाँस्दै उनले भनिन, ‘मेरो सानैदेखिको विद्यालय गएर पढ्ने रहर थियो विद्यालय जाने उमेरमा मलाई भाग्यले दिएन अहिले भने निर्धक्क विद्यालय जाने गरेकी छु ।’

मायाको साथमा उनका ७ वर्षिय छोरा शुवास विक कक्षा ३ र ४ वर्षकी छोरी श्रृष्टीले कक्षा १ मा जनशक्ति अधारभूत विद्यालय बालापुरमा अध्ययन गर्दै आएका छन् । घरमा भएका सबै विद्यालय जाने भएपछि गुजारा चलाउन पनि कठिन भएकोले गाउपालिकामा सहयोगको याचना गर्दै आएको बताईन ।

‘म विद्यालय जानको लागि विहान ४ बजे उठेर घरधन्धा गर्छु । विहान ७ बजे आमा छोराछोरी विद्यालय जान्छौ,’ उनले भनिन, ‘११ बजे फर्केर खाना खान्छौ, विद्यालयको गृहकार्य सकेर केही बेर सुस्ताउदै घरमा भएका बाख्रा चराउने र घरधन्धा गर्ने गरेकी छु ।’
उनका पति अम्बर विक साउदीमा बैदेशिक रोजगारमा छन् । ‘उहाँ गएको पनि १७ महिना भयो । उहाँ २०७३ फागुनमा जानुभयो म २०७४ बैशाखमा कक्षा ५ मा विद्यालय भर्ना भएकी हुँ,’ उनले भनिन, ‘ शुरुका दिनमा त उहाँले पनि स्कुल नजाउ सबैले जिस्काउँछन भन्नु हुन्थ्यो तर, अहिले भने राम्रोसंग पढ भन्नु हुन्छ ।’

उनले सुरुका दिनमा छोराछोरीसंगै विद्यालयको पोसाक लगाएर जाँदा ‘हेर मर्ने बेलामा हरियो काँक्रो’ भनेर जिस्काउथे तर अहिले भने अवस्था फेरीएको बताइन् । हिजो जिस्काउने, खिल्ली उडाउनेहरु आजकल राम्रो संग मेहनत गरेर पढ भन्ने गरेको उनले बताइन ।  गाउमै सञ्चालन भएको साक्षरता कक्षामा सहभागि भएकी मायाले एकैचोटी कक्षा ५ मा भर्ना भएर अध्ययन सुरु गरेकी हुन ।

‘छोरा छोरीलाई विद्यालय भर्ना गर्न जाँदा डराई डराई सरलाई सोधे सर म पनि विद्यालय भर्ना हुने भनेको पाउछु कि पाउदिन ? उनले विद्यालय भर्ना हुन जाँदाको अनुभव सुनाइन्, ‘सरले म तिर हेरेर सोध्नु भयो कति कक्षामा भर्ना हुने हो । मैले खै सर कहिल्यै विद्यालय आएकी छैन कतिमा भर्ना हुन पाउछु ? सरले सानो जाँच लिनु भयो अनि कक्षा पाँचमा भर्ना भएकी हुँ ।’

कक्षा पाँचको अन्तिम परीक्षामा दशौं स्थानमा पास भएकी मायाले अंग्रेजी र गणित अलि गह्रो भएको बताईन । उनले भनिन्, ‘जग नै नभएकोले होला अंग्रेजी र गणित भने गाह्रो लाग्छ अरु विषय भने सजिलै लाग्छ ।’ उनले आफु विद्यलाय जान थालेपछि सासुससुरा अलग भएर बसेको दुखेसो सुनाइन् । पढेपछि छोराछोरीलाई गृहकार्य गराउन पनि सजिलो, पढेपछि आफुलाई ज्ञान र मान दुबै हुने भएकोले विद्यालय जानलागेकोले गाउपालिकाबाट केही सहयोग पाईन्छकी भनेर आएको बताईन ।

यसैबीच राप्ती सोनारी गाउपालिकाका अध्यक्ष लाहुराम थारुले आफुले मायाको पठनपाठनको लागि गाउँपालिकाबाट सकेको मद्दत गर्ने आश्वासन दिए । उनले गुणस्तरीय शिक्षाको लागि सबैको सहयोग भएमा माया जस्ता पढ्छु भन्ने गृहणीहरुको लागि गाउपालिकाले उनीहरुको पढाईको व्यवस्था मिलाउने गरी तयारी हुँदै गरेको बताए ।

प्रकाशित समय ०९:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु