गृहपृष्ठ फेरि छाउगोठतिरै

फेरि छाउगोठतिरै

सरकारले महिला असुरक्षित हुन थालेको भन्दै सामाजिक कुरीतिका रुपमा रहेको छाउगोठ भत्काउने अभियानलाई तीव्रता दिए पनि महिनावारी भएका महिला भत्काइएका छाउगोठमै बस्ने गरेको पाइएको छ । महिनावारी भएका बेला घरभित्र सुते देउताले आँखा फुटाइदिने, लुतो लाग्ने जस्ता अन्धविश्वासमा गुज्रिरहेका महिला भत्काइएकै छाउगोठमा सुत्ने गरेका हुन् । कानुनको डरले उनीहरूले छाउगोठ पुनर्निर्माण गर्न भने सकेका छैनन् ।

सुदूरपश्चिमका विभिन्न जिल्लामा प्रहरी र जनप्रतिनिधिले केही अघि छाउगोठ भत्काएका थिए । छाउगोठका संरचना भत्काए पनि मनको छाउ गोठ नभत्किँदा महिनावारी भएका महिला पुनः छाउगोठमा बस्ने गरेका हुन् । महिनावारी भएका बेला छुट्टै घरमा बस्नुपर्छ, अलग्गै नबसे देउता रिसाउँछन् भन्ने मानसिकता उनीहरुको मनबाट हट्न सकेको छैन ।

सरकारले छाउगोठमा बस्ने र बस्न बाध्य बनाउनेलाई कारबाही गर्न सुरु गरेको छ । यहाँका महिलालाई न कानुनको डर छ न त स्थानीय प्रशासनकै मात्र उनीहरुको मनमा देउताको डर छ ।

अलग्गै छाउगोठमा बस्दा बलात्कार, महिला हिंसा, बाल मृत्युदर वृद्धि र रजश्वला भएकै कारण समाजबाट हेपिनुपरेकोलगायतका समस्या पहिल्याउँदै सरकारले छाउपडीमुक्त नेपाल घोषण गर्ने अभियानअन्तर्गत छाउगोठ भत्काएको थियो । कैलालीको गोदावरी नगरपालिका १०, ११ र १२ का महिला हिजोआज भत्किएकै छाउगोठमा बसेर छाउ बार्छन् । सदियौंदेखि पुर्खाहरुले मान्दै आएको पद्दति एकैपटक हटाउन नसकिने उनीहरुको तर्क छ । महिनावारी भएका बेला घरभित्रै बसे देउताले आँखा फुटाइदिने, शरीर पाक्ने जस्ता समस्या आउने स्थानीय महिला बताउँछन् ।

गोदावरी नगरपालिकाका १०, ११, १२ र टीकापुर नगरपालिको वडा नम्बर ८ मा समुदाय‑प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी र सामाजिक अभियन्तालगायतको सहभागितामा करिब २ सय छाउगोठ भत्काइएको थियो । तर, छाउगोठमा बसेकै कारण महिला हिंसा भएको भन्ने कुरामा सत्य नभएको महिला स्वयं बताउँछन् । समाजका अन्य विकृति रोक्नसके महिला हिंसा यसै कम हुने उनीहरुको भनाइ छ । जुवातास, जाँडरक्सी सेवनलगायतका कुरीति हटाएमात्रै महिला हिंसामा कमी आउने गोदावरी नगरपालिका १२ की पार्वती बडैलाले बताइन् ।

सुदूरपश्चिम प्रदेशको राजधानी तथा सुगम जिल्ला कैलालीमा समेत छाउगोठमा बस्ने महिलाको संख्या ठूलो छ । महिलामा रहेको अन्धविश्वास र अज्ञानताकै कारण यो समस्या निर्मूल पार्न चुनौती रहेको जनप्रतिनिधि बताउँछन् । छाउगोठ भत्काएर पनि गोठमै बसिरहेको पाइएकाले जनचेतनामूलक कार्यक्रम थाल्न लागिएको गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले बताइन् । चेतना अभिवृद्धि नगर्ने हो भने जनप्रतिनिधि, स्थानीय क्लब, समाजका अगुवा महिला, संघसंस्थाका प्रतिनिधि, विद्यालयका छात्रछात्रालगायतको सहभागितामा विगतमा भएको छाउगोठ भत्काउने काम निरर्थक सावित हुनेछ ।

प्रकाशित समय १५:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु