गृहपृष्ठ सडक दुर्घटनामा दैनिक ८ जनाको मृत्यु

सडक दुर्घटनामा दैनिक ८ जनाको मृत्यु

अर्थतन्त्रमै गम्भीर क्षति : विश्व बैंक

Accident_NewsKarobar

नेपालमा सडक दुर्घटनाका दैनिक औसत ८ जनाको मृत्यु हुने गरेको र ४० जना घाइते हुने गरेको पाइएको छ । सडक दुर्घटनामा परी मृत्यु हुनेमध्ये ४० प्रतिशत २६ वर्षभन्दा मुनिका युवा हुने गरेका छन् ।

बढ्दो सडक दुर्घटनाका युवाजनशक्तिको मृत्यु हुने र उनीहरू गम्भीर रूपमा घाइते भइ अशक्त हुने क्रम बढेसँगै यसले नेपालजस्ता मुलुकको आर्थिक वृद्धिदर र आय वृद्धिमै गम्भीर रूपमा असर पार्ने गरेको विश्व बैंकको एक अध्ययनले देखाएको छ ।

बैंकले दुर्घटनामा हुने मृत्युदरलाई ५० प्रतिशतले घटाउन सक्दा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ७ देखि २२ प्रतिशतले वृद्धि गर्न सकिने उल्लेख गरेको छ, यो विकासशील देशहरूमा २४ वर्ष समयावधिका आधारमा गरिएको विश्लेषण हो ।

आर्थिक वर्ष २०७१/७२ देखि नेपालमा सडक दुर्घटना परी मृत्यु हुनेहरूको संख्या व्यापक रूपमा बढ्न थालेको हो । विगत १५ वर्षमा सडक दुर्घटना दोब्बरले बढेको अध्ययनले देखाएको छ ।

नेपाल प्रहरीको ट्राफिक प्रहरी महाशाखाका विवरणअनुसार आव २०७०/७१ मा सडक दुर्घटनामा परी १ हजार ७८७ जनाले ज्यान गुमाएकोमा आव ०७१/७२ मा २ हजार ७०४ जना पुग्यो ।

गत आव ०७५/७६ मा दुर्घटनामा परेर २ हजार ७७९ जनाले ज्यान गुमाए भने ४ हजार ३७६ जना गम्भीर रुपमा घाइते भएका छन् ।

सडक दुर्घटनामा बढीमात्रामा पैदलयात्री, साइकल र मोटरसाइकल चालक पर्ने गरेको ट्राफिक प्रहरी महाशाखाको विवरणबाट देखिन्छ ।

‘यसरी हरेक वर्ष ट्राफिक दुर्घटना बढ्दै जानु र त्यसमा परी ठूलो संख्यामा युवा जनशक्तिले ज्यान गुमाउनु, घाइते हुनु गम्भीर चिन्ताको विषय हो,’ ट्राफिक प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले भने ।

कुल सडक दुर्घटनाका मृतकमध्ये करिब ७३ प्रतिशत १७ देखि ३५ वर्षबीचका हुने गरेका छन् भने दुर्घटना संलग्न सवारी चालकमध्ये २० देखि ४० उमेर समूहका ७५ प्रतिशत छन् ।

यो आर्थिक रुपमा सक्रिय जनशक्ति हो । विश्व बैंकले यस्तो जनशक्तिको क्षयले समग्र आर्थिक वृद्धिदरमा नै असर पार्ने ठहर गरेको छ ।

बैंकले शुक्रबार सार्वजनिक गरेको ‘दक्षिण एसियामा सडक सुरक्षाः साझा क्षेत्रीय पहलका अवसरहरू ’सम्बन्धी प्रतिवेदनमा नेपालमा सडक सुरक्षा स्थितिमा सुधार गरिँदा यसले राष्ट्रिय स्वास्थ्य, स्वास्थ्य जीवन र आर्थिक वृद्धिमा योगदान पुर्‍याउन सक्ने ठहर गरिएको छ ।

दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष हार्टविंग शेफरले भने, ‘दक्षिण एसियामा वर्षौंको द्रूत आर्थिक वृद्धिका कारण सवारी साधनको स्वामित्वमा भएको ठूलो वृद्धिले गर्दा ट्राफिक दुर्घटना हुने मृत्यु बढेको र यसले आर्थिक अवसरहरू गुमेका छन् ।’

सडक दुर्घटनाकै कारण नेपालजस्ता देशहरूमा कस्तो अनुपातमा आर्थिक क्षति भयो भन्ने स्पष्ट गणना नै हुन सकेको छैन । ‘मानवीय क्षति त्यसमा पनि क्रियाशील युवा शक्तिको क्षति हुँदा पर्ने असरको आर्थिक रूपमा अंकमा गणना गर्न सकिँदैन,’ ट्राफिक प्रहरी प्रवक्ता श्रेष्ठ भन्छन् ।

‘ऐतिहासिक रूपमा जब देशहरू प्रति एक हजार जनामा ५० देखि एक सय सवारी सवारीसाधनको अनुपातमा पुगे, त्योसँगै सडक दुर्घटना मृत्यु र घाइते हुने प्रमुख कारणहरू मध्ये एक बन्न पुग्यो,’ सडक सुरक्षा सुधार गर्ने कार्यलाई त्यसपछि राष्ट्रिय विकास प्राथमिकताका रूपमा मान्यता दिइयो।

विश्व बैंकका प्रमुख यातायात विशेषज्ञ अर्णव बण्ड्योपाध्यायले भनेका छन्, ‘दक्षिण एसियाली क्षेत्रमा सवारी साधनको स्वामित्वको दर गत दशकमा दोब्बर भएको छ र बढ्दो क्रममा छ ।’

नेपालमा हाल सवारी साधन स्वामित्व दर प्रति एकहजारमा ८१ जना छ, यो दक्षिण एसियाको मध्यम स्तर हो । श्रीलंकामा सर्वाधिक प्रतिहजारमा ३२७, त्यसपछि भारतमा १५९, भुटानमा १०९ र बंगलादेशमा १८ मात्र छ ।

विश्व बैंकले नेपालमा सडक दुर्घटनालाई ५० प्रतिशतले घटाउनका लागि र सडक सुरक्षामा वृद्धि गर्नका लागि आउँदो एक दशकमा १ खर्ब रुपैयाँबराबर (८७ करोड ९० लाख अमेरिकी डलर)को अतिरिक्त लगानी आवश्यकता पर्ने ठहर गरेको छ ।

‘दक्षिण एसियाको सडक सुरक्षा संकट अस्वीकार्य हो, तर यसलाई रोक्न सकिने अवस्था छ । शुभ समाचार के हो भने दक्षिण एसियाली सरकारहरूले आफ्ना जनताको रक्षा, जीवन सुरक्षा र उनीहरूके समृद्धिततिरको यात्रालाई कायम राख्नुपर्ने आवश्यकता बुझेका छन् । हामी विश्व बैंकबाट उनीहरूको प्रयासलाई सहयोग गर्न तयार छौैं,’ विश्व बैंकका उपाध्यक्ष शेफरले भनेका छन् ।

प्रतिवेदनमा सडक सुरक्षा बढाउनका लागि क्षेत्रीय साझेदारीको आवश्यकता औंल्याएको छ । प्रतिवेदनमा नेपाल, भारत, भुटान र बंगलादेशका नेपाल कथकतझ प्रणालीगत, लक्षित, र दिगो सडक सुरक्षा कार्यक्रमहरूमा लगानीको अभावको कारणले सडक दुर्घटनाको उच्च मृत्यु दरको विषय उठान गरिएको छ ।

प्रतिवेदनले क्षेत्रीय व्यापार करिडोरहरूमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ जहाँ सडकहरू असुरक्षित छन् । यी क्षेत्रीय कोरिडोरहरूमा सडक सुरक्षा सर्तहरूले राष्ट्रिय राजमार्गहरूमा व्याप्त अवस्था र प्रकृतिलाई दर्शाउँछ ।

अर्को अध्ययनले पनि सडक दुर्घटनाका मुख्य कारकमा बढ्दो जनघनत्वका अनुपातमा साँघुरा सडक तथा सडक सुरक्षासम्बन्धी मापदण्डहरूको पालनामा कमीलाई नै ठहर गरेको छ ।

प्रकाशित समय १६:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु