गृहपृष्ठ मृगतृष्णै बन्यो मेलम्ची, नआउने भयो तत्काल पानी

मृगतृष्णै बन्यो मेलम्ची, नआउने भयो तत्काल पानी

परियोजना अवलोकन गर्दै खानेपानीमन्त्री विना मगर । फाइल तस्बिर

तीन दशकदेखि चर्चामै रहेको मेलम्ची परियोजनाले फेरि आफ्नो यात्रा लम्ब्याएको छ । आयोेजना र मन्त्रालयले विगत केही वर्षयता कहिले दसैंमा त, कहिले वैशाखमा पानी धारामा खसाउने बाचा गर्दै आए पनि यसपटक पनि प्यास नमेटिने भएको छ ।

यही भदौमा मेलम्चीको पानी सुन्दरीजल पुर्‍याउने योजनाविपरीत खानेपानी मन्त्रालय, परियोजना र निर्माण कम्पनीले सुरुङ परीक्षण नै स्थगित गरेको छ । अस्थायी डाइभर्सनबाट सुरुङ परीक्षण गर्ने र परीक्षण सफल भएलगत्तै वितरण गर्ने भन्ने आयोजनाको योजना फेरि लम्बिएको हो ।

गत असार ३० गते मंगलबारका दिन सुरुङको अम्बाथानस्थित ‘फ्लसिङ गेट’ खुलेर पानी चुहावटको दर निरीक्षण गर्न गएका ४ जना बगाएपछि मेलम्चीको सम्पूर्ण कार्य रोकिएको हो । घटनामा एक जना इन्जिनियरको ज्यान गएको, एक जना बेपत्ता भएका थिए भने २ जनाको उद्धार गरिएको थियो ।

कसरी भयो घटना ?
मेलम्चीको सुरुङ परीक्षण गर्ने क्रममा गत असार ३० गते आयोजनाको मुहानस्थल हेलम्बु गाउँपालिका १, अम्बाथानस्थित १७ नम्बर गेट खुल्दा इन्जिनियर सतीशकुमार गोइतसहित अन्य चार जनालाई पानीले बगाएको थियो ।

घटनामा इन्जिनियर गोइतको ज्यान गयो । मेलम्चीको पानी चाँडै उपत्यकाबासीको धारामा पुर्‍याउने उद्देश्य राखेर गरिएको काम यो घटनाले अन्यौल भयो । घटनालगत्तै स्थगित गरिएको काम अहिले पनि सुरु भएको छैन ।

घटनामा पानीको भेलले बगाएका कारण सवारी चालक राधाकृष्ण थापामगर अझै बेपत्ता छन् भने घटनामा घाइते भएका इञ्जिनियर शेखर खनाल र प्राविधिक पेमादोर्जे तामाङको उपचार भइरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्थानीयको सहयोगमा सवारी चालक थापामगरको खोजी भइरहेको छ ।

कति समय लाग्छ ?
मेलम्ची खानेपानी परियोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार मेलम्चीको सुरुङमा भएको दुःखद घटनापछि अहिले परीक्षण कार्य रोकिएको छ । अब केही समयमा सबै निकायसँगको छलफलपछि काम सुरु हुने उनले बताए ।

‘भर्खरै त्यस्तो दुःखद घटना भयो । त्यसपछि तत्कालका लागि हामीले काम रोकेका छौँ । आयोजना समितिको बैठक बसेको छैन । बैठकमा यस्तो समस्या दोहोरिन नदिने गरी छलफल गरेर काम सुरु हुन्छ,’ प्रवक्ता पन्तले न्युज कारोबारसँग भने ।

तीन दशकदेखि बृहत् अन्तर-जलाधार परियोजनाको रुपमा विकास गरेको परियोजनामा पटक-पटक झुट बोलेको भन्दै खानेपानीमन्त्री बिना मगरकै आलोचना हुने गरेको छ ।

तीन दशकदेखि बृहत् अन्तर-जलाधार परियोजनाको रुपमा विकास गरेको परियोजनामा पटक-पटक झुट बोलेको भन्दै खानेपानीमन्त्री बिना मगरकै आलोचना हुने गरेको छ । उनको कार्यकालमा सबैभन्दा बढी पटक पानी पुर्‍याउने दाबी गरेको र नआएको भन्दै उनी विवादमा पर्दै आएकी हुन् । मन्त्री मगरले संसदमै पटक-पटक ठोकुवा गरेरै यो मितिमा आउने, त्यो मितिमा आउने भन्दै आएकी छन् ।

यो वर्षको पनि भदौमा काठमाडौंका धारमा पानी पुर्‍याउने अन्तिम मिति नै तोकेकी मन्त्री मगरको दाबी असफल भएको छ । कतिपयले त इन्जिनियरको ज्यान गएको घटनामा समेत मन्त्री मगरलाई दोषी देखाएका छन् । पूर्ण प्राविधिक परीक्षण, दोहोरो चेकजाँच नगरी हतार गर्दा कमजोर संरचनामा पानी पठाउँदा इन्जिनियरको ज्यान गएको धेरैको आरोप छ । त्यसपछि सुरुङ परीक्षणको कार्य पनि रोकिएको हो ।

सुरुङ परीक्षणका लागि अम्बाथानबाट काठमाडौंमा पानी ल्याउन निर्माणाधीन सुरुङ परीक्षण गर्न अस्थायी डाइभर्सनमार्फत असार दोस्रो सातामै पानी पठाएको थियो । करिब दुई महिनासम्म निरन्तर सुरुङमा पानी छोडेपछि मेलम्चीको पानी सुन्दरीजलमा निर्मित पानी प्रशोधन केन्द्रमा झार्ने योजना बनाइएको थियो ।

‘सुरुङको सफल परीक्षण भए र अन्य ठूलो प्राविधिक समस्या नआए भदौमा सुन्दरीजल पानी आउने र असोज दोस्रो साताबाट काठमाडौंबासीले मेलम्चीको पानी उपभोग गर्न पाउँछन्,’ मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेश खत्रीले दाबीका साथ भनेका थिए ।

अस्थायी संरचनाहरू निर्माणको काम पूरा भएकाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरुङमा असार २८ गते बिहान ९ः४५ बजेबाट प्रतिसेकेन्ड २६० लिटर पानी पथान्तरण गरिएको बेलामा एक्कासी असार ३० गते अप्रत्यासित घटना भएको हुँदा केही समयका लागि सुरुङ परीक्षणको काम रोकेको उनले बताए ।

परियोजनाको उद्देश्यअनुसार रिबर्मामा ‘हेडवर्क्स’ निर्माण गरी पहिलो चरणमा त्यहाँदेखि सुन्दरीजलसम्म २७ किलोमिटर लामो सुरुङमार्फत् दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकाभित्र ल्याउने योजना छ ।

कसरी हुन्छ सुरुङको परीक्षण ?
परीक्षणका लागि मेलम्ची खोलाबाट छाडिएको पानी अम्बाथानबाट ग्याल्थम, सिन्धु हुँदै २५.९१६ किलोमिटर लामो सुरुङमार्फत् सुन्दरीजल आइपुग्छ । गत असार दोस्रो साता छोडिएको पानी सुरुङको क्षमता प्रतिसेकेन्ड ६ हजार लिटरअनुसार २६० लिटर मात्रै छोडिएको थियो । त्यसैअनुसार सुरुङ भरिन झन्डै २० दिनसम्म लाग्ने बताइएको थियो ।

अस्थायी डाइभर्सनबाट खोलाको पानी सीधै पठाइने भएकाले बाढी र वर्षामा आपूर्ति नगरिने भन्दै सफा पानी मात्र पठाएको थियो । खोलाको पानी सिधै पठाउँदा बालुवा, माटो र ढुंगाले सुरुङ पुरिने भएपछि त्यसलाई सामान्य प्रशोधन गरेर मात्रै सुरुङमा पठाउनु पर्छ । ‘आयोजनाको सुरुङ परीक्षण सफल भएलगत्तै सुन्दरीजल प्रशोधन केन्द्रमार्फत काठमाडौंमा पानी वितरण सुरु हुने हो । तर, त्यो घटनाका कारणले भने कहिले काम सुरु हुन्छ, भन्ने बारेमा पनि केही भन्न सकिदैन,’ प्रवक्ता पन्तले भने ।

उनका अनुसार काम सुरुसँगै परीक्षण सफल भएपछि मेलम्चीको पानी सुन्दरीजलमा खस्नेबित्तिकै प्रशोधन केन्द्रमा हालिन्छ, फिल्टर भएपछि वितरण सुरु हुन्छ । अहिले स्थायी डाइभर्सन सुरुङको काम पनि ७० प्रतिशत मात्रै सम्पन्न भएको छ । प्रवक्ता पन्तका अनुसार आयोजनाको स्थायी डाइभर्सन सुरुङलगायत हेडवक्र्स निर्माण कामको प्रगति अहिलेसम्म करिब ७० प्रतिशत मात्रै छ ।

मेलम्ची खोला र त्यसको नजिकै निर्माण गरिरहेका मुख्य र स्थायी संरचना ‘हेडवर्क्स’ले १०.४८ वर्गमिटर क्षेत्रफल ओगट्छन् । यीमध्ये २११ मिटर लामो स्थायी डाइभर्सन सुरुङ मुख्य भएको उनले बताए ।

परियोजनाको प्रगति विवरण
मेलम्ची परियोजनाको काम अहिले ९७ प्रतिशत सम्पन्न भएको दाबी गरिएको छ । २९ वर्षे जवानी बिताएको मेलम्ची परियोजनामा अर्बौं खर्च भइसकेको छ । परियोजनाका अनुसार अहिलेसम्म २८ अर्ब ३० करोड खर्च भएको प्रारम्भिक अनुमान गरिएको मेलम्ची खानेपानी परियोजनाले जनाएको छ ।

लामो समयदेखि विभिन्न कम्पनीले काम गरिरहेको बेलामा पुरानो ठेकेदार कम्पनी इटालीको सीएमसी दि रेभन्लाले अधुरै काम छोडेपछि बाँकी काम चिनियाँ सिनोहाइड्रो कम्पनीलाई जिम्मेवारी दिइएको छ ।

कुल ३१ अर्ब ३६ करोड कुल लागत रहेको योजनाको निर्माणको जिम्मेवारी सिनोहाइड्रोलाई ०७६ असोजदेखि ०७७ पुससम्मका लागि दिएको हो ।

कुल ३१ अर्ब ३६ करोड कुल लागत रहेको योजनाको निर्माणको जिम्मेवारी सिनोहाइड्रोलाई ०७६ असोजदेखि ०७७ पुससम्मका लागि दिएको हो । कोभिड- १९ महामारी र लकडाउनका कारण यसमा केही अवधि थप हुनसक्ने आयोजनाका अधिकारीहरू बताउँछन् ।

काठमाडौंबासीलाई दैनिक ४३ करोड लिटर पानी पिलाउने भनेको आयोजनाले काम पूरा भएर वितरण गरे पनि पहिलो चरणमा चुहावट नियन्त्रण भन्दै दैनिक १० करोड ३० लाख लिटर वितरण गर्ने जनाएको छ । मेलम्ची आएपछि थप हुने१३ करोड ६० लाख लिटर पुर्‍याउने आयोजनाले जनाएको छ ।

मेलम्ची आइसकेपछि पनि दैनिक १९ करोड १० लाख लिटर दैनिक अपुग हुने देखिएको छ । मागअनुसार प्रतिव्यक्ति १०२ लिटर छ । मेलम्ची परियोजनाको पानी काठमाडौंमा पुगेपछि पहिलो चरणमा प्रतिव्यक्ति दैनिक २४ लिटर र मेलम्चीबाट ल्याउनुपर्ने पूरै पानी आएपछि प्रतिव्यक्ति ५६ लिटर उपलब्ध गराउने आयोजनाले जनाएको छ ।

प्रकाशित समय १८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु