गृहपृष्ठ वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा बजेट कार्यान्वयनमाथि छलफल
वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा बजेट कार्यान्वयनमाथि छलफल
उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट वक्तव्य, मौद्रिक नीतिमा उल्लिखित व्यवस्था कार्यान्वयनको तयारीलगायतका विषयमा छलफल गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा बसेको बैठकले घरेलु, साना तथा मझौला उद्यम एवं कोरोना प्रभावित पर्यटन व्यवसायमा श्रमिक–कर्मचारीको पारिश्रमिक भुक्तानी, व्यवसाय सञ्चालनका लागि खडा गरिने कोष, नेपाल राष्ट्र बैंकबाट सञ्चालनमा आउने पुनर्कर्जा कोषको व्यवस्थापन र सञ्चालन, लघु बिमा, कोरोनाभाइरस बिमालगायतका विषयमा छलफल भएको हो ।
समितिमा सरकारी ऋणपत्रको अभौतिकीकरण एवं दोस्रो बजार कारोबार तथा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज, सिडिएस एन्ड क्लियरिङको पुनःसंरचना, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि एवं हेजिङसम्बन्धी नियमावली संशोधनका विषयमा पनि छलफल भएको छ ।
नेसनल पेमेन्ट गेटवे सञ्चालनलगायतका विषयको यथाशीघ्र कार्यान्वयनका लागि सबै निकायले आ–आफ्नो जिम्मेवारीको कार्य सम्पन्न गरी अर्को बैठकमा प्रगतिसहित उपस्थित हुन अर्थमन्त्रीले निर्देशन दिएका छन् । सबै निकायले गत वर्षको समीक्षासहित चालू आवको सुरुवाती प्रगतिका बारेमा बैठकमा जानकारी गराएका थिए ।
बैठकमा गभर्नर, राजस्व सचिव, धितोपत्र बोर्डका अध्यक्ष, बिमा समितिका अध्यक्ष, नेपाल बैंकर्स संघका अध्यक्ष, सहकारी विभागका रजिस्ट्रार, कम्पनी रजिस्टार कार्यालयका रजिस्टारलगायतको उपस्थिति थियो ।
प्रकाशित समय १८:१८ बजे

















