गृहपृष्ठ आकासे पानीका भरमा प्यास बुझाउँदै ६ हजार परिवार

आकासे पानीका भरमा प्यास बुझाउँदै ६ हजार परिवार

डेढ लाख परिवारले पिउँछन् मुहान–इनारका पानी

Jaruwa Pani_NewsKarobar

सरकारले देशका ९० प्रतिशतभन्दा बढी जनसंख्यामा शुद्ध खानेपानीको पहुँच पुगेको दाबी गर्छ, तर सुन्दै आश्चर्य लाग्ला देशका ६ हजारभन्दा बढी घरपरिवारले अझै पनि आकासे पानीका भरमा आफ्नो प्यास बुझाउने गरेका छन् ।

दशकौंदेखि सरकार र विभिन्न दाताका सहयोगमा नेपालमा आमनागरिकहरूमा स्वच्छ खानेपानी सेवा पुर्‍याउने भनेर अर्बौंका आयोजनाहरू बने पनि अझैसम्म १२ प्रतिशतभन्दा अधिक नागरिकहरूले आधारभूतस्तरको खानेपानी सेवामा पहुँच नपाएको, पहुँच पाएका भनिएकामध्ये पनि ०.११ प्रतिशतले आकासे पानी उपयोग गर्ने गरेको अध्ययनले देखाएको छ ।

खानेपानी विभागले हालै सार्वजनिक गरेको ‘खानेपानी तथा सरसफाइको अवस्था चित्रण’सम्बन्धि प्रतिवेदनअनुसार सबै किसिमका सुधारिएको खानेपानीमा ८७.८८ प्रतिशत घरपरिवारको आधारभूत स्तरको खानेपानी प्रदान गर्ने प्रणालीको पहुँच पुगेको छ । अर्थात, साढे ६ लाखभन्दा अधिक घरपरिवारमा अझै पनि स्वच्छ खानेपानीका सेवा पुगेकै छैन ।

विभागले आर्थिक वर्ष २०७४/७५ को अन्तिमसम्मको तथ्यांक प्रयोग गरेर यो प्रतिवेदन तयार पारेका कारण पछिल्ला दुई वर्षमा खानेपानी पहुँच विस्तार भएको अनुमान छ । आर्थिक सर्वेक्षण २०७६ ले ९० प्रतिशत परिवारमा स्वच्छ खानेपानी सेवा पुगेको उल्लेख गरेको थियो ।

सरकारले सन् २०१९ भित्र सबैलाई आधारभूत स्तरको खानेपानी पुर्‍याउने लक्ष्य लिएको भए पनि दोस्रो पटक पनि यो लक्ष्य विफल भएको छ । यसअघि सन् २०१७ भित्र सबैलाई आधारभूत स्तरको खानेपानी पुर्‍याउने लक्ष्य राखेको थियो ।

सामान्यत न्यूनतम प्रतिव्यक्ति प्रतिदिन ४५ लिटर पानी उपलब्ध भएको हुनुपर्ने र कुनै पनि घरको लागि पानी लिन जानेदेखि पानी लिएर आउने समय ३० मिनेट वा सो भन्दा कम लागेको अवस्थालाई आधारभूत पानीको सुविधा पुगेको मानिएको छ ।

खानेपानी विभागले देशका ७७ वटै जिल्लामा रहेका खानेपानी कार्यालयहरूबाट सबै किसिमका खानेपानी सेवाका उपलब्धताबारे तथ्यांक संकलन गरी यो प्रतिवेदन तयार पारेकाले यसले वास्तविक अवस्था झल्काउँछ ।

विभागले प्रतिवेदन तयारीका लागि धारा (पाइप)बाट सेवा पाउने, ट्युबवेलबाट पानी खाने, सुरक्षित मुहान तथा ईनारहरुबाट पानी खाने र वर्षातको पानी संकलन गरी पानी खानेहरूको विवरण लिएको थियो ।

विभागका अनुसार नेपालका करिव ५१.६९ प्रतिशत परिवारले मात्र पाइप प्रणालीबाट वितरित खानेपानी सेवा उपभोग गरिरहेका छन् भने करिव ३३.३८ प्रतिशत परिवार स्यालो तथा डिप ट्युबवेलबाट प्राप्त खानेपानीमा आश्रित छन्।

यसैगरी, करिव २.७ प्रतिशत अर्थात डेढ लाख परिवारले केही न केही रुपमा सुधार गरी सुरक्षित बनाइएका प्राकृतिक मुहानहरुबाट प्राप्त खानेपानी प्रयोग गरिरहेका छन् भने करिब ०.११ प्रतिशत परिवार अर्थात ६ हजार परिवार आकाशे-पानी संकलन गरी खानेपानीको रुपमा प्रयोग गर्न बाध्य छन् ।

देशभर ४२ हजार खानेपानी आयोजना

सरकार आफैले बनाएका, दातृ निकायको सहयोगमा बनेका र समुदाय आफैले बनाएका गरी हाल देशमा ४२ हजार३९ वटा पाइप प्रणालीका खानेपानी आयोजना सञ्चालनमा रहेको विभागले जनाएके छ । यी खानेपानी आयोजनाले करिव २८ लाख ४२ हजार परिवारमा निजी तथा सार्वजनिक धाराको माध्य बाट खानेपानी सेवा प्रदान गरिरहेको विभागको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी देशका करिव १८ लाख परिवारले न्यूनतम ३० फि देखि १०० फिट सम्मको गहिराइमा गाडिएका हाते चापाकल अर्थात स्यालो ट्युबवेलदेखि ३०० फिटसम्म गहिरो गाडिएका डिप ड्युबवेलमार्फत खानेपानी उपभोग गरिरहेका छन् ।

अध्ययनअनुसार नेपालका करिव डेढ लाख परिवारले छोपिएका ईनार, संरक्षण गरिएका कुवा, पँधेराजस्ता परम्परागत पानीका मुहानबाट खानेपानी उपभोग गर्ने गरेका छन् ।

अध्ययनअनुसार प्रदेश नं २ मा १०.४६ प्रतिशत परिवारमा मात्र पाइप प्रणालीको खानेपानी पुगेको छ, त्यहाँका ७६.९१ प्रतिशत परिवारले स्यालो ट्युववेल प्रयोग गरि भूमिगत स्रोतको पानी उपयोग गर्ने गरेका छन् ।

पाइप प्रणालीको पानी सबैभन्दा बढी गण्डकी प्रदेशमा पहुँच पुगेको छ, त्यहाँका ८४.२३ प्रतिशत परिवारले यो प्रणालीबाट खानेपानी सेवा लिइरहेका प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित समय १६:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु