गृहपृष्ठ बिजुली बेच्न नसके १० खर्ब जोखिममा पर्छ : इप्पान उपाध्यक्ष
बिजुली बेच्न नसके १० खर्ब जोखिममा पर्छ : इप्पान उपाध्यक्ष
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का उपाध्यक्ष आशिष गर्गले बिजुली बेच्न नसके १० खर्ब रुपैयाँ जोखिममा पर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार आयोजना गरेको सेजन अर्थनीति बहस अन्तर्गत आयोजित ऊर्जा व्यापारसम्बन्धी कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।
हाल १३ सय ६० मेगावाट रहेको नेपालको विद्युत उत्पादन क्षमता आगामी तीन वर्षभित्र ६ हजार मेगावाट पुग्ने बताउँदै उत्पादन बढे पनि खपत नबढ्दा बिजुली खेर गएर १० खर्ब लगानी जोखिममा पर्ने र माग भने तत्काल बढ्न नसक्ने अवस्था रहेको उनको भनाइ छ । ‘अहिलेको विद्युत खपतको अवस्था र तत्काल धेरै विद्युत खपत गर्ने गरी औद्योगीकरण नहुने अवस्थाले अबको तीन वर्षमा विद्युत माग १७/१८ सय मेगावाटभन्दा बढी पुग्ने अवस्था छैन,’ उनले भने, ‘अहिलेको अवस्थाले चालू वर्षमा १ हजार, अर्को वर्ष २ हजार र तेस्रो वर्ष कम्तीमा एक हजार पाँच सय मेगावाटभन्दा बढी गरी तीन वर्षभित्र करिब ४५ सय मेगावाटबराबर उत्पादन बढ्ने अवस्था छ, त्यो अवस्थामा बिजुली बेच्न नसके चार हजार मेगावाट विद्युत खेर जान्छ ।’ गत चैतमा रातिको समयमा दुई सय मेगावाट विद्युत खेर गएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको उनले बताए । विद्युत खेर जाँदा ऋण लगानी गर्ने बैँक, स्वँपुजी लगानी गर्ने लगानीकर्ता र सेयर लगानी गर्ने सेयरकर्ताको पैसा डुब्ने उपाध्यक्ष गर्गको तर्क छ ।
चीनसँग अन्तरदेशीय प्रसारणलाइन निर्माण प्रक्रिया अघि बढे पनि निर्माण हुन पाँच वर्ष कम्तीमा लाग्ने तथा बनेपछि पनि पाँच सय किलोमिटरभन्दा बढीको प्रसारणलाइनमा बिजुली लैजानुपर्ने भएकाले विद्युत व्यापार कठिन रहेको उनले बताए । बंगलादेशमा बिक्री गर्न पनि २३ किलोमिटर भारतीय भूमि प्रयोग गर्नुपर्ने कारण भारत अहिलेका लागि नेपालको बिजुलीको मुख्य बजार रहेको उनको भनाइ छ ।
‘अमेरिकी अनुदानको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे विवाद रहेकाले बुटबल–गोरखपुर समयमै बन्नेमा समस्या देखिएको छ,’ उनले भने, ‘यसलाई राजनीतिको रुपमा लिनुभन्दा समयमै निर्माण गरेर बिजुली व्यापारका लागि पूर्वाधारको सुनिश्चितता गर्न जरुरी छ ।’
प्रकाशित समय १६:०९ बजे

















