गृहपृष्ठ विश्व ठप्प पार्ने कोरोनाभाइरसको एक वर्ष पूरा
विश्व ठप्प पार्ने कोरोनाभाइरसको एक वर्ष पूरा
चीनको वुहानबाट कोरोनाभाइरस देखापरेको आज एक वर्ष भएको छ । गत वर्ष डिसेम्बर ३१ तारिखका दिन देखापरेको भाइरसलाई ‘निमोनियाको रहस्यमय नयाँ किसिम’ भनिएको थियो । पछि वैज्ञानिकहरुले विभिन्न अध्ययन गरेर यसलाई कोरोनाभाइरस डिजिज २०१९ (कोभिड-१९) नाम दिए ।
वुहानमा फेलापरेको यो भाइरसबाट सुरुमा चीनमात्र प्रभावित भए पनि केही महिनापछि पूरै विश्व आक्रान्त बन्यो । विश्वकै शक्तिशाली देश अमेरिकादेखि युरोपका विकसित देशहरुसमेत कोरोनाको चपेटामा परे । चीन सामान्य जीवनमा फर्किएको महिनौँ बितिसक्दा कतिपय देशहरु भने अझै मेलोमेसोविहीन अवस्थामा छन् ।
कोरोनाको एक वर्ष पूरा हुँदै गर्दा विश्वमा ८ करोड ३० लाख ६८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने १८ लाख १२ हजारको ज्यान गइसकेको छ । भाइरसबाट संक्रमित भएकामध्ये ५ करोड ८८ लाख ६९ हजारले स्वास्थ्यलाभ गरेका छन् । अझै पनि २ करोड २३ लाख ८८ हजार मानिस अझै कोरोनासँग लडिरहेका छन् ।
एक वर्ष पूरा हुँदै गर्दा कोरोनाभाइरस नियन्त्रणमा आउने छाँटकाँट देखिएको छैन । अझ बेलायतलगायतका देशमा कोरोनाभाइरस नयाँ स्वरुपमा देखा पर्न थालेको छ । केही देशले कोरोनाभाइरसविरुद्धको खोप पत्ता लगाइसके पनि खोप रोग नियन्त्रणका लागि तत्कालको अचुक उपाय होइन । त्यसमाथि हरेक देशका हरेक मानिससम्म पुर्याउनुपर्ने चुनौतीका बीच खोपको अनुसन्धान र उत्पादन कति प्रभावकारी होला र यसले कति अवधि लिन्छ ? त्यसले पनि रोग नियन्त्रणको अवधि निर्धारण गर्छ । विश्व स्वास्थ्य संगठनलगायत यही क्षेत्रमा कार्यरत वैज्ञानिकहरुले सबै मानिससम्म खोप पुग्न सन् २०२२ सम्म कुनुपर्ने बताइरहेका छन् ।
एक वर्ष बित्दै गर्दा पनि भाइरसको दबाब कत्ति कम भएको छैन, बरु बढेर गएको छ । दैनिक लाखौँ संक्रमित थपिइरहेका छन् भने मृतकको संख्या पनि उच्च दरले बढिरहेको छ । बितेका २४ घण्टामा मात्रै विश्वभर ७ लाख १९ हजार संक्रमित भए भने १४ हजार ८०४ जनाले ज्यान गुमाएका छन् ।
कोरोनाभाइरसले विश्वलाई आक्रान्त पारेको एक वर्ष पूरा हुँदै गर्दा मानवीय क्षतिमात्र होइन, अर्थतन्त्र, पर्यटन, रोजगारलगायतका क्षेत्रमा समेत ठूलो धक्का पुगेको छ । छोटो समयमै विश्वका २१८ भन्दा बढी देश र क्षेत्रहरुमा फेलिएको कोरोनाभाइरसबाट विश्व उठ्न सकेको छैन । विश्व अर्थतन्त्रले खर्बौं डलरको क्षति व्यहोरिसकेको छ । उद्योग व्यवसाय, पर्यटन क्षेत्र तहसनहस भएका छन् । पर्यटन आयमा आश्रित माल्दिभ्सलगायतका देशहरुको अर्थतन्त्र रसातलमा भासिएको छ ।
कोरोनाले थला परेका मुलुक विस्तारै पुरानो अवस्थामा फर्कन खोजिरहे पनि सफल हुन सकिरहेका छैनन् । केही देशमा लकडाउन खुलाइए पनि केही देखि अझै लकडाउनकै स्थितिमा छन् । कतिपय देशमा दोस्रो र तेस्रो चरणको लकडाउन भइरहेको छ ।
भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म ३ लाख ५० हजारले ज्यान गुमाएका छन् भने २ करोड २ लाख ६९ हजार मानिस संक्रमित भइसकेका छन् । त्यस्तै छिमेकी देश भारतमा संक्रमितको संख्या १ करोड २ लाख ७२ हजार पुगेको छ भने १ लाख ४८ हजार ७७४ जनाले ज्यान गुमाएका छन् ।
कोरोनाभाइरसबाट नेपाल पनि अछुतो रहन सक्ने कुरै भएन । कोरोनाबाट नेपालमा हालसम्म १ हजार ८४७ जनाको मृत्यु भएको छ भने बिहीबारसम्ममा २ लाख ६० हजार ६९ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये २ लाख ५१ हजार ९१२ जना निको भएका छन् ।
नेपालमा कोरोना संक्रमण दर ओरालो लाग्ने क्रममा छ तर जोखिम भने कम नभएको जनस्वास्थ्यविदहरुले बताउँदै आएका छन् । भाइरस नियन्त्रणका लागि गरिएको लामो समयको लकडाउनले नेपालमा उद्योग, व्यवसाय, पर्यटन, विद्यालय क्षेत्रलगायतका क्षेत्र बढी प्रभावित भएका छन् । नेपालमा लकडाउन हटेसँगै साना व्यापार व्यवसायदेखि उद्योगधन्दा र वित्तीय क्षेत्र विस्तारै लयमा फर्किन थालेका छन् । करिब ६ महिना ठप्प बनेको बैँकिङ क्षेत्रको कर्जा प्रवाह बढ्न थालेको छ ।
दसैँतिहारदेखि मानिसहरु बेपर्वाह बाहिर निस्किन थालेका छन् । फरक यति छ, विगतमा मानिस मुख खुला गरेर हिँड्थे, अहिले हरेकका मुखमा मास्कको मुखुण्डो लागेको छ । एक वर्षको त्रासदीपूर्ण अवस्थाले मास्क हरेक मानिसका लागि अभिन्न अंगझैँ बनेको छ ।
प्रकाशित समय १५:४६ बजे

















