गृहपृष्ठ अख्तियारद्वारा पप्पु कन्सट्रक्सनमाथि भ्रष्टाचार मुद्दा दायर
अख्तियारद्वारा पप्पु कन्सट्रक्सनमाथि भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेकुमा निर्माणाधीन पुल गुणस्तरहीन निर्माण गरेेेेको भन्द पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रौनियार र उनका चिनियाँ साझेदार झेङ जुनयानसहित तत्कालीन आयोजना प्रमुखमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
टेकु पुलमा निर्माणाधीन पुल सम्झौता बमोजिमको सर्त/मापदण्ड, स्वीकृत डिजाइन तथा स्पेसिफिकेसन बमोजिम निर्माण नभएको उजुरीमा निर्माण ठेक्का लिने जेइआईसी पप्पु जेभीका अख्तियार प्राप्त र रौनियार र उनका चिनियाँ साझेदारसहित तत्कालीन आयोजना प्रमुखमाथि विशेष अदालतमा आरोपपत्र दायर दायर गरेको हो ।
पप्पुको संयुक्त ठेक्का कम्पनी झोङडिङ इन्टरनेसल इन्जिनियरिङ को. लि (जेइआईसी)का प्रतिनिधि झेङ जुनयान र ठेक्काको अख्तियारनामा प्राप्त सुमित रौनियारसमेतले ठेक्का म्याद थप माग गर्दा कार्य सम्पादन जमानत नवीकरण गरी नल्याई कार्यसम्पादन जमानत फुकुवा गरेको अभियोग अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार तत्कालीन आयोजना कार्यान्वयन ईकाइका निमित्त आयोजना प्रमुख बेलबहादुर नेपालीले उक्त ठेक्काअन्तर्गतको कार्यसम्पादन जमानत नवीकरण नगरी म्याद सकिसकेको अवस्थामा समेत आयोजना इकाइको तर्फबाट निमित्त आयोजना प्रमुख आफूले नै टिप्पणी उठाई ठेक्काको तेस्रो चोटीको लागि म्याद थप सिफारिस गरेका थिए ।
अख्तियारले आयोजना प्रमुख नेपाली, आयोजनाका तत्कालीन लेखा अधिकृत नारायणबहादुर थापा र तत्कालीन लेखा अधिकृत श्यामबहादुर खत्री, तत्कालीन लेखापाल गिरीप्रसाद श्रेष्ठमाथि गलत टिप्पणी उठाई सिफारिस गरेको देखिएको भन्दै प्रत्येकलाइ १ करोड १४ लाख ७६ हजार रूपैयाँको बिगो राखेर मुद्दा दायर गरेको छ ।
असईमाथि पनि मुद्दा
अख्तियारले बिहीबार नै प्रहरी चौकी तिलाठी, सप्तरीमा कार्यरत प्रहरी नायब निरीक्षक (असई) सिकन्दरप्रसाद कानुमाथि पनि विशेष अदालतमा भ्रष्टाचारमा अभियोगपत्र दायर गरेको छ ।
असई कानुले पक्राउ गरी चौकीमा राखेको मोटरसाइकल फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग ५० हजार रूपैयाँ घुस रकमको रकम लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।
कानुमाथि ५० हजार रूपैयाँबराबरको बिगो माग दाबी गरिएको छ ।
खेलकूदमा पनि १५ हजार घुस
यसैगरी, अख्तियारले बिहीबार नै काठमाडौं जिल्ला खेलकुद विकास समिति सानोगौचरण, काठमाडौंका सहायक द्वितीय तिलकप्रसाद घिमिरेमाथि पनि भ्रष्टाचार अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
घिमिरेले क्लबको प्रमाणपत्र नवीकरण गर्नको लागि सेवाग्राहीसँग १५ हजार रूपैयाँ अतिरिक्त रकम/अख्तियारको टोलीले पक्राउ गरेको जनाइएको छ ।
आरोपीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
प्रकाशित समय १६:०८ बजे

















