गृहपृष्ठ ‘नेपालमा पुरुष नर्स पनि आवश्यक’
‘नेपालमा पुरुष नर्स पनि आवश्यक’
पुरुष नर्स रत्न गुरागाईंलाई पुनः पुरुषलाई पनि नर्सको रुपमा समावेश गर्ने विषयले खुशी बनाएको छ । ‘देशलाई पुरुष नर्स पनि आवश्यक छ’ गुरागाईं भन्छन् ।
वि.सं. २०४३ मा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा नेपालमा पहिलो ब्याचका रुपमा पुरुषले नर्सिङ पढेका थिए । गुरागाईं सोही ब्याजका पुरुष नर्स हुन् ।
‘यो बन्द गर्नै हुँदैन्थ्यो, फेरि शुरु हुनु सकारात्मक विषय हो’ उनले भने, ‘नर्सिङ पढ्न धेरै पुरुष इच्छुक पनि छन् ।’ वीर अस्पतालमा बीस वर्षे लामो सेवा गरी सेवानिवृत्त भई हाल हेटौंडास्थित नारायणी मेडिकल एण्ड टेक्नोलोजीका प्रधानाध्यापक गुरागाईंले नीति निर्माण तहमा पनि महिला पुरुष भए अघि बढ्न बल पुग्ने बताउँछन् ।
पुरुष बिरामीको हेरचाह, दुर्गम जिल्लामा पुरुष नर्सलाई खटाउन सकिने उनको भनाई छ । ‘पुरुष नर्स हुँदा सामाजिक सुरक्षा मजबुत हुने र पेशालाई माथि उकास्न सहज हुन्छ’ उनी भन्छन् ।
लामो समयदेखि पुरुषले नर्सिङ पढ्न पाउनुपर्ने आवाजको अन्ततः सम्बोधन भएको छ । नेपाल नर्सिङ परिषद्ले पुरुषलाई पनि नर्सिङ पढ्न पाउने निर्णन गरेपछि पुरुषहरुका लागि पनि नर्स बन्ने बाटो खुला भएको हो ।
नेपाल नर्सिङ परिषद्का अध्यक्ष प्रा. गोमादेवी निरौलाले चारैतिरबाट माग भएपछि आवश्यकता महसुस गरी सो निर्णय गरेको बताइन् । विश्वविद्यालय, प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गतका नर्सिङ शैक्षिक संस्थालाई निर्णय कार्यान्वयन गर्न परिषद्ले सूचना जारी गरिसकेको अध्यक्ष निरौलाले जानकारी दिइन् ।
निरौलाले शैक्षिक सत्र २०७५/७६ देखि लागू हुने गरी १५ प्रतिशत पुरुषलाई नर्सिङ अध्ययनमा समावेश गराउने निर्णय गरेको बताइन् । नेपाल नर्सिङ संघले नर्सिङ अध्ययनमा पुरुषलाई कोटा दिनुपर्ने माग राख्दै नेपाल नर्सिङ परिषद्लाई पत्र समेत पठाएको थियो ।
नेपाल नर्सिङ संघकी महासचिव लक्ष्मी केसीले विदेशमा पुरुष नर्स उत्पादन भई काम गरिरहेकाले नेपालमा पनि पुरुष नर्सको आवश्यकता खड्किएको बताइन् । ‘लैङ्गिक समानताका लागि पनि नेपालमा पुरुष नर्स चाहिन्छ भनेर हामी पहिलेदेखि आवाज उठाउँदै आएका थियौँ’ केसीले भनिन् । जनशक्ति उत्पादन गर्न संघमार्फत नर्सिङ परिषद्लाई पत्र पठाएका थियौँ ।’ अब नर्स भन्ने वित्तिकै महिला मात्र हुन्छन् भन्ने मानसिकता परिवर्तन हुने उनको विश्वास छ ।
परिषदमा नेपाल र भारतमा अध्ययन गरेका १ सय ५ जना पुरुष नर्स परिषदमा दर्ता भएका छन् । अब निर्णय कार्यान्वयन भएमा वार्षिक १ सय २५ कलेजबाट १५ प्रतिशत पुरुष नर्स उत्पादन हुँदा वर्षमा एक हजार १ सय ५५ पुरुष नर्स उत्पादन हुने अनुमान गरिएको छ । वार्षिक १ सय २५ भन्दा बढी नर्सिङ कलेजबाट सात हजार ७ सय ४० जना नयाँ महिला नर्स उत्पादन हँुदै आएका छन् ।
२०४६ मा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) मा पुरुष नर्सको पढाइ शुरु भएको थियो । ‘चौथो ब्याच’सम्म मात्र अध्ययन भएको त्यो समयमा ८० जना पुरुष नर्स जनशक्ति उत्पादन भएका थिए । पछि पुरुषका लागि नर्सिङ पढ्ने अवसर बन्द भयो ।
नेपाल नर्सिङ परिषदमा ८१ हजार ९० नर्स दर्ता छन् । जसमा स्टार्फ नर्स ४९ हजार ३४, अनमी ३१ हजार २ सय २१ र विदेशी नर्स ८ सय ३५ दर्ता छन् । दर्ता भई वर्सेनी लाइसेन्स दर्ता नवीकरण भने १३ हजार ८ सय ३६ स्टार्फ नर्स र तीन हजार ६ सय ३४ अनमीले मात्र गराएको परिषदको तथ्यांक छ ।
(कल्पना पौडेल/रासस)
प्रकाशित समय १५:११ बजे

















