गृहपृष्ठ एसईई नतिजा प्रकाशनमा लापर्बाही गरेको भन्दै चर्को विरोध
एसईई नतिजा प्रकाशनमा लापर्बाही गरेको भन्दै चर्को विरोध

राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको २०७४ को एसईई नतिजाको शिक्षासम्बद्ध संघ–संस्थाले चर्को विरोध गरेका छन् । राजधानीमा सोमबार आयोजित कार्यक्रम प्याप्सन, एनप्याप्सन, हिसानलगायतले बोर्डले कलिला नानीबाबुहरुको भाग्य र भविष्यमाथि अन्याय गरेको भन्दै आपत्ति जनाए ।
एसईई लेटर ग्रेडिङ प्रणाली विश्वभरका सबै विद्यालय र विश्वविद्यालयले अंगीकार गरेको उत्तम प्रणाली भए पनि नेपालको सन्दर्भमा सरकारले प्रयोग गर्नै नजानेको प्याब्सनका महासचिव राजेद्र बानियाँले बताए । ‘चौध हजारभन्दा बढी विद्यार्थीको रिजल्ट आएको छैन,’ उनले प्रश्न गरे, ‘कम जीपीए आएका कारण परिवारका सदस्यले दिएको तनाव सहन नसकेर विद्यार्थीले आत्महत्या गर्नुपर्नेसम्मका अवस्था सिर्जना भए ।’
कार्यक्रममा हिसानका अध्यक्ष रमेश रिजालले परीक्षा बोर्डले दिनैपिच्छे रिजल्ट सच्याउँदै प्रकाशन गर्न नमिल्ने बताए । ‘दिनैपिच्छे फरक–फरक नतिजा आउँछ, आधिकारिक केलाई मान्ने हो ?’ उनले प्रश्न गरे, ‘यस्ता विषयमा सरकार गम्भीर हुनु पर्दैन ?’ ‘छिमेकी देश चीनमा माग्नेहरु हाइटेक भइसके तर हामी शिक्षा जस्तो क्षेत्रमा हेलचेक्र्याइँ गरिरहेका छौं,’ उनले थपे ।
शनिबार एसईईको नतिजा गलत प्रकाशन गरेको परीक्षा बोर्डले आइतबार पुनः सच्याएर पठाएको थियो । यति गम्भीर विषयमा सामान्य प्राविधिक कारणले नतिजा गलत प्रिन्ट भएको भन्दै बोर्ड पन्छिरहेको छ ।
छानबिन समिति गठन
एसईईको नतिजा प्रकाशनमा भएको त्रुटीको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन सरकारले छानबिन समिति गठन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा. तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
समितिमा शिक्षा मन्त्रालयका कानुन तथा फैसला कार्यान्वयन शाखाका उपसचिव शम्भुराज रेग्मी र उपसचिव दिनेश खनाल सदस्य छन् । नतिजा प्रकाशनमा गम्भीर लापर्बाही भएको खबर पाएपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आकस्मिक बैठक बोलाई समिति गठन गरेका हुन् । समितिले पाँच दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्नेछ ।
प्रकाशित समय २१:२२ बजे