गृहपृष्ठ गंगामायाको स्वास्थ्य अवस्था नाजुक
गंगामायाको स्वास्थ्य अवस्था नाजुक
फाइल तस्बिर
छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै अनसनमा रहेकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उनको उपचार वीर अस्पतालको आईसीयू कक्षमा भइरहेको छ ।
‘बिहीबारदेखि वीर अस्पतालको आईसीयू कक्षमा राखे उपचार गरिरहेका छौं, उहाँको अवस्था गम्भीर छ,’ वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले न्युज कारोबारलाई भने, ‘आईसीयूमा राखेदेखि अवस्था स्थिर छ, तर अबको स्थिति एकदमै जटिल छ ।’
एक दशकदेखि न्यायका लागि लडिरहेकी गंगामाया वर्षौंदेखि अनसनरत छिन् । न्यायका लागि लड्दा–लड्दै श्रीमान नन्दप्रसादको निधन भइसकेको छ ।
मानवअधिकार आयोगको चासो
राष्ट्रिय मानवअधिकार आयोगले अनसनमा रहेकी गंगामायाको जीवन रक्षाका लागि संवेदनशील हुन सरकारलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीद्वारा जारी विज्ञप्तिमा ३० दिनदेखि आमरण अनसनमा बसेकी अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बन्दै गएको भन्दै जीवनरक्षाका लागि आग्रह गरिएको छ ।
मानवअधिकार रक्षाका लागि आयोगले गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग छलफलसमेत गरेको छ । गृहसचिव र प्रहरी महानिरीक्षकले सर्वोच्चको आदेशको कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै रेडकर्नर नोटिस जारी भएको व्यक्तिलाई नेपाल ल्याउन गरिएको प्रयास र विधिको शासन कायम राखी दण्डहीनता अन्त्य गर्ने प्रतिबद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ ।
गंगामायालाई बचाऊ : राष्ट्रसंघ
नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय संयोजक भेलरी जुलियान्डले पनि गंगामाया अधिकारीको स्वास्थ्यका लागि चिन्ता व्यक्त गरेकी छन् । संयोजक जुलियान्डले बिहीबार विज्ञप्ति जारी गरी गंगामायाको जीवन रक्षाका लागि सबैसँगै आग्रह गरेकी हुन् ।
प्रकाशित समय १३:५९ बजे

















