गृहपृष्ठ नक्कली हतियार देखाएर लुटपाट गर्ने गिरोह पक्राउ
नक्कली हतियार देखाएर लुटपाट गर्ने गिरोह पक्राउ
नक्कली हतियार देखाएर लागु औषधको कारोबार गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विगत लामो समयदेखि नक्कली हतियार देखाएर मानिसलाई तर्साउने र लागु औषधको कारोबार गर्ने गरेको उजुरी नयाँ बारेश्वर प्रहरी बृत्तमा पुगेपछि प्रहरीले शंकास्पद स्थानमा छापा मारेको थियो । त्यसक्रममा २३ वर्षिय डेनिस राई तथा २७ वर्षिय प्रज्ञा राईलाई सामाखुशीस्थित उनीहरुकै डेराबाट नियन्त्रणमा लिएको महानगरिय प्रहरी परिसर टेकुका प्रवक्ता मोहनकुमार थापाले जानकारी दिए ।
शुक्रबार साँझ नियन्त्रणमा लिइएका उनीहरुलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । उनीहरुको साथबाट प्रहरीले डाईजेपाम, फेनारगन र ब्युप्रिनोफिन जस्ता लागु औषध फेला पारेको छ । प्रहरीले गिरोहमा आबद्ध अरु ब्यक्तिको संलग्नताबारे अनु्सन्धान गर्दा सुवास गुरुङ पनि पक्राउ परेका छन् । लागु औषध कारोबारमा उनीहरुका साथै गुरुङको पनि संलग्नता देखिएपछि नियन्त्रणमा लिइएको प्रवक्ता थापाले जानकारी दिए ।
प्रहरीले गुरुङलाई बालाजुबाट नियन्त्रणमा लिएको हो । गुरुङको डेरामा तलासी लिँदा विभिन्न अपराधमा प्रमाण लाग्ने लागु औषध डाईजेपाम ११ थान, फेनारगन ११ थान र ब्युप्रिनोफिन ११ थान बरामद भएको छ । साथै प्लाष्टिकको सर्टगन १ थान, प्लाष्टिक र काठबाट निर्मित १२ बोर १ थान, प्लाष्टिकको पेस्तोल १ थान, विभिन्न मोडेलका फलामको चक्कुहरु ७ थान, नाइनस्टिक १ थान, पेचकस समेत भएको हम्मर १ थान र मोवाईल ३ थान बरमद भएको प्रहरीले जनाएको छ ।
नक्कली पेस्तोल देखाएर तर्साउदै व्यवसायीबाट फिरौती असुल्न समेत यो गिरोह संलग्न रहेको हुन सक्ने भन्दै प्रहरीले यस घटनाको सुक्ष्म अध्ययन गर्ने जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई हाल महानगरिय प्रहरी बृत्त नयाँ बानेश्वरको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय १३:५७ बजे

















