गृहपृष्ठ इपिजीको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

इपिजीको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

nepali-congress-www.newskarobar.com

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल र भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)को साझा प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । दुई देशकाबीचका सन्धी सम्झौताको समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध समूहको नवौं बैठकले साझा प्रतिवेदन तयार गरेको हो ।

प्रबुद्ध समूहले तयार पारेको उक्त प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाइँदै छ । तयार प्रतिवेदनमा कस्ता विषयहरु उल्लेख छन् भन्ने जनताले जान्न पाउनुपर्ने भन्दै कांग्रेसले सार्वजनिक गर्नुपर्ने माग गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक वालकृष्ण खाँडले आमजनताको चाहना बमोजिम प्रतिवेदन सार्वजनिक हुनुपर्ने बताए । ‘प्रतिवेदनमा के छ भन्ने आमजनताको चासो हो ।’ न्युजकारोबारसंग खाँडले भने ‘यसको सम्बोधन हुनुपर्छ ।’ प्रबुद्ध समूहका सदस्य डा. राजन भट्टराईले प्रतिवेदनमा के छ भन्ने अहिल्यै सार्वजनिक गर्न नमिल्ने जानकारी दिए । ‘प्रतिवेदन दुबै देशका प्रधानमन्त्रीलाई बुझाइँदै छ ।’ भट्टराईले भने ‘त्यो भन्दा अगाडि सार्वजनिक गर्न मिल्दैन ।’

सन् २०१६ को जुलाईमा पहिलो बैठक बसेको प्रबुद्ध समूहको कार्यकाल दुई वर्ष तोकिएको थियो । जस अनुसार यही असार २० गते यसको समयसीमा सकिँदैछ । प्रबुद्ध व्यक्ति समूहको अहिलेसम्म पाँच वटा बैठक नेपालमा र चार वटा बैठक भारतमा सम्पन्न भएका छन् ।
बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धी, सीमा व्यवस्थापन र सुरक्षा, जलस्रोत, दुवै देशका राष्ट्रिय हित लगायत विषयमा छलफल भएका जनाइएको छ । द्वीपक्षीय सम्बन्ध, नेपाल र भारतबीच सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धि र अन्य सन्धि सम्झौताको नविकरण, तिनको परिमार्जन र सुधारका निम्ती सुझाव दिन प्रबुद्ध व्यक्ति समूह गठन भएको हो ।

प्रबुद्ध समूहमा नेपाली समूहका संयोजक डा. भेषबहादुर थापा रहेका छन् । उक्त समूहको सदस्यहरुमा डा. राजन भट्टराई, पूर्वमन्त्री नीलाम्बर आचार्य र पूर्व सचिव सूर्यनाथ उपाध्याय छन् । त्यसै गरी उक्त समूहको भारतीय पक्षका संयोजक भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी रहेका छन् । त्यस्तै भारततर्फका सदस्यहरुमा पूर्वराजदूत जयन्त प्रसाद, प्राध्यापकद्वय महेन्द्र पी लामा र भुवनचन्द्र उप्रेती छन् ।

प्रकाशित समय १४:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु