गृहपृष्ठ केसी र गंगामायाको ज्यान बचाउन नागरिक समाजको अपिल

केसी र गंगामायाको ज्यान बचाउन नागरिक समाजको अपिल

सत्तामा हुँदा नदेख्ने कांग्रेस अहिले कुर्लिरहेको छ : कार्की

पत्रकार सम्मेलनमा बाेल्दै कार्की

नागरिक समाजका अगुवाहरुले आमरण अनशनरत गंगामाया अधिकारी र डाक्टर गोविन्द केसीको ज्यान बचाउन अपिल गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरि नागरिक समाजका अगुवाहरुले सरकार दुबैको मागप्रति उदासिन रहेको आरोप लगाए ।

पत्रकार सम्मेलनमा सर्वाेच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले सरकार शोषक सामान्तीको लाइनमा रहेको आरोप लगाइन । ‘डा. गोविन्द केसीका सन्दर्भमा सरकार शोषक सामन्तीको लाईनमा छ,’ कार्कीले भनिन ‘डा. केसीले उठाएका जायज मागको सम्बोधन हुनुपर्छ ।’

प्रतिपक्षमा छँदा एउटा कुरा र सत्तामा पुगेपछि अर्को कुरा गर्ने नेतृत्वको प्रवृत्ति ठिक नभएको कार्कीको भनाई छ । ‘यसअघि कांग्रेस र माओवादीको संयुक्त सरकार हुँदा नै गंगामायाले न्याय मागेको होईन ? कार्कीले प्रश्न गरिन ‘त्यसबेला गंगामायालाई नदेख्ने कांग्रेस अहिले आफैँ कुर्लिरहेको छ ।’

पञ्चायदेखि गणतन्त्रसम्म व्यवस्था परिवर्तन भएपनि पात्र र प्रवृति नफेरिँदा जनताले खास परिवर्तनको अनुभुत गर्न नपाएको कार्कीले बताइन । ‘बरु पञ्चायतमा जसोतसो गरिबले पढ्न पाएको उदाहरण छ । अहिले पैसाको खोलो नबगाई हुन्न ।’ कार्कीले भनिन् ‘डाक्टर केसीले गरिबले पनि मेडिकल शिक्षा पाउनुपर्छ भन्दा सरकारलाई किन आपत्ति ?’

सोही कार्यक्रममा बोल्दै नागरिक अधिकारकर्मी चरण प्रसाईंले सररकार विधिको शासन विपरित गइरहेको आरोप लगाए । ‘यो सरकारले विधि भनेको के हो भन्ने नै बुझेन भन्न त मिल्दैन ।’ प्रसाईंले भने ‘नेताहरुको शत्तामा पुगेपछि दम्भ बढ्ने रैछ ।’ प्रसाईंले नागरिक अधिकारका लागि सरकार जिम्मेवार नभए थेग्न नसक्ने आन्दोलनको आँधीबेहेरी आउने चेतावनी दिए ।

नागरिक समाजका अगुवाहरुले गंगामाया र डा. केसी दुबैको मुद्दा सम्बोधन नभएसम्म हरेक शनिबार बिहान ७ बजे माइतिघर मण्डलामा प्रदर्शन गर्ने निर्णय गरेका छन् । कमजोर प्रतिपक्षीका कारण सरकारको नेतृत्वमा दम्भ बढेको भन्दै उनीहरुले सार्वजनिक सरोकार मञ्च नाम दिएर सरकारलाई दबाबमाथि दबाब बढाएका हुन् ।

मञ्चले शान्तिपुर्वक भेला हुन पाउने नागरिक स्वतन्त्रता, डा. केसीको माग र गंगामायालाई न्याय दिने सन्र्दभमा सरकार उदासिन रहेको आरोपमा प्रदर्शन लगायतका कार्यक्रम नै तय गरेको हो । स्वास्थ्य, शिक्षा, रोजगार जस्ता विषयलाई मौलिक हकका रुपमा राखिएको संविधान कार्यान्वयन गराउन छाडेर सरकार शिक्षा र स्वास्थ्यलाई व्यापारीकरण गर्न आफैँ लागि परेको आरोप लगाइएको छ ।

चिकित्सा क्षेत्रको ‘शुद्धिकरण’का लागि भन्दै डा. केसी सत्याग्रहमा छन् । तर, अहिले उनलाई सरकारले अनशन बस्न समेत नदिई गिरफ्तार गरेको छ । गंगामाया द्वन्द्वकालमा आफ्ना छोराको हत्या भएको र त्यस सम्बन्धमा सर्वोच्चले गरेको फैसला कार्यान्वयन गर्न भन्दै ३६ दिन देखि आमरण अनशनमा छिन् ।

प्रकाशित समय १९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु