गृहपृष्ठ प्रचण्ड–ओली सम्बन्ध, दुस्मनीदेखि दोस्तीसम्म
प्रचण्ड–ओली सम्बन्ध, दुस्मनीदेखि दोस्तीसम्म
ओली–प्रचण्ड नजीक हुँदा
– २०५८ मा पहिलो भेट
– पटक पटक सत्ता सहकार्य
– १६ बुँदे सहमति कायम
– संविधान जारी, नाकाबन्दी प्रतिरोध
– लोकमानविरुद्ध महाअभियोग
– वाम गठबन्धनदेखि पार्टी एकता
ओली–प्रचण्ड टाढा हुँदा
– संविधानसभा अवधीभर अधिकांश समय तिक्ततापूर्ण
– सत्तासहकार्य नभएको बेला बैमनस्य
– कटुतापूर्ण सम्बन्ध र आरोप प्रत्यारोप
– संविधान संशोधनमा वार–पार
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भई नेपाल कम्युनिष्ट पार्टी गठन भएको छ । संसदमा पहिलो र तेस्रो शक्ति रहेका पार्टी मिलेपछि ठुलो कम्युनिस्ट पार्टी मात्रै बनेको छैन, बलियो सरकारसमेत बनेको छ ।
निर्वाचनमा गठबन्धन गरेका पार्टी एक हुनुमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को मुख्य भूमिका रहेको छ । एकता हुनुअघि पनि राजनीतिक घटनाक्रमअनुसार एमाले र माओवादीबीचमा पटक–पटक सहकार्य भएका थिए । विगतमा पनि पटक–पटक पार्टी एकताको कुरा उठेको भए पनि एकताको बाधकको रुपमा ओली–प्रचण्डबीचको ‘वैमनस्यता’लाई लिइन्थ्यो ।
विगतमा यी दुईको सम्बन्धमा दोस्तीदेखी दुस्मनीसम्म पाइन्छ । जनयुद्ध को नेतृत्त्वकर्ता प्रचण्ड र जनयुद्धको खरो आलोचक ओलीलाई राजनीतिक घटनाक्रमले कहिले सहकार्य गरायो त कहिले प्रतिस्पर्धी बनायो । ओलीले शान्ति प्रक्रियामा आएपछि पनि माओवादीलाई बाँकी राखेनन् । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनुलाई ‘झुसिल कीरालाई पुतली बनाईको’ भन्दै व्यंग्य गरेका थिए । प्रचण्ड आफ्ना कटु आलोचक ओलीसँग आक्रामक नहुने कुरा भएन, उनले पनि ‘बाँकी राखेनन्’ ।
एमाले, माओवादी मध्ये एकले काग्रेससँग सहकार्य गर्दा ओली–प्रचण्डबीचको सम्बन्ध पानी वाराबारको हुन्थ्यो । चुनावअघि कांग्रेससँगै सत्तासहकार्यमा रहँदा वाम गठबन्धनदेखि पार्टी एकता गर्ने प्रस्ताव लिएर प्रचण्ड ओलीकहाँ पुगेपछि सम्बन्ध विस्तारै सुधारियो । पार्टी एकतापछि स्थायीत्वको प्रश्न कतिपयले उठाउँदै गर्दा ओली–प्रचण्डको सम्बन्धमा स्थायीत्व भरपर्ने विश्लेषकहरु बताउँछन् । किनकी बिगतमा पनि पटक–पटक सहकार्य हुँदै र टुट्दै आएको छ । विगतमा कमजोर सहकार्य र गठबन्धनका कारण राजनीतिक अस्थितरतालाई बल मिलेको थियो ।
भूमिगत कालमा पहिलो भेट
उमेरले ३ बर्ष मात्र फरकका यीनले राजनीतमा झण्डै ४ दशक विताएका भए पनि करिब डेढ दशकदेखि मात्र सम्बन्ध स्थापित भएको हो । २०५८ सालमा दुई नेताको पहिलो भेट भारतको सिलिगुडीमा भएको एमाले नेता शंकर पोखरेल बताउँछन् । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन ओलीले त्यसबखत सिलिगुडीमा गएर प्रचण्डलाई भेटेका थिए । ‘गणतन्त्रको लाईनमा दुवै दल रहेकाले राजनीतिक ऐजेण्डालगायतका विषयमा छलफल भएको थियो, शान्ति प्रक्रियामा आउन आग्रह गरिएको थियो’ पोखरेल स्मरण गर्छन्, ‘पहिलो भेट सौहार्दपुर्ण भयो ।’
संविधानसभामा ‘लभ एण्ड हेट’
पहिलो संविधानसभा निर्वाचनमा माओवादी ठूलो दल बन्यो । पहिलो संविधानसभा अवधीभर दुई पार्टीका बीचमा ‘लभ एण्ड हेट’ चलीरह्यो । एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल र ओली पराजित थिए । त्यसबखत ओली ‘माओवादीले धाँधली गरेर जितेको, मोटाएको नभई सुन्निएको’ प्रतिक्रिया दिन्थे । ओलीको त्यो शव्दवाण विझाएरै होला प्रचण्डले मात्र होइन माओवादीका अन्य नेताले समेत ओलीको कटु आलोचना गर्दथे ।
नौ महिनाको सहकार्यपछि ओली–नेपालले प्रधानसेनापती रुकमाङगत कटुवाल प्रकरणमा प्रचण्डलाई सत्ताच्युत गर्न सफल भए, तत्कालिन एमाले अध्यक्ष झलनाथ खनार र बामदेव गौतमको केही लागेन । त्यसलगत्तै कांग्रेसको समर्थनमा नेपाल मुलुकको प्रधानमन्त्री बने । यस प्रकरणले ओली–प्रचण्ड दुरी बढाउन मलजल गर्याे ।
माओवादीले पनि नेपालको सरकार गिराएर एमालेकै अध्यक्ष झलनाथ खनालको नेतृत्वमा सरकार बनायो । त्यसबखत एमाले–माओवादी सम्बन्ध सुधारोन्मुख थियो । सम्बन्ध सुधारेर आफुलाई प्रधानमन्त्री बनाउन ओलीको प्रमुख हात रहेको एमाले नेता झलनाथ खनाल सम्झन्छन् । ‘उहा नेतृत्वमा नभए पनि अरु दलसँगको छलफलमा सक्रिय हुनुहुन्थो, दुई दलबीचको सम्बन्ध उहाँको प्रयासले नजीक बनायो,’ खनाल सम्झन्छन् ।
त्यो सम्बन्ध फेरी दिर्घकालिन रहन सकेन । खनाल सरकार ढाल्दै मधेसवादी दललाई साथमा लिएर माओवादीले डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन गर्याे । सरकार ढल्नुअघि एमाले माओवादीविच खटपट रहदा दाहाल ओली सम्बन्ध विग्रिएको जानकारहरु बताउँछन् । त्यसयता पहिलो संविधासभामा रहुन्जेल एमाले र माओवादी सम्बन्धन राम्रो नबनेको राजनीतिक विश्लेशषकहरु स्मरण गर्छन ।
महाराजदेखि पागल घोषणा
दोस्रो संविधानसभाको चुनावमा कांग्रेस ठूलो दल बन्यो । त्यसपछि एमालेको समर्थन लिएर कांग्रेसले पार्टी सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार गठन गर्याे । त्यसबखत पनि माओवादी–एमाले सम्बन्ध तिक्ततापूर्ण रह्यो । तेस्रो दलमा खुम्चिएपछि माओवादी आफ्ना एजेण्डा संविधानमा समेट्न सडक संघर्षमा गयो । माओवादी र मधेसवादी दलले सदन अवरुद्ध गर्न थाले । माओवादीले मधेशवादी दलसँगको गठबन्धनमा १९ दलीय मोर्चा बनाएको थियो । प्रचण्ड संयोजक रहेको ३० दलीय गठबन्धनसँग वार्ता हुँदा गठबन्धनको प्रस्ताव ओलीले स्विकारेनन् ।
ओलीकै कारण वार्ता असफल भई बाहिरिदा प्रचण्डले पत्रकारसँग प्रतिक्रिया दिँदै प्रचण्डले ‘को हुन् केपी ओली ? यो देशका ठेकेदार हुन् की महाराजा ? दुई—चार सिट बढी आयो, पार्टी अध्यक्ष भयो भन्दैमा आफू महाराज अरूलाई रैतीजस्तो व्यवहार गर्ने ?’ भन्दै आक्रोस पोखे ।
त्यसको केही दिनपछि पार्टी मुख्यालयको एक कार्यक्रममा ओलीले प्रचण्डप्रति कटाक्ष गरे । ओलीले भनेका थिए ‘पहिले पनि २ अर्ब ३ करोड दिन्छु भनेर कागज गरेपछि संसद खुल्यो, अव ५ देखि १० अर्ब दिन्छु भने संविधानसभा चल्छ, बाहिर उफ्रन बन्द हुन्छ ।’ जवाफमा प्रचण्डले भोलीपल्ट पार्टी मुख्यालय पेरिसडाडामा पत्रकार सम्मेलन गरी खण्डन मात्र गरेनन् विज्ञप्ति नै जारी गरेर ओलीलाई पागल नै भने ।
प्रचण्डले आफु नेतृत्वको १९ दलीय मोर्चाको बैठकबाट निर्णय गर्दै विज्ञप्तिमा भनेका थिए , ‘उहाको अभिव्यक्तिले उहाँ शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा समेत असन्तुलन भएको गम्भीर आशंका उत्पन्न भएको हुनाले उहँको शीघ्र उपचारको व्यवस्था गर्न सरकारसंग माग गर्दछौं ।’ यसपछि दुई नेताबीचको सम्बन्धनमा चिसोपना मात्र आएन केही समय बोलचालनै बन्द भयो ।
माओवादीलाई बाँदरको संज्ञा
संविधानमा राख्ने अन्तरवस्तुबारे कुरा नमिल्दा माओवादीले संसदमा अवरोध गर्याे । उसले संसदमा टेवल, कुर्सी तोडफोडसमेत गर्याे । ओली र तत्कालिन एमाले उपाध्यक्ष हालकी राष्ट्रपति बिद्या भण्डारीलार्ई माईके उछ्ट्टििएर लाग्यो । त्यसको भोलीपल्ट आफ्नै बालकोटमा पत्रकार सम्मेलन गर्दै ओलीले माओवादीको त्यस गतिविधीलाई नेवारी भाषा उल्लेख गर्दै ‘माकाफूई’ (बँदरको फुर्ती) को संज्ञा दिए । ‘कुनै रुखमाथि बाँदर चढ्यो भने हागो हल्लिनु त स्वभाविकै हो । संविधान सभामा केही यस्ता शक्ति आएका छन् । तिनीहरुले केही गर्न सक्दैनन् । रुखै भाँच्चिने होइन हागो हल्लिनेसम्म हो । कुनै ‘माकाफूँई’संग एमाले डराउनेवाला छैन ।’ भक्तपुरे नेवारका ज्वाई समेत रहेका ओलीले नेवारी भाषामा प्रचण्डलाई गाली गरेपछि दुबै एक अर्काेको नाम समेत सुन्न नचाहने अवस्थामा समेत पुगेका थिए ।
भूकम्पपछि मिलाप
लामो समयको अविश्वासपछि ओली र प्रचण्डबीच अविश्वास हटाउने काम विनाशकारी भूकम्पले गर्याे । पुनर्निर्माण र संविधान निर्माणको संकल्प प्रस्ताव संसदमा पारित गर्नेदेखि १६ बुँदे सहमति कायम गर्ने दुवैको संयुक्त प्रयासमा सफल भयो । संविधान जारी गर्ने प्रक्रिया संविधानसभामा अघि बढिरहँदा दुईविच मित्रता बढ्दै गयो । त्यतिबेला दुईबीचको काटाकाटदेखिको सम्बन्ध चाटाचाटसम्म बनिसकेको थियो ।
नाकाबन्दीविरुद्ध सहयात्रा
संविधान जारी हुनुअघि मधेसकेन्द्रित दलहरूको आन्दोलनलाई कारण देखाउदै भारतले चासो दिन थालेको थियो । जुन ओली–प्रचण्ड दुबैले रुचाएका थिएनन् । संविधान जारी भएको भएको भोलीपल्ट प्रचण्डले टुडीखेलबाट भारतलाई लक्षित गर्दै ‘हामी कसैको ‘एस म्यान’ होईनौं भनेका थिए । संविधान जारी हुन नदिने चलखेलको रूपमा दुबै नेताको समान बुझाई थियो । संविधान जारीपछि दुई दल मिलेर नेपाली कांग्रेसलाई अलग्याएर सरकार बनाए । ओली पहिलोपटक प्रधानमन्त्रीमा निर्वाचित हुँदा मुलुक नकाबन्दीको चरम संकटमा थियो । अत्यावश्यक वस्तुको अभावमा आक्रान्त मुलुकको नेतृत्व गर्न ओलीले प्रचण्डको साथ पाए ।
तर, भद्र सहमति अनुसार ओलीले प्रचण्डलाई प्रधानमन्त्री पद छाड्न अस्वीकार गरे । जसका कारण ओली–प्रचण्डबीच बढ्दै गएको दुरीमा कांग्रेसले ‘खेल्ने’ मौका पायो । कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गरेसँगै दुई नेताबीच खटपट सुरु भयो । बजेटपछि प्रचण्डलाई नेतृत्व छाड्ने गरी गठबन्धन कायम राख्ने गरी भद्र सहमति भएपछि ओली सरकारलाई दिएको समर्थन दाहालले कायमै राखेका थिए । तर, बजेटपछि पनि ओलीले भद्र सहमति कायम गरेनन् । त्यसपछि चिसिएको सम्बन्धले ओली सरकारलाई सत्ताच्युत ग¥यो । कांग्रेसको समर्थनमा दाहाल दोस्रोपटक प्रधानमन्त्री बने । यस अवधीमा पनि सम्बन्धमा सुधार आउने कुरा भएन ।
संविधान संशोधनले टाढा
ओली–प्रचण्डविचको सम्बन्ध संविधान सशोधनको विषयमा पुनः चिसिन पुग्यो । संविधान संशोधनमा ओलीले साथ नदिएपछि सरकार संशोधन प्रस्ताव फिर्ता लिन बाध्य भयो । त्यतिवेला एमालेलाई काग्रेस माओबादी र मधेसकेन्द्रित दलले मधेस विरोधी दल घोषणा गरे ।
महाअभियोगले नजीक
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाएपछि प्रचण्ड–ओली सम्बन्ध पुनः सुधारियो । त्यतिबेला कांग्रेसको सर्थनमा प्रचण्ड प्रधानमन्त्री थिए भने एमाले विपक्षमा थियो । प्रचण्डले महाभियोग प्रस्ताव पेस गरे कांग्रेसले असहयोग गर्ने र सरकार संकटमा पर्न सक्ने चिन्ता व्यक्त गरिरहँदा ओलीले कांग्रेसले समर्थन फिर्ता लिए एमालेले समर्थन गर्ने आश्वासन दिए ।
बाम एकतापछि सँगसंगै
दुई नेताविचको कटुता प्रदेश र प्रतिनिधीसभा निर्वाचनले जोड्यो । निर्वाचन नजकिँदै गर्दा प्रचण्ड–ओली नजीकिए । फलस्वरुप निर्वाचनमा गठबन्धन गर्दै पार्टी एकता गर्नेसम्मका घोषणा भए । निर्वाचन नजिकिदै गर्दा एक अर्काेको क्षेत्रमा भोट माग्न गएका दुई नेताबीचको सम्बन्ध हालसम्मकै सुमधर रहेको बताईछ ।
एकै दलमा आईपुग्दा सम्बन्ध–अन्तरंग
एकता घोषणा अघिदेखि एकृकीत पार्टीको अध्यक्ष कसले लिने भन्ने विषयमा ओली दाहालबीच लामो रस्साकस्सी भएपछि दुवैलाई ‘विन–विन’ गराइयो । केन्द्रीय समितिमा प्रतिनिधित्व, विचार सिद्दान्तलगायत विषयमा लामो छलफलपछि एकीकृत पार्टीमा तत्कालिन दुवैदलको सम्माजनक उपस्थिती गराईएकोले एकतापछि दुवै नेताहरु खुशी देखिन्छन् ।
अहिले व्यक्तिगत समबन्ध हालसम्मकै सुमधुर रहेको निटस्थ नेताहरु बताउँछन् । ‘राजनीतिमा कोही स्थायी शत्रु र मित्र हुदैनन्’ भन्ने वाक्यांश तत्कालीन एमालेका नेताहरुले बढी प्रयोग गर्दै आईरहन्थे । अहिले अनौठो तरिकाले कसिलो बनेको प्रचण्ड र ओलीबीचको सम्बन्धचाही आउदा दिनमा कस्तो रहन्छ भन्ने कुरा अझै भन्न नसक्ने विश्लेषकहरु बताउँछन् ।
एकता भईसकेकाले अब ‘लिक’ बाहिर जाने संभावना कम रहेको विश्लेषक श्याम श्रेष्ठको बुझाई छ । श्रेष्ठ भन्छन् ‘मुलुकलाई राजनीतितक स्थायित्व दिने योगदानको सन्दर्भमा तथा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले दुई नेतालाई भावनात्मक तथा राजनीतिक दुवै तबरमा सम्बन्ध कसीलो बनाएको छ । अव सानातिना घटनाले सम्बन्धमा दरार नआउला ।’
प्रकाशित समय १८:४२ बजे
















