गृहपृष्ठ गँजडी र मगन्तेरहित पशुपति क्षेत्र योग र ध्यान साधना केन्द्रमा परिणत हुँदै

गँजडी र मगन्तेरहित पशुपति क्षेत्र योग र ध्यान साधना केन्द्रमा परिणत हुँदै

pashupatinath-newskarobar फाइल तस्बिर ।

गाँजा तान्ने अखडा र माग्नेको लामलाई मुक्त गरी पशुपति क्षेत्रलाई ध्यान तथा योग साधना स्थलका रुपमा योजनाबद्ध विकास गर्ने अभियान सुरु भएको छ । गाँजा खाने एवं किनबेच गर्नेको अखडाका रुपमा रहेको बागमती किनारको सूर्यघाट क्षेत्रका १० वटा गुफा खाली गरी रंगरोगन सुरु गरिएको छ ।

सूर्यघाट क्षेत्रलाई ध्यान केन्द्रका रुपमा विकास गर्न पशुपति क्षेत्र विकास कोषले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि एक करोड ५० लाख रूपैयाँ बजेट छुट्याएको सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । ‘६ महिनामा ध्यान केन्द्र तयार हुनेछ, केन्द्र तयार भएपछि निश्चित दिनका लागि ध्यान गर्न चाहनेलाई केन्द्र उपलब्ध गराइन्छ, केन्द्रमा बसेर ध्यान गर्न चाहनेले तोकिएको शुल्क पनि तिर्नुपर्छ,’ उनले भने ।

आगामी शिवरात्रिसम्ममा ध्यान केन्द्र निर्माण गरिसक्ने कोषको योजना छ । पशुपति क्षेत्रमा सबैभन्दा पुरानो अभिलेख भएको बागमती किनारको सूर्यघाट क्षेत्र सिद्धस्थल मानिन्छ । सूर्यघाट क्षेत्रको गुफामा गुरु गोरखनाथ, शिवपुरी बाबा, खप्तड स्वामीलगायतका सिद्ध पुरुषले साधना गरेको अभिलेख पाइएको कोषका सूचना अधिकारी प्रेमहरि ढुंगानाले बताए ।

पूर्वी मोहडा भएको र पूर्वमा बागमती बगेकाले सूर्यघाट क्षेत्रका गुफा साधनाका लागि महत्वपूर्ण मानिन्छ । बागमतीको कन्दराबाट पूर्व फर्केर बिहान अर्घ्यदान गर्नु उत्तम हुने शास्त्रीय ग्रन्थमा वर्णन गरिएको छ । सूर्यघाटमा पाइएको विजयमतीको अभिलेख पशुपति क्षेत्रकै पुरानो मानिन्छ ।

मृगस्थली र विश्वरुप क्षेत्रमा पनि मण्डप निर्माण गरी ध्यान गर्ने स्थान बनाइँदै छ । जंगलको बीचमा व्यक्ति व्यक्तिले बसेर ध्यान गर्न सक्ने गरी मण्डप निर्माण गर्न लागिएको हो । पशुपति क्षेत्रका सबै स्थानमा कोषले नै ध्यान केन्द्र बनाउने जनाएको छ ।

पञ्चदेवलमा पाशुपत योग साधना केन्द्र

पशुपति दक्षिण ढोकाअघिको पञ्चदेवलमा पाशुपत योग साधना केन्द्रको स्थापना गरिएको छ । घर–घरमा पाशुपत योगको साधना गराउने उद्देश्यले उक्त केन्द्रको स्थापना गरिएको हो ।

वेदले दिएको पाशुपत धर्म नेपालीको भएकाले यसका बारेमा जानकारी गराउन कोषको सहयोगमा केन्द्र स्थापना गरिएको महात्मा सुशीलले जानकारी दिए । पाशुपत योगका विषयमा जानकारी दिन उनले ‘पाशुपत योग नामक पुस्तक प्रकाशन गरेका छन् । यो पुस्तक रूसी भाषामा समेत अनुवाद भइसकेको छ ।

पाशुपत योग अंग्रेजी भाषामा अनुवादका लागि त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभागका प्रा.डा. कृष्णचन्द्र थापाले काम गरिरहेका छन् । यस वर्षको दशैंसम्म अंग्रेजी अनुवाद भइसक्ने थापाले जानकारी दिए ।

हिमवत्खण्डबाटै योग साधनाको सुरुवात् भई संसारभर फैलिएको थियो । आदि कालमा भगवान शिवले सिकाएको योग पाशुपत नै थियो । चार वेद र १८ पुराणमा पाशुपत योगको वर्णन छ । लिंग पुराणमा भने पाशुपत योगका विषयमा मात्र चर्चा गरिएको महात्मा सुशीलले सुनाए ।

पौराणिक कालमा भगवान् शिवले पाशुपत योगको ज्ञान दिएको विश्वास गरिन्छ । समाधि अवस्थामा जीवात्मा परमात्मामा मिलन हुनुलाई नै पाशुपत योग भनिने उनको भनाइ छ । ब्रह्म प्राप्तिका लागि पाशुपत अष्टांग योगलाई साधना गर्ने परम्परा बसेको हो ।

आत्मज्ञान प्राप्तिका लागि उत्तम स्थानमा बसेर साधना गर्नुपर्छ । साधनाबाट ज्ञान पाइन्छ । ज्ञानको वशमा मन वशिभूत हुन्छ । मन वशमा भएपछि आत्मा प्राप्ति हुन्छ । आत्म साक्षात्कार भएपछि नश्वर संसारबाट मुक्ति पाइने भएकाले पाशुपत योगको अभ्यास आवश्यक रहेको महात्मा सुशील बताउँछन् ।

पूर्वमा ब्रह्मपुत्र नदी, पश्चिममा हिन्दकुश, उत्तरमा कैलाश मानसरोवर हिमालय र दक्षिणमा गंगासम्मको भूभागबाटै योग, ध्यान साधनाको सुरुवात भएको विश्वास गरिन्छ । चित्तवृत्तिलाई निरोध गर्दै आत्मामा एकचित्त हुनु नै योग हो ।

यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिलाई अष्टांग योग भनिन्छ । अष्टांग योगको अभ्यास गर्ने व्यक्ति अनेक जन्मको संस्कार बलबाट यसै जन्ममा सिद्ध भएर पापबाट मुक्त भई परमगति प्राप्त गर्छ । पाशुपत योग धर्मका दश लक्षणमा अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य, दया, क्षमा, सरलता, धृति, मिताहार र पवित्रतालाई लिइएको छ । पाशुपत योग साधना केन्द्रमा हाल दैनिक सयौं मानिस साधनाका लागि आउने गरेका छन् ।

 यहाँ स्वदेशी एवं विदेशीलाई पनि योग, ध्यान सिकाइन्छ । केन्द्र स्थापनाको छोटो अवधिमा धेरै विदेशी समेत यहाँ आएर योग, ध्यान सिकी लाभान्वित भएका छन् ।

 

(पूर्णप्रसाद मिश्र/रासस)

प्रकाशित समय १६:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु