गृहपृष्ठ उपत्यकामा ट्राफिक कारबाहीबाट २९ करोड राजस्व संकलन

उपत्यकामा ट्राफिक कारबाहीबाट २९ करोड राजस्व संकलन

traffic-police-newskarobar फाइल तस्बिर

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७४/७५ मा २९ करोड २७ लाख ८२ हजार राजश्व संकलन गरेको छ । महाशाखाले उपत्यकामा मादकपदार्थ सेवन गरेर सवारी चलाउने, लेन अनुशासन नमान्ने, निषेधित क्षेत्रमा पार्किङ गर्ने, जथाभावी सवारीसाधन रोक्ने, क्षमताभन्दा बढी सामान राखेर हिँड्ने, सिटवेल्ट नबाँध्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई कारबाहीवापत उक्त राजश्व संकलन गरेको हो ।

महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले चार लाख ७१ हजार ९ सय ६८ सवारीसाधनको कारबाहीवापत उक्त राजश्व संकलन गरिएको जानकारी दिए । ‘ट्राफिक नियम पालना नगर्ने सवारी साधनलाई प्रत्यक्ष सिसी क्यामेरा, ट्राफिकको साथमा रहेको क्यामेरा र विभिन्न सामाजिक सञ्जालको माध्यमबाट कारबाही गरिरहेका छौं,’ उनले भने ।

महाशाखाले आ.व. २०७३/७४ मा ३५ करोड ६० लाख ६७ हजार ९००, आ.व. २०७२/७३ मा १५ करोड ८२ लाख ९१ हजार २७५, आ.व. २०७१/७२ मा १४ करोड ४९ लाख ९७ हजार पाँच सय ८५ राजश्व संकलन गरेको थियो ।

यसैगरी आ.व. २०७३/७४ मा ६ लाख ३९ हजार ६११, आ.व. २०७२/७३ मा ५ लाख ४८ हजार ४७०, आ.व. २०७१/७२ मा पाँच लाख ६९ हजार ६४० सवारी साधनलाई महाशाखाले कारबाही गरेको थियो ।

वाग्मती अञ्चलमा ठूलासाना झण्डै ११ लाख सवारी दर्ता रहेका छन् । दर्ता भएका ११ लाखमध्ये नौ लाख उपत्यकामा सञ्चालन हुँदै आएका छन् ।

(रासस)

प्रकाशित समय १८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु