गृहपृष्ठ कांग्रेसले शुक्रबारको संसद् बैठक अवरोध नगर्ने
कांग्रेसले शुक्रबारको संसद् बैठक अवरोध नगर्ने
नेपाली कांग्रेसले शुक्रबार बस्ने संसद बैठक अवरोध नगर्ने भएको छ । बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कांग्रेसका नेता डा. नारायण खड्काले समस्याको समाधान खोज्ने थलो संसद भएको जनाउँदै अनशनरत प्रा. डा. गोविन्द केसीले उठाएका मागप्रति सरकार सकारात्मक देखिएकाले बैठक अवरोध नगर्ने प्रष्ट पारे ।
अघिल्लो सरकारको पालामा चिकित्सा शिक्षा अध्यादेश सहमतिमै आएको स्मरण गराउँदै सांसद डा. खड्काले सरकारले सामाजिक न्यायमा आधारित शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले लामो लोकतान्त्रिक अभ्यास गरेको काँग्रेसले लगातार संसद् अवरुद्ध गर्दा संसदीय प्रणालीमाथि नै प्रश्न उठ्ने बताए । उनले भने, ‘संसद् सञ्चालन गर्नुपर्छ, प्रक्रियालाई अड्काएर राख्नुहुँदैन । बरु अन्तर्वस्तुमा विमति हुन सक्छ । यसका लागि छलफलबाट सहमति खोज्नुपर्छ । लगातार संसद् अवरुद्ध गरेर संसदीय व्यवस्था असफल भएको मुलुकका रुपमा परिभाषित गर्न दिनुहुँदैन ।’
नेता गुरुङले अनशनरत प्रा. डा. केसीको जीवनरक्षा हुनुपर्नेमा जोड दिए । डा. केसीले भनेजस्तो विधेयकमा हुबहु लागू गर्न नसकिने हुँदा सहमति र संवादमार्फत निकास खोज्नुपर्ने बताए ।
(रासस)
प्रकाशित समय २१:०१ बजे

















