गृहपृष्ठ निर्मला पन्तका बाबुले रुँदै भने : न्याय दिन सक्दैनौं भने हामीलाई पनि गोली ठोक
निर्मला पन्तका बाबुले रुँदै भने : न्याय दिन सक्दैनौं भने हामीलाई पनि गोली ठोक
आमा भन्छिन्– हामी नेपाली नागरिक होइनौं र सौतेनी व्यवहार गरेको ?
पत्रकार सम्मेलनमा निर्मलाकी अामा दुर्गादेवी पन्त ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्माला पन्तका बास्तविक पिडकलाई प्रशासनले पत्ता लगाउन नसकिरहेका बेला उनका बाबु आमा सहित ९ जनाको टोली न्याय माग्दै काठमाडौं आइपुगेको छ । आफ्नी छोरीको हत्या र बलात्कारमा संलग्नलाई कारबाहीको माग गर्दै उनका बाबु यज्ञ पन्त र आमा दुर्गादेवी पन्त अन्य सातजनासहित काठमाडौं आएका हुन् ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले प्रशासननै घटनाका वास्तविक दोषीलाई लुकाउन लागिपरेको आरोप लगाए । निर्मलाका बाबु र आमाको पीडा त झन् भयाबह थियो । आफ्नी छोरीमाथि अमानवीय व्यवहार भएको घटनाका दोषी पत्ता नलाग्दा उनीहरु प्रशासनप्रति आक्रोशित बनेका छन् ।
निर्मलाका बाबु यज्ञ पन्तले पत्रकार सम्मेलनमा रुँदै आफूहरुले न्याय मागेको बताए । ‘हामीले न्याय मागेका हौं । न्याय दिन सक्दैन भने सरकारले हामीलाई पनि गोली ठोकेर मारोस्,’ पन्तले छोरीको वियोगको पिडामा रुँदै भने, ‘अब हामी न्याय नपाई कञ्चनपुर जाँदैनौं ।’
उता आमा दुर्गादेवीको अवस्था पनि यो भन्दा भिन्न छैन । उनी पनि आफ्नी छोरीले न्याय नपाएको पीडामा सम्हालीन सकिनन् । ‘हामी पनि नेपाली नागरिक हौं,’ निर्मलाकी आमाले भावविह्वल हुँदै भनिन्, ‘हामीमाथि किन सरकार सौतेनी व्यवहार गर्दैछ ?’
उता पन्त दम्पतीसँग आएका अन्य अधिकारकर्मीले प्रहरी प्रशासनले गरेको अनुसन्धानमाथि नै प्रश्न उठाए । बलात्कार पीडित बालिकाले न्याय माग्दा प्रशासनले गोली ठोकेर एक जनाको हत्या गरेको उनीहरुको आरोप छ । थप एक जनाको खुट्टा काट्नुपर्ने अवस्थामा रहेको पनि उनीहरुले जानकारी दिए ।
सरकारले गरिरहेको अनुसन्धानमाथि उनीहरुले गम्भीर प्रश्न उठाए । स्थानीयले निर्देश भनिरहेका दिलिप विष्टलाई पक्राउ गरी यातना दिएर घटनाका वास्तविक दोषिलाई ढाकछोप गर्न खोजीएको उनीहरुको आरोप छ ।
प्रकाशित समय १५:२७ बजे

















