गृहपृष्ठ नौबिसे–नागढुंगा सडक खण्डमा दिन रात जाम, यात्रुको बिचल्ली

नौबिसे–नागढुंगा सडक खण्डमा दिन रात जाम, यात्रुको बिचल्ली

असारमा सक्नुपर्ने काम बल्ल थालनी, एक हप्तामा निर्माण सक्न कठिन

काठमाडौं उपत्यका भित्रिने र बाहिरिने मुख्य नाका थानकोट–पीपलामोड सडकमा भइरहेको मर्मतको कामले दिनभर समेत सडक जाम हुने गरेको छ ।

मर्मतको समयमा राति सवारी साधन चलाउन रोक लगाइएसँगै बिहान र दिउँसोमा समेत सवारी साधन सञ्चालन असहज बनेको हो । कलंकीदेखि धादिङको धार्केसम्म दिनहुँ जाम हुने गरेको छ । सडकखण्डमा सोमबारदेखि मर्मतको काम थालिएको हो ।

एक साताका लागि समय छुट्याउँदै रातिमा सवारी साधन बन्द गर्दा लामो तथा छोटो दुरीका यात्रु जामको मारमा परेका छन् ।

बिरामी परी र महत्वपूर्ण काम विशेषले काठमाडौं भित्रिने यात्रुलाई सकस भएको छ । गम्भीर बिरामी बोकेका एम्बुलेन्स समेत बीच बाटोमै रोकिएका छन् ।

हिजोजस्तै आज पनि नागढुंगा सडकखण्डमा सवारी साधनको चाप भएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । चाडपर्वका समयमा उपत्यका बाहिरिने सामान, यात्रु र भित्रिने ठूला सवारी साधन व्यवस्थापन निकै चुनौती बनेको छ ।

यो अन्य समयमा पनि व्यस्त सडक हो । दैनिक करिब १० हजार सवारी साधन आवतजावत गर्ने ट्राफिक महाशाखाको अनुमान छ । चाडपर्वका समयमा सवारी साधनको चाप झनै बढ्छ । थानकोट–पिपलमोडसम्म दुई किलोमिटर सडक पिच गर्नुपर्ने भए पनि जम्मा पाँचसय मिटर मात्रै सकिएको निर्माणको ठेक्का लिएको कृष र महाकाली कन्स्ट्रक्सनले जनाएको छ ।

निर्माणको काम गत असारमै सकिनुपर्ने ठेक्का भए पनि कन्स्ट्रक्सनले बल्ल निर्माणको काम थालेको हो । दुई किलोमिटर सडक पिचका लागि १ करोड ५३ लाखमा ठेक्का सम्झौता भएको हो ।

काठमाडौंबाट बाहिरिने सवारीसाधन भित्रने गाडीको तुलनामा केही कम जाममा बस्नुपरेको ट्रफिक प्रहरीले जनाएको छ । निकै लामो जाम र धुवाँधुलोका कारण कलंकी–नागढुंगा क्षेत्रको जनजीवन पनि कष्टकर बनेको छ ।

असोज २२ सम्म राति ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारी साधन बन्द गरिने सडक विभागले जनाएको छ ।

प्रकाशित समय १०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु