गृहपृष्ठ निःशूल्क वितरण हुने औषधि अभाव, अस्पतालमा बिरामीको चाप
निःशूल्क वितरण हुने औषधि अभाव, अस्पतालमा बिरामीको चाप
सांकेतिक तस्बिर
समयमा औषधि खरिद प्रक्रिया अघि नबढाइँदा बैतडीमा औषधि अभाव भएको छ । जिल्लाका सबै स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भएपछि औषधि अभाव बढ्दै गएको हो ।
प्रायजसो स्वास्थ्य संस्थाले औषधि अभाव भएको जनाएका छन् । तल्लोस्वराड क्षेत्रका शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संस्थामा पनि औषधि अभाव रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका स्वास्थ्य सहायक मुकेश दयालले जानकारी दिएका छन् ।
त्रैमासिक रूपमा आउने औषधि पछिल्लो समयमा नआएकाले स्वास्थ्य संस्थामा औषधि अभाव चुलिएको डिलाशैनी गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह खत्रीको भनाइ छ । समयमा औषधि खरिद गर्ने प्रक्रिया अघि नबढाइँदा स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो उनले भने, ‘अहिले पनि धेरैजसो सकिएको छ, दशैँअघि औषधि खरिद गर्न नसकिए निःशुल्क औषधि अभाव हुने निश्चित छ ।’
यस्तै पुरचाैँडी नगरपालिकाका सबै स्वास्थ्य संस्थामा केही दिनमै औषधि सकिँदै छ ।
जिल्ला अस्पतालमा पनि पर्याप्त मात्रामा औषधि नभएको जनस्वास्थ्य कार्यालयका प्रमुख डाक्टर जगदीशचन्द्र विष्टले बताए । उता क्षेत्रीय मेडिकल स्टोरमा खरिद भएका औषधिका लागि ढुवानी रकम नहुँदा वितरण प्रक्रिया प्रभावित भएको बताइएको छ ।
सरकारले जिल्ला अस्पतालबाट ७०, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५६ र स्वास्थ्य चौकीबाट ३५ प्रकारका औषधि निःशुल्क वितरण गर्ने निर्णय गरे पनि सबै प्रकारका औषधि स्वास्थ्य संस्थामा नपाइनुका साथै अहिले अत्यावश्यक औषधि पनि अभाव हुन थालेको हो ।
अस्पतालमा बिरामीको चाप
बैतडीमा मौसमी ज्वरोका बिरामीको संख्या बढ्दै गएको छ । वर्षातको समयमा दूषित पानी सेवनले जिल्ला अस्पतालमा हाल दैनिक एक सय बिरामी पुग्ने गरेको अस्पतालले जनाएको छ ।
उपचारका लागि आउनेमध्ये धेरैजसो ज्वरोका बिरामी भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । मौसममा आएको परिवर्तनले रुघाखोकी, ज्वरो, झाडापखाला बिरामी बढेकाले खानपीनमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । (रासस)
प्रकाशित समय ०९:४६ बजे

















