गृहपृष्ठ अब यसरी बन्ने भो रानीपोखरी
अब यसरी बन्ने भो रानीपोखरी
भूकम्पले क्षतिग्रस्त तुल्याएको ऐतिहासिक रानीपोखरी र सो पोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तोकिएको पुरातात्विक ढाँचाभित्रै बसेर पुनर्निर्माण गर्ने भएको छ । यसका लागि प्राधिकरणले पुनर्निमार्णका कार्ययोजना नै बनाएको छ ।
प्राधिकरणको यही फागुन ८ गतेको निर्णयअनुसार भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको संरक्षण तथा पुननिर्माण गर्दा सबैभन्दा पहिलेको एक फिट तलसम्म खनी घाँस हटाइने छ र त्यसपछि हाल त्यहाँ रहेको सबै बालुवा निकाली एक ठाउँमा माटो नमिसिने गरी जम्मा गरिने छ ।
यसैगरी, पोखरीको कालीमाटी रहेको तहमा थप एक फिटको कालीमाटी राखेर माटोको तह तयार भएपछि करिब दुई फिटको बालुवा राखिने प्राधिकरणको निर्णयमा उल्लेख छ भने पोखरीको डिलको सम्बन्धमा पुरानै माटोको आधार तयार पारेर हाल कायम रहेकै इँटाका पर्खाल लगाइने छ ।
प्राधिकरणले भूगर्भविदबाट रानीपोखरीमा पानी कसरी जम्मा गर्न सकिन्छ र कसरी अड्याउन सकिन्छ भन्ने अध्ययन गराएको थियो । विज्ञहरूले तीन सय फिट तलबाट पानी निकाल्न सकिने र कालिमाटीको प्रयोग गरी पानी अड्याउन सकिने प्रतिवेदन दिएका छन् ।
विगतमा रिटेनिङ पर्खाल र आरसीसी पर्खाललगाउँदा बिग्रेको पोखरीको सतहलाई पुरानै विद्यमान तह अनुसार पुनःबनाउने निर्णय प्राधिकरणको छ भने पोखरीको डिलको माथिल्लो भागमा ठूलो ‘माअप्पा (ल्होःफ अप्पा)’को पेटी लगाउने उसले निर्णय गरेको छ ।
यस्तै, पोखरीको डिल र फुटपाथको छेउसम्म इँटा सोलिङ लाइम कंक्रिट गरेपश्चात ठाडो इँटा विछयाउने, हालै बनाएको ढुंगाको रिटेनिड वालमा माअपप्पाको ‘क्लाडिङ’ गरी फुटपाथ लेवलमा लाइम कंक्रिटपछि ‘माअप्पा’को नै रलिङ वाल बनाउने निर्णय प्राधिकरणले गरेको छ ।
यी कार्य गरिसकेपछि रानीपोखरी फुटपाथमा इँटा सोलिङ र लाइम कंक्रिट गरी ईन्च बाक्लो कालो ढुंगा बिछयाइने छ भने पोखरीको सिँढीमा बस्न ढुंगाको पेटी राखी बाहिरबाट इँटामा अप्पाले मोड्ने,साथै पोखरीको संरक्षण एवं निर्माण गर्दा पूर्व र उत्तरतर्फ समेत ढुंगाको पेटी राखी बाहिरबाट इँटामा अप्पाले मोडी मौलिकता र एकरुपता झल्किने किसिमले सिँढीहरुको निर्माण गरिने ।
प्राधिकरणले पोखरीको पूर्वतर्फ एउटा बोरिङ राख्ने व्यवस्था गर्ने र ठाउँ ठाउँमा आकासे पानी संकलनका व्यवस्थासमेत मिलाउने योजना बनाएको छ भने. पोखरीको माथिल्लो सतहमा केही मात्रामा माटो राखी हरियाली साथै घाँसे मैदान क्षेत्रसमेत बनाउने निर्णय लिइएको छ । उसले पोखरीको पानीको मात्रा अटुट राख्नका लागि मेलम्ची लाइनसँग जोडने प्रावधानसमेत खुल्ला राखेको छ ।
यही माघ १४ गतेको मन्त्रिपरिषद् बैठकले रानीपोखरी, बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रका पुरातात्विक संरचनाको पुनर्निर्माणसम्बन्धी सबै काम प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिएको थियो । यसअघि अघिल्लो वर्ष माघ १० मै पुनर्निर्माण प्राधिकरणले थालेको रानीपोखरीको पुनर्निर्माणको जिम्मा काठमाडौं महानगरपालिकाले लिएकोमा उसले पुरातात्विक महत्व बिग्रने गरी पुनर्निर्माण थालेपछि विवाद सुरु भएको थियो ।
रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गुम्बज शैलीमा गर्ने कि ग्रन्थकुटरशिखर शैलीमा गर्ने भन्ने विवाद थियो । पुरातत्व विभागले दुई वर्षअघि बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्ने सम्झौता गरेको थियो।
नेपालको एतिहासिक र पुरातात्विक महत्व बोकेको सम्पदा रानीपोखरी ७२ सालको विनाशकारी भुकम्पले क्षतिग्रस्त बनाएको थियो । राष्ट्रपति विद्यादेवि भण्डारीले सोही वर्ष पुनः निर्माण महाअभियान सुरु गर्दा रानीपोखरीबाटै गरे पनि यसको पुनर्निर्माणमा विलम्ब भएको छ ।
प्रकाशित समय १५:३४ बजे

















