गृहपृष्ठ मोरङको ऐतिहासिक झुमरीदेवी ताल लोप हुने अवस्थामा

मोरङको ऐतिहासिक झुमरीदेवी ताल लोप हुने अवस्थामा

jhumaradevi tal

दक्षिणपूर्वी मोरङको सुनवर्षी नगरपालिकास्थित ऐतिहासिक झुमरीदेवी ताल लोप हुने अवस्थामा पुगेको छ । नगरपालिका र जनप्रतिनिधिको वेवास्ताका कारण सुनवर्षी नगरपालिका–९ डायनियाँस्थित ऐतिहासिक झुमरीदेवी ताल वेवारिसे हुँदै लोप हुने अवस्थामा पुगेको हो ।

निर्वाचित भएर आएका जनप्रतिनिधिले सो पोखरीको संरक्षण र विकास गर्ने स्थानीयले आशा लिए पनि जनप्रतिनिधिको बेवास्ताका कारण सो ताल वेवारिसे अवस्थामा पुगेको स्थानीयले गुनासो गरेका छन् । उनीहरुले ऐतिहासिक महत्वको झुमरीदेवी ताल संरक्षण र विकासमा नगरपालिकाले ध्यान नदिएको गुनासो गरे ।

स्थानीयका अनुसार यो स्थानमा वर्षौं अघिदेखि झुमरीदेवीको मन्दिर रहेको र पूजा आजा हुँदै आएको थियो । केही वर्षअघि सम्म पानी जम्ने खाल्डो र खाल्डोको बीचमा ढिस्को रहेको थियो । साविकको डायनियाँ गाविस रहँदा गाविसको पहलमा उक्त स्थानको संरक्षण र विकासका लागि ३५ लाख रुपैयाँको लागतमा खाल्डोलाई पोखरीका रुपमा विकास गरिएको थियो ।

jhumaradevi tal2

तत्कालीन गाविस सचिवको अगुवाईमा पोखरीको बीचमा मन्दिर निर्माणको सुरुवात गरिएको थियो । त्यति मात्र होइन सो पोखरीमा पुग्न सडकको ट्रयाक समेत खोलिएको थियो । गाविसले नै उक्त पोखरी क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न ४ वटा बोटिङसमेत सञ्चालनमा ल्याएको थियो ।

तर, राज्यको पूनरसंरचनापश्चात नगरपालिकामा परिणत भएपछि आएका निर्वाचित जनप्रतिनिधिले झुमरीदेवी तालको विकास र संरक्षणमा ध्यान नदिएपछि हाल सो ताल बेवारिसे अवस्थामा पुगेको स्थानीयको गुनासो छ ।

स्थानीय कातीलाल पासवानले तत्कालीन गाविसले सो ताल संरक्षण र पर्यटन विकासका लागि लाखौं रुपैयाँ खर्च गरेको भए पनि हाल नगरपालिकाले कुनै चासो नदेखाएको आरोप लगाए ।

jhumaradevi tal3

उनले भने, ‘यहाँ गाविसले लाखौं रुपैयाँ खर्च गरिसकेको छ । खर्च गरेको अहिले केही देखिँदैन । यहाँ लाखौं बजेट खर्च गरिएको छ भन्दा जो कोहीलाई पनि पत्याउन हम्मे–हम्मे पर्छ । बरु नगरपालिकाले उल्टै यहाँ पालिएको माछासमेत बेच्यो तर एक पैसा पनि यहाँ लगानी गरेन ।’

५ विघा ५ कट्ठा क्षेत्रफलमा फैलिएको उक्त पोखरी क्षेत्रमा तत्कालीन गाउँ विकास समितिले पार्क, पिकनिक स्पट, स्विमिङ पुलसहितको पर्यटकीय क्षेत्र बनाउने योजना सहित केही काम अघि बढाएको थियो ।

गाविसले उक्त स्थानमा पर्यटकलाई लक्षित गर्दै शौचालय पनि निर्माण गरेको थियो । तर, त्यो शौचालय पनि प्रयोगमा नआई भत्किन थालेको छ । गाविसले सो क्षेत्रको पर्यटक प्रवद्र्धनका लागि सडकको ट्रयाक समेत खोलेर पोखरी वरपर वृक्षारोपणसमेत गरेको थियो ।

jhumaradevi tal5

तर, संरक्षणको अभावमा अहिले त्यहाँ एउटा बिरुवा पनि देख्न पाइँदैन । यस पोखरीमा गरिएको लाखौं रुपैयाँको लगानी त्यसै खेर गएको छ ।

तत्कालीन गाविस सचिव तथा हालका वडा सचिव पदम घिमिरेले गाविस हुँदा सो तालको संरक्षण र विकासका लागि ३५ लाख रुपैयाँसम्म खर्च गरिए पनि राज्यको पुनःसंरचनापश्चात नगरपालिकामा परिणत भएपछि भने केही कमी कमजोरी भएको स्वीकार गरे ।

उनले भने ‘गाविस हुँदा हामीले स्थानीयकै अगुवाइमा उपभोक्ता समिति गठन गरेर केही पहल गरेका थियौं । अहिले सो तालका लागि नगरपालिकाले ध्यान नदिएको स्थानीयको गुनासो छ । त्यसका लागि पनि नेतृत्वले केही सोच्नुपर्ने हो । किन भएन त्या मलाई थाहा भएन ।’

jhumaradevi tal9

हाल उक्त पोखरीमा सञ्चालन गरिएका बोटहरु कामै नलाग्ने गरि बिग्रिएका छन् । बोटहरु विग्रिएर कामै नलाग्ने अवस्थामा पुगे पनि नगरपालिकाले चासो देखाएको छैन । सो पोखरीको बीचमा मन्दिर निर्माण सम्पन्न गर्न समेत नगरपालिकाले चासो नदेखाएको स्थानीयको आरोप छ ।

स्थानीयले तत्कालीन गाविसले विकासको ठूलो सपना देखाए पनि नगरपालिकाले भने पोखरीमा पालिएको माछा समेत लाखौं रुपैयाँमा बिक्री गरेर सो ठाउँलाई बेवास्ता गरिरहेको आरोप लगाएका छन् । यता नगरपालिकाले भने सो तालको संरक्षणको प्रयास भइरहेको जनाएको छ ।

नगरपालिका प्रमुख कालीप्रसाद दासले ऐतिहाँसिक र धार्मिक स्थलहरुको संरक्षण गर्ने नगरपालिकाको प्रथामिकता रहेको बताउँदै केही ढिलो भएको बताए । उनले भने ‘नगरपालिकाले झुमरीदेखि तालका लागि केही नगरे जस्तो देखिएको थयार्थ हो । तर हामी सो ताल संरक्षण र विकासका लागि योजना बनाएर अघि बढ्छौं । केही ढिलो चाहीँ भएकै हो ।’

स्थानीयका अनुसार पर्याप्त जग्गा तथा सम्भावना बोकेको ऐतिहासिक झुमरीदेवी ताल बेवारिसे अवस्थामा पुग्नुमा सुनवर्षी नगरपालिकाको ठूलो कमजोरि देखिएको छ ।

प्रकाशित समय १५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु