गृहपृष्ठ रानीपोखरीमा भीडभाड, पुनर्निर्माण नहुँदा मूलढोकामै भाइटिका (११ फाेटाे)
रानीपोखरीमा भीडभाड, पुनर्निर्माण नहुँदा मूलढोकामै भाइटिका (११ फाेटाे)
रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा दाजुभाइ तथा दिदीबहिनी नहुनेले भाइटीका लगाएका छन् । आफ्ना दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा गएर दिदीबहिनीम मानेकाबाट टीका लगाएका हुन् । हरेक वर्ष भाइटीकाको दिनमा मात्रै खुल्ने रानीपोखरीको बीचमा रहेको यमलेश्वर बालगोपाल मन्दिर पनि खुला भएको छ ।
भाइटीकाको दिनमा दाजुभाई नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाई टिका थाप्न आउने हुँदा बिहानैदेखि मन्दिर खुला गरिएको हो । राजा प्रताप मल्लले बनाएको यो मन्दिर शुक्रबार दिनभर नै खुला रहनेछ । आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात राजा प्रताप मल्लले शोकाकूल रानीलाई खुसी तुल्याउने उद्देश्यले वि.सं. १७२७ मा उक्त पोखरी निर्माण गरेका थिए ।
पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि आफू र आफ्ना दुई छोरा मोहिपतेन र चक्रवर्तेन्द्रको सालिक पनि राजा प्रताप मल्लले निर्माण गराएका थिए । गोरखा भूकम्पका कारण मन्दिर क्षतिग्रस्त भएपछि मन्दिर परिसर बाहिर नै भाइटीका लगाइएको छ । भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक रानीपोखरी पुनर्निर्माणको विषय अझै अन्योलमा छ । भूकम्पले क्षतिग्रस्त बनेको मन्दिर पुनःनिर्माण हुन नसक्दा मन्दिरको मूलढोकामै भाइ टिका लगाउने व्यवस्था गरिएको हो । काठमाडौंको मुटुमा रहेको रानीपोखरी ६२ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
तस्बिर : सुनिल प्रधान
प्रकाशित समय १४:४९ बजे




























