गृहपृष्ठ बामदेवको गुनासो : मलाई पार्टीले बेरोजगार बनायो
बामदेवको गुनासो : मलाई पार्टीले बेरोजगार बनायो
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य बामदेव गौतमले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । आफूले पार्टीको हितका लागि बनाएका योजनासमेत कार्यान्वयन गर्न नपाएको नेता गौतमको गुनासो छ । चितवनको भण्डारामा आयोजित स्व नेता जागृतप्रसाद भेटवालको प्रथम स्मृतिसभामा नेता गौतमले भने, ‘एक वर्षदेखि पार्टीले मलाई कुनै भूमिका वा जिम्मेवारी दिएको छैन, म पार्टीभित्र बेरोजगार भएको छु ।’
जनताको अपेक्षाअनुसार सरकारले काम नगरे पार्टीलाई ठूलो घाटा लाग्ने उनले बताए । ‘पार्टीभित्रको असन्तुष्टि र जिम्मेवारी व्यवस्थापनको कुरा एकातिर छ,’ उनले भने, ‘अर्कोतिर सरकारले जनताको हितमा काम गर्न सकेन भने समग्र पार्टीलाई ठूलो घाटा लाग्न सक्छ ।’ उनले पार्टी नेतृत्वले आफूलाई बेवास्ता गरेकोप्रति चिन्ता व्यक्त गरे ।
नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले चितवनमा कम्युनिस्ट पार्टी निर्माणमा भेटवालको योगदान महत्वपूर्ण रहेको बताए । भेटवालको उदारता र आत्मबल प्रेरणाको स्रोत रहेको बताउँदै उनले भने, ‘भेटवाल व्यक्ति र पार्टीभन्दा पनि जनताप्रति उत्तरदायी हुने नेता हुनुहुन्थ्यो ।’
स्मृतिसभामा स्व. नेता भेटवालकी छोरी सृजना भेटवालले बुबाले आफ्नो राजनीतिक जीवन सधैँ जनताका लागि समर्पित गरेको बताइन् । आफ्नो बुबाले देखेका अधुरा सपना पूरा गर्न पार्टी र सरकारलाई जनताप्रति समर्पित भएर काम गर्न उनले आग्रह गरिन् ।
नेता भेटवालको २०७४ चैत २१ गते काठमाडौँको वीर अस्पतालमा क्यान्सरको उपचारका क्रममा निधन भएको थियो । स्मृति सभामा नेकपाका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, काशिनाथ अधिकारी, केन्द्रीय सदस्य केशवलाल श्रेष्ठ, कृष्ण खनाल, देवी ज्ञवाली, केदार न्यौपाने, सांसद कृष्णभक्त पोखरेल, प्रदेश नं ३ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, प्रदेशसभा सदस्य विजय सुवेदी, कञ्चन खनाल लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित समय १६:२३ बजे

















