गृहपृष्ठ उत्तर-दक्षिण लोकमार्ग निर्माण ठप्प
उत्तर-दक्षिण लोकमार्ग निर्माण ठप्प
ताप्लेजुङ- स्थानीयवासीको अवरोधका कारण उत्तर–दक्षिण लोकमार्ग आयोजना अन्तर्गतको सडक निर्माण कार्य ठप्प रहेको छ । फक्ताङलुङ गाउँपालिका–६ लेलेपका केही व्यक्तिले अवरोध गरेका कारण मंगलबारदेखि सडक निर्माणको कार्य रोकिएको हो ।
यसअघि बस्ती नै जोखिममा पर्ने भन्दै निवेदन गरेका उनीहरूले अहिले फेरि लेलेपको बस्तीतर्फ घुमाएर लानुपर्ने भन्दै काममा अवरोध गरेको बताइएको छ । यसअघि बस्तीबाट बाटो घुमाउँदा उठिबास हुने भन्दै उनीहरूले नै विवाद निकालेपछि गाउँपालिकाले छलफल गरेर अहिले निर्माण भइरहेकै ठाउँबाट अघि बढाउने गरी सहमति गराएको थियो ।
आयोजनाअन्तर्गत ट्र्याक खोल्न बाँकी तापेथोकदेखि ओलाङचुङगोलासम्मको खण्डमा केही महिनाअघि देखि निर्माण कार्य भइरहेको छ । तीव्र गतिमा निर्माण भइरहेको सडक बस्तीको माथिल्लो भाग गुम्बाडाँडामा पुगेपछि स्थानीयवासीले अवरोध पु¥याएको र उनीहरूसँग समन्वयको प्रयास भइरहेको लोकमार्ग आयोजना प्रमुख कुवेर नेपालीले जानकारी दिए । राष्ट्रिय गौरवको आयोजना भएकाले र यसअघि पनि सहमति जनाइसकेकाले अब सानातिना विवादले काम नरोकिने उनको भनाइ थियो ।
यता फक्ताङलुङ गाउँपालिका अध्यक्ष सरोज एभेङले बस्तीबाट बाटो लाने वा नलाने बारे स्थानीयवासी नै विभाजित भएको भन्दै सहमति गराउनेतर्फ प्रयास भइरहेको बताए । ३६ करोडको लागतमा निर्माणको जिम्मा पाएको एलाइट कम्पनीले निर्धारित समयमा नै काम सक्ने गरी तीनवटा डुलोजर लगाएर काम अघि बढाइरहेको छ । ओलाङचुङगोलामा सडक जोडिन अब झण्डै ३२ किलोमिटर मात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।
ग्रामीण क्षेत्रको यातायातमा कठिनाइ
गत महिना वर्षाका कारण कच्ची सडक भत्किएर हिलाम्मे भएकै कारण सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनमा एउटा ट्रक र ट्र्याक्टर चिप्लिएर पल्टिन पुग्यो । ना६ख २००० नंको ट्रक हिलाम्मे बाटोमा चिप्लिएर सडकबाट झण्डै सय मिटर तल भरेको थियो । अघि–अघि गुडिरहेको ट्याक्टर पनि सो ट्रकको ठक्करबाट एकै समयमा पल्टिन पुग्यो ।
‘बर्षाकै कारण कच्ची सडक हिलाम्मे भएर गाडी पल्टियो, गाडी किन्दैको ऋण तिरिसक्या छैन, अहिले लाखौँ खर्चिएर मर्मत गरिरहेको छु, सायद बाटो राम्रो भएको भए यो हालत हुने थिएन’ ट्रक धनी आम्बेगुदिनका खगेन्द्र कुवँरले भने । बर्षाभर जिल्लाको ग्रामीण क्षेत्रका कच्ची सडक भत्किएर साँघुरो र हिलाम्मे हुने भएकाले बर्षेनी सवारी दुर्घटना हुने गरेका छन् ।
हिलाम्मे सडकमा गाडी फस्ने गरेकाले सवारी चालक र यात्रुले समेत सास्ती बेहोर्दै आएका छन् । ग्रामीण क्षेत्रमा सवारी साधन चलाउँदै आउनुभएका एक चालकले भने, ‘बर्षा शुरु भएसँगै कच्ची बाटो भत्किएर हिलाम्मे हुने गरेकाले गाडी फसेर साह्रै दुःख पाइन्छ, अर्कातर्फ गाडी पल्टिने चिन्ता पनि धेरै हुन्छ ।’
प्रकाशित समय १२:०० बजे

















