गृहपृष्ठ भागरथी बलात्कार र हत्याको एक साता बित्यो, उपलब्धि शून्य

भागरथी बलात्कार र हत्याको एक साता बित्यो, उपलब्धि शून्य

यस्ता थिए भागरथीका फेसबुक स्टाटस

बैतडीको दोगडाकेदार ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको एक साता बितेको छ । अहिलेसम्म घटनाको दोषी पत्ता लाग्न सकेको छैन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डेको नेतृत्वमा खटिएको प्रहरी टोलीले सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको जनाएको छ । अनुसन्धानका लागि प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तम सुवेदी पनि पाँच दिनदेखि खोचलेकमै छन् ।

घटनाको अत्यन्तै विवेकपूर्ण तवरबाट अनुसन्धान भइरहेकाले छिट्टै परिणाम आउने प्रमुख जिल्ला अधिकारी मोहनराज जोसीले बताएका छन् । बलात्कारपछि भट्टको हत्या गरेको आशंकामा थुप्रै व्यक्तिलाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार अहिले ती मानिसको संलग्नता पुष्टि गर्ने प्रमाण भिडाउने काम भइरहेको छ ।

दुई वर्षअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तको जस्तै अवस्था आउनसक्ने भन्दै प्रहरीले अनुसन्धानको विषयमा धेरै खुलाएको छैन । प्रहरी अनुसन्धान ब्युरोदेखि जिल्ला र प्रदेशभरिकै प्रहरी जनशक्ति दोगडाकेदारमा खटिएको छ । भागरथी हत्यासम्बन्धी प्रहरीले विशेष सूचना हात पारेको र अनुसन्धानको दायरा साँघुरो बनेको प्रहरी दाबी छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुख उत्तम सुवेदीले दोगडाकेदारमा आन्दोलन सुरु हुनेबित्तिक्कै आफू स्वयं घटनास्थलमा खटिएको बताए । ‘दुई दिनपछि आन्दोलनरत पक्षसँग समन्वय गरेर प्रहरीलाई सघाउन अनुरोध ग‑यौँ,’ उनले भने, ‘प्रहरीले सूक्ष्म ढंगले अनुसन्धान अघि बढाए पनि सुरुमा स्थानीय कोही केही पनि नबोलेकाले अलि समस्या भएको थियो, अहिले अलि खुलेर बोल्न थालेका छन्, सोधपुछ तीव्र छ ।’

सुवेदीले अहिले स्थानीयले अनुसन्धानमा असाध्यै राम्रो सहयोग गरिरहेको बताए । ‘डीआईजी आफैँ घटनास्थलमा बसेर अनुसन्धान गरेको यो पहिलो घटना पनि होला ! प्रहरीले विशेष सूचना र जानकारी प्राप्त गरेको छ । दोषी छिट्टै पत्ता लाग्छ,’ उनले भने ।

प्रहरीले अहिलेसम्म पत्ता लगाएको कुरा अहिले नै सार्वजनिक गर्न नमिल्ने उनले बताए । ‘अहिले यति भनौँ प्रहरीले सफलता हासिल गर्नेछ,’ उनले भने । अनुसन्धानमा सुरुदेखि कुनै कसुर बाँकी नराखेर सजगताका साथ प्रहरी अघि बढेको तथा घटनास्थल सिल गर्नेदेखि भजाइनल स्वाब संकलन गर्न डाक्टरको टोली घटनास्थलमै पुगेकोलगायतका उदाहरणले प्रहरीको गम्भीरता स्पष्ट हुने डीआईजी सुवेदीको भनाइ छ ।

उनका अनुसार भजाइनल स्वाबको रिपोर्ट आउन १५ दिनदेखि एक महिनासम्म लाग्छ । ‘पोस्टमार्टम रिपोर्टले धेरै कुरा बताइसकेको छ, त्यसका आधारमा हामीले अनुसन्धान अघि बढाएका छौं । अहिलेसम्मको अनुसन्धानले हामी सफलतानजिक पुगेका छौं,’ उनले भने ।

स्थानीय जनप्रतिनिधि र राजनीतिक दलको पनि निकै राम्रो सहयोग मिलेको उनले बताए । ‘पीडित परिवारदेखि सबैले हामीलाई सहयोग गरिराख्नुभाछ,’ उनले भने, ‘हाम्रो तर्फबाट हुने अनुसन्धानमा सुविधा सम्पन्न ठाउँमा जेजति प्रहरी जनशक्ति र प्रविधिको प्रयोग हुन्छ, दोगडाकेदारमा पनि हामीले त्यही स्तरको अनुसन्धान अघि बढाएका छौं ।’ उनले रात–दिन नभनी अनुसन्धान तीव्र रुपमा अघि बढाकाले दोषी उम्कन पाउने अवस्था नरहेको जानकारी दिए ।

आफन्तले अझै शव बुझेनन्

प्रहरीले आश्वस्त पारिरहँदा मृतक भागरथीको शव अझै आफन्तले बुझेका छैनन् । दोषीलाई पक्राउ गरी कारबाही नगर्दासम्म शव नबुझ्ने उनीहरुले बताएका छन् । मृतकको शव जिल्ला अस्पताल बैतडीको शवगृहमा राखिएको छ ।

दाहसंस्कार गरिए अपराधी उम्किन्छन् कि भन्ने आशंकाले शव उठाउन नसकिएको मृतकका काका शंकर भट्टले बताए । भागरथीको शवलाई काठको बाकसभित्र आइसमा राख्ने तयारी जिल्ला अस्पतालले गरेको छ । धेरै दिन भएकाले शव बिग्रने हुँदा सुरक्षित राख्न लागिएको अस्पताल प्रमुख डा. वसन्तराज जोशीले बताए ।

न्यायका लागि दिनहुँ आन्दोलन

भागरथीको बलात्कारपछि हत्या भएको एक साता बितिसकेको छ । यतिबेला बैतडीलगायत सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँ र केन्द्रीय राजधानी काठमाडौँमा पनि न्यायका लागि प्रदर्शन भइरहेका छन् । विशेषगरी हरेक गाउँ गाउँका विद्यार्थी आन्दोलनरत छन् ।

बैतडी सदरमुकामदेखि, खोचलेक, सतबाँझ, पाटन, खोड्पेलगायतका क्षेत्रका विद्यार्थीले भागरथीको न्यायका लागी आन्दोलन गरिरहेका छन् । डडेल्धुरा, डोटी, कञ्चनपुर तथा कैलालीमापनि दिनहुँ प्रदर्शन भइरहेका छन् ।

भागरथीको न्यायका लागी बैतडीमा संघर्ष समिति नै गठन गरिएको छ । संघर्ष समितिले हिजो प्रमुख जिल्ला अधिकारी मोहनराज जोसीलाई ज्ञापनपत्र बुझाएको छ । बलात्कारपछि हत्या गरिएकी भट्टको हत्यारा यथाशीघ्र पत्ता लगाई कडा कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको संघर्ष समिति संयोजक निशा भट्टले बताइन् । हिजै अधिकारकर्मीहरुको अर्काे समूहले पनि प्रमुख जिल्ला अधिकारी जोशीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

धनगढीमा पनि विभिन्न विद्यालय र क्याम्पसका विद्यार्थी दिनहुँ आन्दोलनमा छन् । उनीहरुले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका छन् । कैलाली बहुमुखी क्याम्पस, सुदूरपश्चिमाञ्चल क्याम्पसलगायत धनगढीका विभिन्न बिद्यालय र क्याम्पसका विद्यार्थी भागरथीको न्यायको माग गर्दै आन्दोलनमा छन् ।

यस्ता थिए भागरथीका फेसबुक स्टाटस

भागरथीको फेसबुक वाल हेर्दा पीडामा स्टाटस लेखेको पाइन्छ । घटना हुनुभन्दा अघिका दिनहरुमा भागरथीले फेसबुक वालमा विभिन्न स्टाटस लेखेकी थिइन् ।

‘घमण्ड नगर्दा हुन्छ, पृथ्वीको पाहुना हो हामी, मालिक होइन,’ उनल १९ माघमा लेखेको स्टाटस हो यो । त्यसको ४८ घण्टा नपुग्दै चडेपानीमा भागरथी बेपत्ता भएको खबर फैलिएको थियो । दोस्रो दिन भागरथीले स्टाटसमा लेखेको जस्तै भयो । पाहुनाको रुपमा पृथ्वीमा आएकी उनले अल्पायुमै अप्रत्यासित ढंगले प्राण त्याग्नुप‑यो ।

त्यसअघि माघ १३ गते भागरथीले लेखेकी थिइन्, ‘खुसीमात्र देखिन्छु । कति टुटेको छु, त्यो त म आफैँलाई थाहा छ ।’ यो स्टाटसले पनि भागरथीमा निरासा दर्शाउँछ । तर, त्यो निरासा किन थियो, अब उनीबाट उत्तर भेट्न सम्भव छैन ।

पुस २९ मा लेखेको स्टाटस पनि भागरथीकै जीवनमा मेल खान्छ । ‘आजकालका मित्र पनि के विचित्र, मुखमा रामराम बलगीमा छुरा ।’ अहिले प्रहरीले पनि भागरथीको बलात्कार र हत्यामा परिचित व्यक्ति नै संलग्न रहेको आशंका गरेको छ ।

भागरथीका नजिकका साथी, घटना भएको दिन उक्त बाटो भएर हिँड्डुल गरेका परिचित व्यक्ति र त्यस दिन भारत गएका भागरथीका परिचित व्यक्तिसँग प्रहरीले सोधपुछ गरिरहेको छ ।

असोज २८ मा उनले स्टाटस लेखेकी छन्, ‘धेरै ठूलो सपना छैन मेरो । बस् ! यो मुस्कानजस्तै सुन्दर जीवन बनाउन सकूँ ।’ तर, उनको सुन्दर जीवन बनाउने सपनामाथि २१ माघमा बज्रपात भयो । डेढ महिनाअघि श्रीमान गुमाएर एक्ली भएकी आमालाई जीवनभर सहारा दिने उनको सपना क्षणभरमै चकनाचुर भयो । बुवाको देहावसान भएपछि घरमूलीको जिम्मेवारी काँधमा लिएर विचलित नहुने उनको स्वभावमाथि तुषारापात भयो ।

प्रकाशित समय ०७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु