गृहपृष्ठ विश्वकप क्रिकेटमा अफगानिस्तानमाथि पाकिस्तानको सकसपूर्ण जित
विश्वकप क्रिकेटमा अफगानिस्तानमाथि पाकिस्तानको सकसपूर्ण जित
विश्वकप क्रिकेटअन्तर्गत शनिबार भएको खेलमा पाकिस्तानले अफगानिस्तानमाथि सकसपूर्ण जित हात पारेको छ । अफगानिस्तानले दिएको २२८ रनको लक्ष्य पछ्याएको पाकिस्तान २ बल बाँकी हुँदा ७ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।
हारनजिक पुगेको पाकिस्तानलाई सातौं क्रममा ब्याटिङ गर्न आएका इमाद वासिमले ४९ रन जोड्दै जित दिलाए । त्यस्तै बाबर अजामले ४५ रन बनाए । पहिलो ओभरको दोस्रो बलमै फकर जमामलाई गुमाएको पाकिस्तान सुरुदेखि नै दबाबमा आएको थियो । १५६ रन बनाउँदा ६ विकेट पतन भइसकेको पाकिस्तानलाई इमादले सम्हालिएर खेल्दै जित दिलाए ।
पाकिस्तानको इनिङ ध्वस्त पार्ने क्रममा मुजिब उर रहमान र मोहम्मद नाबीले समान २/२ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले पूरा ओभर खेल्दै ९ विकेटको क्षतिमा २२७ रन बनाएको थियो ।
जितसँगै ८ खेलबाट ९ अंक जोडेको पाकिस्तान अंक तालिकाको चौथो नम्बरमा उक्लिएको छ ।
प्रकाशित समय ०६:३९ बजे

















