गृहपृष्ठ पाँच वर्षभित्र सबै नेपाली जनताले विकास देख्नेछन् : मन्त्री बाँस्कोटा
पाँच वर्षभित्र सबै नेपाली जनताले विकास देख्नेछन् : मन्त्री बाँस्कोटा
तस्बिर रासस
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षभित्र पाँच लाख नेपालीका लागि रोजगारी सिर्जना भइसक्ने बताएका छन् । मन्त्री बाँस्कोटाले काभ्रेको पनौती नगरपालिकाका २ र ३ नम्बर वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणा कार्यक्रममा भने, ‘तपाईंहरु ढुक्क हुनुहोस्, आउँदो पाँच वर्षभित्र पाँच लाख रोजगारी सिर्जना हुन्छ ।’
मन्त्री बाँस्कोटाले एक वर्षमा सरकारले २० हजार जनशक्तिलाई रोजगारी दिलाएको उल्लेख गरे । उनले आगामी पाँच वर्षभित्र पाँच हजार मेगावाट बिजुली उत्पादन गरी छिमेकीलाई प्रशस्त मात्रामा बिक्री गरिने पनि दाबी गरे । ‘पाँच वर्षभित्र सबै नेपाली जनताले विकास पनि देख्नेछन्, अहिले सुखी नेपाली र समृद्ध नेपालको बाटो तय गरिएको छ,’ उनले भने । उनले सन् २०३० भित्र प्रतिव्यक्ति नेपालीको वार्षिक आम्दानी १२ हजार ५०० डलर पुग्ने हचुवा तथ्यांक प्रस्तुत गरे ।
मन्त्री बाँस्कोटाले नयाँ पुस्तालाई धनीमात्र होइन, इमानदार नेपाली बन्न सिकाउनुपर्ने र श्रम गरेर आम्दानी भएको आर्थिक लाभले मात्रै सुख आर्जन हुने बताए । अब माकुराको जालोसरह सडक निर्माण हुने र अर्को वर्षदेखि स्तरोन्नति गर्दै लगिने भन्दै उनले सडकका विषयमा चिन्ता नलिन आग्रह गरे ।
मन्त्री बाँस्कोटाले ‘क्लिन फिड’बाट कुनै पनि हालतमा पछि नहट्ने दृढता व्यक्त गरे । सरकारी कर्मचारी र शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नैपर्ने बाध्यकारी निमय बनाइने खुलासा गरे ।
प्रकाशित समय २१:४६ बजे

















