गृहपृष्ठ नेपाल संवत नेवारको मात्रै नभई सबैको साझा हो : मन्त्री श्रेष्ठ

नेपाल संवत नेवारको मात्रै नभई सबैको साझा हो : मन्त्री श्रेष्ठ

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल संवत ११४१ को अवसरमा मध्यपुर थिमिस्थित शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका छन् ।

सो अवसरमा उनले नेपाल संवत एकल जातिको मात्र नभई सबै नेपालीको मौलिक संवत भएको बताएको छ । मन्त्री श्रेष्ठले भने, ‘अहिले यो संवतलाई सरकारले राष्ट्रिय संवत घोषणा गरे पनि सबै नेपालीले यसलाई अपनत्व गर्न नसकेकाले यसलाई नेवार समुदायको मात्र भनेर गलत बुझाइ रहेको छ, अब यसलाई सबैको संवत बनाउनु आवश्यक छ ।’

विगतमा भाइटीका र किजा पूजा एकै दिन गरिँदै आएकोमा केही वर्षदेखि फरक फरक दिनमा मनाउन थालिएको प्रसंग कोट्याउँदै उनले केही वर्षयता तिथिमा देखिएको घटबढका कारण दुई दिन मनाइने प्रचलनलाई आगामी वर्षदेखि समायोजन गरेर एकै दिन मिलाउनु आवश्यक रहेको बताए ।

नेपाल संवतको नयाँ दिनले हरेक वर्ष प्रणेता शङ्खधर साख्वाको योगदानलाई सम्झाउने गरेको मन्त्री श्रेष्ठले जनाए । उनले समाजसेवी साख्वाले सबैको ऋण मोचन गरिदिएको परोपकारी कार्यको सम्झनामा उदारताको कदर गरेर राष्ट्रिय विभूतिको रूपमा सम्मान गरिएको बताउँदै जनताको ऋण मोचन गरेर मौलिक संवत चलाउने ब्यक्तित्व कुनै जातविशेषको मात्र नहुने उल्लेख गरे ।

मन्त्री श्रेष्ठले सरकारले राजधानीको रत्नपार्कमा शङ्खधरको शालिक बनाइ रहेको उल्लेख गर्दै नेपाल संवतलाई सरकारी कामकाजमा तथा व्यवहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताए ।

पूर्वमन्त्री तथा सांसद महेश बस्नेतले राष्ट्रिय विभूति साख्वाले पुर्‍याएको योगदानको चर्चा गर्दै साख्वाले जस्तै नेताले पनि देश र जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।

पूर्वमन्त्री तथा सांसद भीमसेनदास प्रधानले नेपाल संवतलाई नेवार समुदायले आफ्नो पेवा जस्तो बनाउन नहुने भन्दै शंखधर कुनै जात विशेषको मात्र नभएको हुँदा सबैको साझा भएको बताए ।

राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानद्वारा आयोजित सो कार्यक्रममा बागमती प्रदेश सभा सदस्य डा.राजेन्द्रमान श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, निवर्तमान अध्यक्ष श्यामकृष्ण मानन्धर, उपाध्यक्ष ज्ञानराम श्रेष्ठलगायतले शंखधर तथा नेपाल संवतलाई सरकारले संरक्षण एवम् सम्बर्द्धन गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत् ११४१ को अवसरमा पठाएको सन्देश वाचन गरिएको थियो ।

प्रकाशित समय ०९:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु