गृहपृष्ठ उर्जाको ५ बर्षमा १० हजार मेगावाटको लक्ष्य सहित श्वेत पत्र आउँदै
उर्जाको ५ बर्षमा १० हजार मेगावाटको लक्ष्य सहित श्वेत पत्र आउँदै
काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले श्वेतपत्र जारि गर्न लागेका छन् । अर्थमन्त्रालयको समेत अनुभव सँगालेका उर्जा मन्त्री पुनले बुधवारसम्म श्वेतपत्र जारि गर्ने गरी दुई दिनको बिदालाई उपयोग गरिरहेका छन्। उर्जा क्षेत्रको अहिलेसम्मको अवस्था र अब तय गरिने आगामी बाटोको बारेमा सम्बोधन गर्ने मन्त्रालय स्रोतले जानकारी दियो।
अहिले एक हजार मेगावाट मात्रै विद्युत उत्पादन भईरहेको अवस्थामा श्वेतपत्रले आगामी ५ वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादनको जग बसाईसक्ने आधारहरु देखाउने स्रोतको दावी छ। मन्त्री पुनले स्वेतपत्रमा विद्युत आपूर्तिमा सुधार, विद्युत चुहावट नियन्त्रण, सबै क्षेत्रमा विद्युतीकरण, राष्ट्रिय गौरवका आयोजनाको पहिचान तथा निर्माण, ठूला जलाशययुक्त आयोजनाको पहिचान तथा निर्माण लगायतका विषय उल्लेख गर्ने छन्।
आगामी एक वर्षभित्र थप एक हजार मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा जोड्ने बिषय श्वेतपत्रमा उल्लेख हुने छन्। अहिलेको उपभोग क्षमताले एकै पटक थप विद्युतको खपत गर्न नसक्ने हुँदा खपत बढाउनका लागि आवश्यक रणनीति पनि श्वेतपत्रमा उल्लेख हुने मन्त्रालय स्रोतको दावी छ।
जलविद्युतमा विदेशी लगानी आकर्षित गर्ने, इन्जिनियरिङ, प्रक्रुमेन्ट, कन्स्ट्रक्सन र फाइनानस ईपिसिएफ मोडलमा आयोजनाको ठेक्का दिने बारेमा पनि मन्त्री पुनले स्वेतपत्रमा खुलाउने छन्। नीजि क्षेत्रलाई जलाशययुक्त आयोजनामा आकर्षित गर्ने, प्रशारण लाइन निर्माणमा हुने स्थानीय अवरोध हटाउन स्थानीयलाई अपनत्व दिनेजस्ता विषय पनि श्वेतपत्रमा समावेश गरिने जनाइएको छ।
श्वेतपत्र विशेष गरि १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादनमै केन्द्रित हुनेछ। आयोजना निर्माणमा देखिएका समस्या समाधान, निर्माणाधिन राष्ट्रिय गौरवका जलविद्युत आयोजना समयमै सम्पन्न गर्ने र नयाँ गौरवका आयोजना पहिचान गरि निर्माणमा जाने, ठूला जलविद्युत आयोजनाको लागि लगानी व्यवस्थापन गर्ने कुरा पनि श्वेतपत्रमा उल्लेख गरिनेछ। अरुण तेस्रो, माथिल्लो कर्णाली, पश्चिम सेती, पञ्चेश्वर लगायतका ठूला जलविद्युत आयोजनाको अवस्था र आगामी बाटोका बारेमा मन्त्री पुनले बोल्ने छन्। अघिल्लो सरकारले ल्याएका योजना तथा कार्यक्रमको कार्यान्वयनमा देखिएका समस्या र ती समस्याको समाधानका विषय पनि श्वेतपत्रमा समेट्ने तयारी गरिएको स्रोतले जनायो।
यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारका ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले २०७४ साउन ३२ गते श्वेतपत्र जारी गरेका थिए। केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि उर्जा मन्त्रीले जारि गर्न लागेको यो दोस्रो श्वेतपत्र हुनेछ।
प्रकाशित समय १३:४० बजे

















