गृहपृष्ठ सल्यानमा प्रहरी कार्यालय बन्यो

सल्यानमा प्रहरी कार्यालय बन्यो

सल्यान । सल्यानको कालीमाटीमा १२ लाख १४ हजार लागतमा इलाका प्रहरी कार्यालको भवन निर्माण भएको छ । कालीमाटी गाउँपालिकाको आर्थिक सहयोग तथा स्थानीय जनताको जनश्रमदानमामा निर्माण गरिएको भवनको उद्घाटन कर्णाली प्रदेशका प्रमुख प्रहरी नायव महानिरीक्षक सुरेशविक्रम शाहले गरे ।
भवनको उद्घाटन गर्दै प्रहरी नायव महानिरीक्षक शाहले जनतालाई शान्ति सुरक्षा दिने विषयमा कुनै पनि कसर बाँकि नराख्न निर्देशन दिएका छन् । ‘जनताको साथ र सहयोगले प्रहरी बस्ने घर भएको छ,’ प्रहरी नायव महानिरीक्षक शाहले भने, ‘न्याय दिने कुरामा ठूलो, सानो, धनी, गरिब, आफन्त, पराई भन्ने कुरा दिमागबाट झिकेमा मात्रै सच्चा देशभक्ति र इमान्दार सिपाही वन्न सकिन्छ ।’
आफ्नै भवन भएपछि प्रहरीलाई प्रशासनिक कामकाज देखि अन्य काम र बसोबासका लागि सहज भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक भरतबहादुर विकले जानकारी दिए । आफै भवन नहुँदा भाडामा बसेर प्रहरीले काम गर्दै आएको थियो ।
५ माघ २०७४ बाट सुरु भएको भवनको निर्माण कार्य २९ चैत्र २०७४ मा सम्पन्न भएको थियो । भवनमा ४ वटा कोठा रहेको छ । यस अघि आफनै भवन नहुँदा विभिन्न अभियोगमा पक्राउ गरेका अभियुक्तलाई राख्ने ठाउँ नहुँदा निकै कठिनाई र समस्या व्यहोर्नु परेको इलाका प्रहरी कार्यालय कालीमाटीका प्रमुख प्रहरी नायव निरीक्षक नारायणबहादुर थापाले जानकारी दिए ।
भाडाको घर समेत पानी चुहिइएर बस्नै नमिल्ने भएपछि गाउँपालिका र स्थानियको पहलमा भवनको निर्माण भएको हो ।

प्रकाशित समय १२:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु